विराटनगर । चक्रवात आँधीसँगै भारी वर्षा हुने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कार्यालयले मंगलबार जारी गरेको सूचनामा नेपाल मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिनलाई उद्धृत गर्दै पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा न्यून चापीय क्षेत्र विकसित भएको जनाएको छ। उक्त प्रणाली क्रमशः बलियो हुँदै कात्तिक (९ गते अक्टोबर २६ )सम्ममा चक्रवात आँधीमा विकसित भई पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको सूचनामा उल्लेख छ।
उक्त मौसमी प्रणालीका कारण कात्तिक ११ गते (अक्टोबर २८ )देखि कात्तिक १५ गते( नोभेम्बर १) सम्म नेपालमा मौसम प्रभावित हुन सक्ने अनुमान गरिएको छ। यस अवधिमा चक्रवात आँधीसँगै भारी वर्षा हुँदा नदी तथा खोलामा पानीको बहाव बढ्ने, आकस्मिक बाढी, पहिरो, गेग्रान बहाव तथा डुबानको जोखिम रहनुका साथै सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले नदी तथा खोला किनार, पहिरोको जोखिम भएका भूभाग, भिरालो जमिन र डुबान हुन सक्ने क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। जोखिमको संकेत देखिएमा समयमै नजिकको सुरक्षित स्थानमा जान तथा स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गर्न पनि अनुरोध गरिएको छ।
त्यस्तै, अत्यावश्यक अवस्थाबाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न र यात्रा गर्नुअघि सडक तथा मौसमको अवस्थाबारे जानकारी लिन प्रशासनले आग्रह गरेको छ। मौसम पूर्ण रूपमा नसुध्रिएसम्म अन्नबाली काट्ने योजना नबनाउन तथा काटिसकेको अन्नबाली सुरक्षित स्थानमा राख्न पनि सूचनामार्फत अनुरोध गरिएको छ।

प्रशासनले बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिन र पशुचौपाया, खाद्यान्न, औषधि, महत्त्वपूर्ण कागजात तथा अन्य आवश्यक सामग्री सुरक्षित स्थानमा राख्न आग्रह गरेको छ।
नेपाल मौसम विज्ञान विभाग, सङ्घीय तथा प्रदेश सरकार, स्थानीय तह र सुरक्षा निकायबाट जारी हुने आधिकारिक पूर्वानुमान, पूर्वसूचना र निर्देशन नियमित रूपमा लिनसमेत प्रशासनले जिल्लावासीलाई अनुरोध गरेको छ।
निमित्त प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाद्वारा जारी सूचनामा स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई पूर्वतयारी अवस्थामा रहन र जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक समन्वय गर्न आग्रह गरिएको छ।
वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि राष्ट्रिय आपत्कालीन सेवा तथा सम्बन्धित निकायका सम्पर्क नम्बर पनि प्रशासनले सार्वजनिक गरेको छ। सूचनाअनुसार वर्षा तथा बाढीको जानकारीका लागि ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीका लागि १०० र सशस्त्र प्रहरी बलका लागि १११४ मा सम्पर्क गर्न सकिनेछ।