विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–२, भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र फेला परेका विराटनगरका ब्याट्री व्यवसायी लालजीप्रसाद गुप्ताको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। चोरीको आरोप लगाएको रिसमा गुप्ताको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ निवासी ३७ वर्षीय अब्जर मिया रहेका छन्। विराटनगर–६ महावीर रोडमा ब्याट्री पसल सञ्चालन गर्दै आएका ६० वर्षीय गुप्ताको हत्या आरोपमा मियालाई मंगलबार साँझ पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी पुष्पराज मल्लले जानकारी दिए। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गुप्ताले आफ्नो पसलबाट सामान चोरी गरेको आरोप मियामाथि लगाउँदै आएका थिए। सोही विषयलाई लिएर मियाले गुप्ताको हत्या गर्ने योजना बनाएको खुलेको प्रहरीले जनाएको छ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार शुक्रबार राति मियाले गुप्तालाई आफ्नो घरमा खाना खान बोलाएका थिए। सो क्रममा दुवैले मदिरा सेवन गरेका थिए। मदिरा सेवनपछि मियाले सुरुमा बियरको बोतलले गुप्ताको टाउकोमा प्रहार गरेका थिए। त्यसपछि रडले प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
गुप्ताको हत्या गरेपछि शव व्यवस्थापन गर्न मियाले सिटी सफारी प्रयोग गरेको पनि अनुसन्धानबाट खुलेको छ। शवलाई बोराभित्र राखेर सुनसरीको बर्जु गाउँपालिका–२, भीमपुरस्थित केसेलिया खोलामा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
भारतको उत्तर प्रदेशस्थित वाराणसी (बनारस) घर भएका गुप्ता लामो समयदेखि विराटनगरमा ब्याट्रीको कारोबार गर्दै आएका थिए। उनी विराटनगरमा एक्लै बस्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्र मिश्रका अनुसार गुप्ता आइतबार आफ्नो पसलबाट ‘पाँच मिनेटमा फर्किन्छु’ भन्दै निस्किएका थिए। तर, उनी त्यसपछि पसलमा फर्किएनन्। आइतबार बिहान बर्जुस्थित केसेलिया खोलामा बोराभित्र शव फेला परेपछि घटना सार्वजनिक भएको थियो।
स्थानीयवासीले खोलामा बोराभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै सुनसरीका प्रहरी प्रमुख एसपी पुष्पराज मल्लसहितको टोली घटनास्थल पुगेको थियो। त्यसपछि शवको पहिचान तथा घटनामा संलग्न व्यक्तिको खोजीका लागि सुनसरी र मोरङ प्रहरीको संयुक्त टोलीले अनुसन्धान अघि बढाएको थियो।
घटनाको अनुसन्धान प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सुनसरी र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले गरिरहेको छ। घटनाबारे थप विवरण सार्वजनिक गर्न सुनसरी प्रहरीले बुधबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेको जनाएको छ।