विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका नागरिकले मोरङको जीवन विकास सामुदायिक अस्पतालमा उपचार गराउँदा १० देखि ५० प्रतिशतसम्म छुट पाउने भएका छन्।
गाउँपालिकाका नागरिकलाई सहज, सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिका र अस्पतालबीच उपचारमा सहुलियत प्रदान गर्ने समझदारी भएको हो।
सम्झौताअनुसार गाउँपालिकाका स्थायी बासिन्दा, जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा उनीहरूका परिवारका सदस्यले अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा १० देखि ५० प्रतिशतसम्म छुट पाउनेछन्।
कार्तिक ११ गते भएको सम्झौतामा गाउँपालिकाका तर्फबाट अध्यक्ष अजमल अख्तर आजाद र जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनका तर्फबाट सञ्चालक तथा प्रशासन प्रमुख अनिताकुमारी गच्छदारले हस्ताक्षर गरेका छन्।
प्रारम्भिक रूपमा एक वर्षका लागि लागू हुने सम्झौतालाई आपसी सहमतिमा नवीकरण गर्न सकिनेछ। यसअघि पनि अस्पतालले अन्य स्थानीय तहसँग उपचार सेवामा सहुलियत प्रदान गर्ने सम्झौता गरिसकेको छ।
सम्झौताअनुसार ओपीडी, आकस्मिक सेवा, बेड शुल्क, प्रयोगशाला, रेडियोलोजी, फिजियोथेरापी, शल्यक्रिया, दन्त सेवा, डेन्टल ल्याब, सीटी स्क्यान तथा एमआरआईलगायतका सेवामा छुट उपलब्ध हुनेछ।
मोरङको कटहरी गाउँपालिका–२, हल्दीबारीस्थित २०० शय्याको जीवन विकास सामुदायिक अस्पतालमा २४सै घण्टा इमर्जेन्सी तथा ट्रमा केयर, आईसीयू, एनआईसीयू, एचडीसीयू र सीसीयूलगायतका स्वास्थ्य सेवा सञ्चालनमा छन्। अस्पतालले आधुनिक मोड्युलर अपरेसन थिएटरमार्फत जटिल शल्यक्रिया तथा विशेषज्ञ उपचार सेवा प्रदान गर्दै आएको छ।
यस सम्झौताले भोक्राहा नरसिंहका नागरिकलाई उपचार खर्चमा राहत पुग्नुका साथै गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।