विराटनगर । तिहार सकिएसँगै विराटनगरमा छठ पर्वको तयारी सुरु भएको छ । विराटनगर औद्योगिक र प्रादेशिक राजधानी दशैं र तिहारको आफ्नै मौलिकताबाट रमाइसकेका छ । यसपछि सुरु हुने छठका चार दिन भने यहाँको रौनक फरक हुन्छ । विराटनगरका मुख्य घाटहरू– सिंघिया, केशलिया, मिलनचोक, त्रिमूर्ति तथा सुनसरी–मोरङ सिंचाई आयोजनाको नहर र पोखरीहरू आस्थाको केन्द्र बन्ने तयारीमा छन् । घाटहरु सरसफाई हुन थालेका छन् । साजसज्जाको तयारी भइरहेको छ । घाटहरू दीप र रंगोलीले झकिझकाउ बनाउनका लागि संरचना बन्न थालेका हुन् ।
देशको ‘औद्योगिक राजधानी’ विराटनगर वर्षको चार दिन एउटा धार्मिक राजधानीमा रूपान्तरण हुन्छ । सहरभर ‘छठ मइया’का गीत गुञ्जिन्छन्, नदीदेखि नहरसम्म दीप प्रज्वलित हुन्छन् । त्यसको तयारी भइरहेको हो ।
छठ पर्वलाई आस्था, सहनशीलता र श्रमको उत्सवको रुपमा लिइन्छ । अस्ताउँदो सूर्यको आराधना र उदाउँदो सूर्यलाई अर्घ्य दिएर प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने यो परम्परा विराटनगरमा वर्षौंदेखि संस्कार बनिसकेको छ । यस वर्षको छठ पर्व पनि विराटनगरमा धुमधामकासाथ मनाइदै छ।
अब सहर भित्रका जलासयमा छैठी माताको मूर्ति पनि निर्माण गरिएको छ। विराटनगरका मुख्य घाटहरूमा ट्राफिक व्यवस्थापन र सुरक्षाका लागि पर्याप्त मात्रामा ट्राफिक प्रहरी र सुरक्षाकर्मीहरू परिचालन गर्ने गरी सुरक्षा तयारी समेत भइरहेको छ । सामाजिक सद्भाव र एकता कायम भएको छ। छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मन वाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख कष्ट हट्ने जनविश्वास छ।
छठका प्रमुख कर्ता हुन्, व्रतालु नारीहरू । उनीहरू चार दिनसम्म कठोर नियम पालना गर्छन् । पहिलो दिन ‘नहायखाय’, दोस्रो दिन ‘खरना’, तेस्रो दिन ‘संध्या अर्घ्य’ र अन्तिम दिन ‘उषा अर्घ्य’ पर्दछन् । खरनाको दिन व्रतालुले सख्खर, चामल र दूधको खीर पकाएर सूर्यलाई चढाउँछन्, अनि अर्को दिनदेखि निर्जल रहन्छन् । तीन दिनसम्म न पानी, न अन्न, मात्रै भक्ति ।
विराटनगर–३ की फुलवन राजबंशीले सुनाइन्, ‘छठ मइया हाम्रो जीवनको आधार हो । भोक र थकान बिर्सिन्छौं, किनकि मन श्रद्धाले भरिन्छ।’ यहि भएर तयारीसँगै आस्थालाई समेत दृढृताले कस्दै जाने विश्वास राखिन्छ ।
विराटनगरको छठ साँझ साँच्चै मनमोहक हुन्छ । घाटमा र गाउँ–टोलमा लोकगीत गुञ्जिन्छ, ‘काँच ही बांस के बहंगिया, बहंगिया लचकत जाए’, ‘छठ मइया आयी गांव में’ जस्ता गीतहरूले व्रतालुका मनमा ऊर्जा भर्छन् ।
छठले विराटनगरमा धर्म, जात र वर्गबीचको भेद मेटाइदिन्छ । घाटमा हिन्दू, मुस्लिम, मधेशी–पहाडिया सबै एउटै पंक्तिमा देखिन्छन् । सूर्य सबैका हुन्, आस्था सबैको साझा हो ।