काठमाडौ । यतिखेर त्रिभुवन विश्वविद्यालको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण धेरे कारणले चर्चित बनेको छ । यसमध्ये एउटा कारण हो प्रतियोगितामा विदेशका चर्चित खेलाडीको सहभागिता । दक्षीण एसियाली मुलुकमा हुने यस्ताखाले क्रिकेट प्रतियोगितामध्ये भारतको इण्डियन प्रिमियर लिग (आएपिएल)बाहेक सम्भवतः एनपीएल यस्तो आयोजन बन्न पुगेको छ जसमा सबैभन्दा बढी चर्चित विदेशी खेलाडी सहभागी भएका छन् । एनपीएलमका हरेक टिमले बढीमा आठजना अनुबन्ध गर्न मिल्ने भएपनि प्लेइङ ११मा भने चारजनासम्म विदेशीलाई खेलाउन सकिने व्यवस्था गरिएको छ ।
एनपिएलमा विदेशी खेलाडीको सहभागिताका कारण प्रतियोगिताको विशवव्यवापी चर्चाका साथै यसको ओज पनि बढेको अनुभव गरिएको छ, । क्रिकेट समीक्षक सञ्जय ढुंगानाका अनुसार तेस्रा संंस्करणको एनपिएल विगतको भन्दा फरक छ, यसको ओज नै बढेको छ । उनी भन्छन्–यसको एउटा कारण हो विदेशका चर्चित खेलाडीको सहभागिता ।
क्रिकेटप्रेमी तथा हक्कीका पूर्व राष्ट्रिय खेलाडी राजन श्रेष्ठ विदेशी खेलाडीको सहभागिताका कारण आयोजनको ओजमात्र बढेको नभई नेपाली क्रिकेटको स्तरवृद्धिमा पनि मद्दत पुगेको बताउँछन् । उनी भन्छन्–विदेशी खेलाडीबाट नेपाली खेलाडीलाई सिक्ने धेरै मौका पनि मिलेको छ । निश्चय पनि यसले नेपाली क्रिकेटको स्तरवृद्धिमा सहयोग पुगेको छ । हक्की खेलाडी श्रेष्ठ हक्कीले यस्तो खालको अवसर नपाएकोमा भने दुख व्यक्त गर्छन ।
क्रिकेटसँगै पर्यटन प्रवद्र्धन
एनपिएलका सन्दर्भमा यसपटक विभिन्न टोलीमा सहभागी भएर क्रिकेट खेल्न कम्तीमा ५० जना विदेशी खेलाडी नेपाल आएका छन् । यी खेलाडीको नेपाल आगमनले क्रिकेटको प्रवद्र्धनमा मात्र बल पुगेको छैन बरु यहाँको पर्यटनक प्रवद्र्धनमा समेत टेवा पुगेको छ ।
काठमाडौं गोर्खाजमा आवद्ध अष्ट्रेलियाका खेलाडी डेभिड वार्नर सगरमाथा बेस क्याम्प पुगे । हेलीकप्टरमार्फत बेस क्याम्प घुमेका वार्नरले सगरमाथाको अवलोकनपश्चात आफ्नो सामाजिक सञ्जालमा लेखे–यो त स्वर्ग रहेछ । वार्नरमानत्र होइन अन्य टिममा आवद्ध खेलाडीले पनि विभिन्न पर्यटकीय स्थल घुमेर नेपालबारेको आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
आन्द्रे रसेल, रवि बोपरा, मोइन अली, हरमित सिंहजस्ता विश्व क्रिकेटकै चर्चित हस्तीले अन्तर्राष्ट्रिय क्रिकेटमा थुप्रै महत्वपूर्ण उपलब्धि हासिल गरिसकेका छन् । यिनले आ–आफ्नो देशको राष्ट्रिय टोलीबाट अब्बल प्रदर्शन गर्दै थुप्रै उपाधिसमेत चुमिसकेका छन् । उनीहरूले विश्वभरका चर्चित फ्रेन्चाइज क्रिकेटमा पनि आफ्नो क्षमताको प्रदर्शन गरिसकेका छन् र जब यिनले नेपाली क्रिकेट, नेपाली समाज र समग नेपालबारे केही प्रतिक्रिया व्यक्त गर्छन भने त्यसले निकै ठूलो अर्थ राख्ने कुरा पर्यटनका जानकार कुलप्रसाद राईले बताउँछन ।
विदेशीका नाममा एनपीएलका किर्तिमान
विदेशी खेलाडीले एनपीएलमा विभिन्न किर्तिमानसमेत राखेका छन् । वेस्ट इन्डिजका प्रभावशाली खेलाडी आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएलको तेस्रो संस्करणका केही खेल खेलेर अर्को फ्रेन्चाइज लिग खेल्न फर्किसकेका छन् । ३८ वर्षीय रसेलले नेपाली भूमिमै एउटा नयाँ उपलब्धी हासिल गरे । वेस्ट इन्डिजबाट टेस्ट, एकदिवसीय र टी–२० गरी तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका रसेलले नेपाली भूमिमै खेल्दै टी–२० क्रिकेटमा आफ्नो १० हजार रन पूरा गरे । उनले हालसम्म टी–२० खेल्दै दुई शतक र ३७ अर्धशतकको मद्दतले कुल १० हजार ७७ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनको उच्च स्कोर अविजित एक सय २१ रनको हो ।
रसेलले एनपीएलको तेस्रो संस्करणमा पाँच खेल खेल्दै एक अर्धशतकको मद्दतले १८९.४७ को स्ट्राइक रेटमा कुल एक सय ४४ रन बनाए । रसेललाई विराटनगरको टोलीले १० हजार रन पूरा गरेको अवसरमा कीर्तिपुर मैदानमा सम्मान र बधाईसमेत अर्पण गरेको थियो । रसेलले प्राप्त गरेको त्यो उपलब्धिमा नेपाली दर्शकले पनि प्रसन्नता व्यक्त गर्दै मैदानमा ताली बजाएका थिए ।
यसैगरी, इङ्ल्यान्डका अर्का प्रभावशाली खेलाडी रवि बोपाराका लागि पनि नेपाल सधै सम्झनायोग्य रहनेछ । चितवन राइनोजमा अनुबन्धित रहेका बोपाराले कीर्तिपुर मैदानमै टी–२० क्रिकेटमा १० हजार रनको कोशेढुंगा पार गरे ।
तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका प्रभावशाली खेलाडीका रुपमा परिचित ४१ वर्षीय बोपाराले शुक्रबार पनि जनकपुर बोल्टसविरुद्ध खेलेका थिए ।
इङ्ल्यान्डकै अर्का ब्याटिङ अलराउन्डर मोइन अलीका लागि पनि एनपीएलको तेस्रो संस्करण विशेष बनेको छ । बायाँ हातले ब्याटिङ र दायाँ हातले बलिङ गर्ने ३९ वर्षीय मोइन अली पनि इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडी हुन् ।
जनकपुर बोल्ट्सबाट एनपीएल खेलिरहेका अलीले जारी एनपीएलकै क्रममा टी–२० क्रिकेटमा तीन सय विकेट प्राप्त गर्ने कोशेढुंगा पार गरे । अली हाल नेपालबाट फर्किसकेका छन् । हालसम्म उनले टी–२० क्रिकेटमा तीन सय एक विकेट लिइसकेका छन र यो किर्तिमान उनले नेपालमै कायम गरे ।
कर्णाली याक्समा आवद्ध डेभिड मिलर पनि विश्व क्रिकेटमा अर्को चर्चित नाम हो । दक्षिण अफ्रिकाका आक्रामक बायाँहाते मध्यक्रमका ब्याटरका रूपमा परिचित उनी विश्व क्रिकेटमा ‘किलर मिलर’ उपनामले पनि प्रसिद्ध छन् । उनले १८० एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्दै ४७६२ रन बनाएका छन् । मिलरले १४० टी–२० अन्तर्राष्ट्रियमा २ हजार ८०४ रन बनाएका छन् ।
एनपीएलमा पोखरा एभेन्जर्सका लागि खेल्ने क्यानेडियन ओपनर ब्याटर युवराज सामरा पनि चर्चामा छन् । जारी सिजनमा हालसम्म्म एकमात्र शतक प्रहार भएको छ, जुन सामराको नाममा छ । २० वर्षीय युवराज आक्रामक ओपनिङ ब्याटसम्यान मानिन्छन् । उनले गत टी–२० विश्वकपमा न्युजिल्यान्डविरुद्ध शतक प्रहार गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो क्षमता प्रमाणित गरेका थिए ।
सामराले क्यानडाका लागि १९ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र २० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले टी–२० अन्तर्राष्ट्रियमा एक शतक र तीन अर्धशतकसहित ५८६ रन बनाएका छन् ।
माथि उल्लेखित खेलाडीका साथै चितवनमा आवद्ध डेभिड मलान, पोखरामा आवद्ध सकिब अल हसन, काठमाडौंका डभिड वार्नर, जनकपुर बोल्टसमा आबद्ध हरमितलगायतका खेलाडीले आफ्नो व्यक्तिगत प्रदर्शनका कारण त चर्चा बटुलेका छन् नै उनीहरुहरुको प्रदर्शनबाट नेपाली क्रिकेटको विकास र विस्तारमा पनि टेवा पुगेको वरिष्ठ खेल पत्रकार मुकुन्द दाहाल बताउँछन् ।