काँचो दाउरा र रुखका हाँगाले शव जलाउनुपर्ने बाध्यता, मलामीलाई बस्ने र पानीको समेत उचित व्यवस्था छैन

<span class='c1'>काँचो दाउरा र रुखका हाँगाले शव जलाउनुपर्ने बाध्यता,</span> <span class='c2'>मलामीलाई बस्ने र पानीको समेत उचित व्यवस्था छैन</span>

विराटनगर । विराटनगर महानगरपालिका–७ हाटखोलास्थित परम विश्रान्ति स्थलमा शव जलाउने दाउराको अभाव हुँदा मृतकका आफन्तले सास्ती भोग्नुपरेको गुनासो गरेका छन्। अन्तिम संस्कारका लागि घाटमा पुग्ने आफन्तले पर्याप्त र गुणस्तरीय दाउरा नपाउँदा शव जलाउनै समस्या हुने गरेको बताएका छन्।

बुधबार मात्रै तीनवटा शव अन्तिम संस्कारका लागि परम विश्रान्ति स्थलमा लगिएको थियो। तर, आवश्यक मात्रामा दाउरा उपलब्ध नहुँदा मृतकका आफन्तले दुःख पाउनुपरेको उनीहरूको गुनासो छ। घाटमा उपलब्ध दाउरा पनि काँचो र रुखका साना हाँगाहरू मात्रै हुने गरेको उनीहरूले बताएका छन्। स्थानीयका अनुसार दाउराको अभावकै कारण मंगलबार तीनवटा शव परम विश्रान्ति स्थलबाट अन्य घाटमा लैजानुपरेको थियो। केही दिनअघि आफन्तको शव लिएर घाट पुगेका एक व्यक्ति काँचो दाउराकै सहारामा शव जलाउन बाध्य भएका थिए। बुधबार पुनः अर्को आफन्तको शव लिएर घाट पुगेका उनले व्यवस्थापन समितिको लापरबाहीका कारण यस्तो समस्या दोहोरिएको आरोप लगाए। मृत्युपछि अन्तिम संस्कारका लागि घाट पुग्ने परिवारले समेत दाउराको अभावमा थप पीडा भोग्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने उनीहरूको माग छ। घाट व्यवस्थापन समितिले समयमै दाउराको उचित प्रबन्ध गर्नुपर्ने उनीहरूको सुझाव छ।

विद्युतीय शवदाह गृहको माग

विराटनगर प्रदेश राजधानी हुनुका साथै ठूलो जनघनत्व भएको सहरसमेत हो। यस्तो अवस्थामा कम्तीमा एउटा विद्युतीय शवदाह गृहको व्यवस्था गर्न सके नागरिकलाई ठूलो राहत मिल्ने स्थानीय युवा रामकुमार श्रेष्ठ बताउँछन्। उनका अनुसार महानगरपालिकाले या त शव जलाउन पर्याप्त र सहज वातावरण बनाउनुपर्छ, नभए विद्युतीय शवदाह मेसिनको व्यवस्था गर्नुपर्छ। दाउराको अभाव मात्रै होइन, घाटमा अन्य आधारभूत सुविधासमेत कमजोर रहेको मृतकका आफन्तको गुनासो छ। शव जलाइसकेपछि आवश्यक पर्ने पानीको उचित व्यवस्था छैन भने मलामीलाई बस्न र वर्षा तथा घामबाट जोगिन ओत लाग्ने ठाउँसमेत पर्याप्त छैन। यी समस्याबारे पटक–पटक व्यवस्थापन समितिलाई जानकारी गराउँदा पनि सुनुवाइ नभएको उनीहरूको आरोप छ।

दाउरामा समेत मनोमानी भएको आरोप

परम विश्रान्ति स्थलमा पुगेका अर्का एक व्यक्तिले घाटमा सस्तो र बढी फाइदा हुने भएकाले साना तथा काँचो दाउरा ल्याएर बिक्री गर्ने गरिएको आरोपसमेत लगाएका छन्। उनका अनुसार दाउराको गुणस्तरभन्दा आर्थिक फाइदालाई प्राथमिकता दिँदा मृतकका आफन्तले दुःख पाउनुपरेको हो।

चाडपर्व र वनको अनुमति प्रक्रियालाई देखाउँदै समिति

परम विश्रान्ति स्थलको रेखदेख तथा व्यवस्थापन अहिले मारवाडी सेवा समिति अन्तर्गतको श्मशानघाट कार्यसम्पादन समितिले गर्दै आएको छ। समितिका सभापति सतीश दुगडको नेतृत्वमा घाटको व्यवस्थापन भइरहेको छ। समितिका पदाधिकारीका अनुसार पछिल्लो समय चाडपर्वका कारण दाउरा आपूर्तिमा समस्या भएको हो। दाउरा ल्याउन वन विभागबाट अनुमति लिनुपर्ने र चाडपर्वका कारण सम्बन्धित कार्यालय बन्द हुँदा समयमै दाउरा ल्याउन नसकिएको समितिको दाबी छ। परम विश्रान्ति स्थलमा शव जलाउन प्रयोग हुने दाउराको मूल्य प्रतिक्विन्टल १ हजार ४ सय रुपैयाँ तोकिएको छ। त्यस्तै, शव जलाएबापत समितिले प्रतिशव ५ सय रुपैयाँ लिने गरेको छ। तर, शुल्क लिए पनि आवश्यक सेवा–सुविधा उपलब्ध गराउन नसकेको भन्दै मृतकका आफन्तले असन्तुष्टि जनाएका छन्।

मानिसको जीवनको अन्तिम संस्कार गरिने स्थलमै दाउरा, पानी र मलामी बस्ने ठाउँजस्ता आधारभूत सुविधाको अभाव हुनु गम्भीर विषय हो। विराटनगर महानगरपालिका र घाट व्यवस्थापन समितिले यस विषयमा तत्काल चासो दिई उचित व्यवस्थापन गर्नुपर्ने स्थानीयको माग छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्