काठमाडौंमा मङ्सिर ७ देखि जलवायु कार्य सप्ताह हुदैँ

<span class='c1'>काठमाडौंमा मङ्सिर ७ देखि</span> <span class='c2'>जलवायु कार्य सप्ताह हुदैँ</span>

काठमाडौं । काठमाडौं महानगरपालिकाले यही मङ्सिर ७ गतेदेखि १३ गतेसम्म ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ सञ्चालन गर्ने भएको छ ।

जलवायु परिवर्तनका स्थानीय असर न्यूनीकरण तथा अनुकूलनका लागि सामूहिक प्रयास र सहकार्यको थालनी गर्ने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागिएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बिहीबार पत्रकार सम्मेलनमार्फत जलवायु परिवर्तनका चुनौती सामना गर्न स्थानीय तहका प्रमुखदेखि युवा, विद्यार्थी, वैज्ञानिक, निजी क्षेत्र र नागरिक समाजलाई एउटै मञ्चमा सहभागी गराउने तयारी गरिएको जानकारी दिए । उनले भने, ‘जलवायु परिवर्तनका चुनौती सामना गर्न स्थानीय तहका प्रमुखदेखि युवा, विद्यार्थी, वैज्ञानिक, निजी क्षेत्र र नागरिक समाज एकै मञ्चमा राख्ने हामीले प्रयत्न गरेका छौँ।’ उनका अनुसार साताव्यापी कार्यक्रममार्फत काठमाडौं उपत्यकालाई जलवायु उत्थानशील, समावेशी, स्वस्थ र बस्नयोग्य सहरका रूपमा विकास गर्न साझा कार्यक्रमको थालनी गरिनेछ । ‘सहर केन्द्रित जलवायुका असर घटाउने सहरस्तरीय यो नेपालकै पहिलो प्रयास हो,’ उनले भने ।

तीव्र सहरीकरणसँगै काठमाडौंले सहरी डुबान, अत्यधिक गर्मी, वायु प्रदूषण, पानीका स्रोतको कमी तथा फोहोरमैला व्यवस्थापनजस्ता पर्यावरणीय चुनौती सामना गरिरहेको छ । यी समस्या कुनै एउटा निकायको प्रयासबाट मात्रै समाधान गर्न नसकिने भएकाले तीनै तहका सरकार, समुदाय, प्राज्ञिक संस्था, अनुसन्धानकर्ता, विकास साझेदार, युवा, नागरिक समाज र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको मानन्धरले बताए । ‘यस कार्यक्रममा जलवायु परिवर्तनका चुनौतीबारे छलफल गर्ने मात्र नभई त्यसका असरको सामना गर्न तत्काल अवलम्बन गर्नुपर्ने कार्य तथा विज्ञानसम्मत क्रियाकलापलाई समुदायको सहभागितामा प्रारम्भ गर्ने लक्ष्य राखिएको छ,’ उनले भने । सप्ताहको पहिलो दिन जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि नीतिगत तथा राजनीतिक नेतृत्वसँग उच्चस्तरीय संवाद र जनप्रतिनिधिहरूको राउन्ड टेबल आयोजना गरिनेछ । यसमा काठमाडौं उपत्यका तथा प्रभावित क्षेत्रका स्थानीय सरकार प्रमुख, सरकारी निकायका विज्ञ र सरोकारवालाबीच सहरी उत्थानशीलता, जलवायु परिवर्तन तथा साझा प्राथमिकताका विषयमा छलफल हुनेछ ।

दोस्रो दिन जलवायु वित्तमा केन्द्रित कार्यक्रम सञ्चालन हुनेछ । जलवायु अनुकूलन तथा उत्थानशील पूर्वाधार निर्माणका लागि अन्तर्राष्ट्रिय जलवायु कोष, हरित नगर ऋणपत्र, सरकारी वित्तीय स्रोत र निजी क्षेत्रको लगानी परिचालनका विषयमा छलफल गरिनेछ । यस अवसरमा महानगरपालिकाले लगानी आवश्यक भएका प्राथमिकताप्राप्त जलवायु परियोजना प्रस्तुत गर्नेछ । तेस्रो दिन नागरिक विज्ञान, सम्पदा र जलवायु परिवर्तनका असरबारे कार्यक्रम सञ्चालन हुनेछ । ऐतिहासिक सम्पदा क्षेत्रको पदयात्रा, परम्परागत हिटी प्रणालीको संरक्षण, भूमिगत जल पुनर्भरण तथा पानीको गुणस्तर परीक्षणसम्बन्धी प्रदर्शन गरिनेछ । चौथो दिन ऊर्जा प्रणाली र जलवायु परिवर्तनका विषयमा छलफल हुनेछ । स्वच्छ ऊर्जा, विद्युतीय सवारीसाधन, ऊर्जा भण्डारण प्रविधि तथा फोहोरमैला व्यवस्थापनका विषयमा समानान्तर सत्र सञ्चालन गरिनेछ । यसै दिन टेकुस्थित बायोग्यास प्लान्टको उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको छ । पाँचौँ दिन बालबालिका तथा युवा जलवायु कार्य दिवसका रूपमा मनाइनेछ । यसअन्तर्गत ५० भन्दा बढी विद्यालयमा फोहोर वर्गीकरण, वृक्षरोपण योजना, जलवायु खेल तथा सिर्जनात्मक सचेतनामूलक गतिविधि सञ्चालन गरिनेछ । विद्यार्थीले विकास गरेका नवीन प्रविधि, हरित आविष्कार तथा इको क्लबका गतिविधि पनि प्रदर्शन गरिनेछ । यसै अवसरमा जलवायुका लागि बालबालिका भिडियो प्रतियोगिता आयोजना गरिएको छ । काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थी तथा काठमाडौं महानगरपालिकाको स्थायी ठेगाना भई हाल अन्यत्र अध्ययन गरिरहेका बालबालिकाले प्रतियोगितामा सहभागी हुन सक्नेछन् ।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, सान्त्वना स्थान हासिल गर्ने ६० जनालाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट १० जनालाई महानगरपालिकाका लागि जलवायु परिवर्तन सद्भावना दूतको उपाधिसमेत प्रदान गरिने मानन्धरले जानकारी दिए । छैटौँ दिन खाद्य प्रणाली र जलवायु परिवर्तनका विषयमा कार्यक्रम केन्द्रित हुनेछ । सहरी कृषि, परम्परागत बाली, बीउ संरक्षण तथा जलवायु अनुकूल कृषि प्रणालीबारे छलफल गरिनेछ । यस दिन राष्ट्रिय जीन बैंक, खुमलटारलगायतका कृषि क्षेत्र तथा परम्परागत बजारको अवलोकन, कृषकसँग अन्तरक्रिया र कौसी खेतीसम्बन्धी सिकाइ कार्यक्रम सञ्चालन हुनेछ । सातौँ तथा अन्तिम दिन जलवायु परिवर्तनका असर न्यूनीकरणमा नागरिक समाज, गैरसरकारी संस्था तथा अन्तरसरकारी संस्थाको दायित्वका विषयमा छलफल हुनेछ । जलवायु न्याय, पुस्तान्तरणीय जिम्मेवारी, स्थानीय समुदायमा जलवायु परिवर्तनको प्रभाव तथा हिमाली क्षेत्रमा हुने क्षति र नोक्सानीका विषयमा पनि संवाद गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्