विराटनगर । दुईवर्ष कुवेतको रासिद मोहम्मद रासिद मुस्लिम कम्पनीमा क्लिनरको रुपमा पठाइएकी विराटनगर–४ की आसादेवी गोस्वामी बिचल्लीमा छिन् । उनलाई जुन कम्पनीका लागि पठाइएको हो, त्यहाँ कार्यरत छु वा छैन भन्ने यकिन छैन । तर, उनको स्थिति भने दिनदिनै दयनिय बन्दै गएको छ । सन् २०२४ डिसेम्बर १२ मा उनको भिषा स्वीकृत भएको देखिन्छ ।
दुईवर्षका लागि पठाइएकी आसा फर्कने दिन नजिक छ । तर, परिवारलाई भने उनलाई भिषामा उल्लेखित कम्पनी र रोजगारदाताले शर्त अनुसारको काम लगाइरहेको नभएका कारण घर फर्कनेमा विश्वास छैन । किनकी आसाले गएदेखि दैनिक बिलौना गरिरहेकी छिन् ‘मलाई घर फिर्ता गरिदेउ ।’
आसाका छोरा विकास गोस्वामीले २०८२ कार्तिक १४ गते नै जिल्ला प्रशासन कार्यालय मोरङमा आमा फर्काउन सहयोग गरिदिन अनुरोध गर्दै निवेदन दिएका थिए । त्यसका आधारमा स्थानीय प्रशासनले आसालाई पठाउने व्यक्तिहरुको सम्पर्कपहिचान गरेर नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङलाई निर्देशानात्मक पत्राचार गरेको थियो ।
आसाका भाई कपिलदेव गिरीका अनुसार उनलाई काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका बनेपाका ओम श्रेष्ठ र आनन्द कार्कीमार्फत पठाइएको छ । उनीहरुलाई नेपालबाट भारत हुँदै कुवेत पठाउने यी दुवैजनालाई अहिलेसम्म न त प्रहरीले नियन्त्रणमा लिन सकेको छ , न त उनीहरु सम्पर्कमा भएर पनि जिल्ला प्रशासन कार्यालयको छलफलमा आएका छन् । बारम्बार सम्पर्क गर्दा समेत उपस्थित नभएपछि जिल्ला प्रशासन कार्यालय मोरङले वैदेशिक रोजगार विभागलाई २०८२ पुस २ गते पत्राचार गर्ने निर्णय गरेको थियो । त्यहाँका आधारमा भएको पत्राचारपछि वैदेशिक रोजगार विभागले पुस २८ गते कुवेतस्थित नेपाली राजदुतावासलाई अनुरोध गर्दै पत्र लेखेको थियो । जसमा आसा कुवेतमा हराइरहेकोले कुटनीतिक पहल गरिदिन अनुरोध गरिएको थियो । तर, त्यसपछि पनि आसालाई फर्काउन नसक्दा यहाँ परिवारका सदस्यहरु निराश बनेका छन् ।
भाइ कपिलदेवका अनुसार दलाल श्रेष्ठ र कार्कीले झुक्यानमा पारेर दिल्ली हुँदै कुवेत पठाएका हुन् । अहिले उनीहरुलाई सम्पर्क गर्दा कुनैपनि निकायले आफूलाई कारवाही गर्ननसक्ने भन्दै धम्की दिने गरेका छन् । परिवारका मान्छेहरु दैनिक जिल्ला प्रशासन कार्यालयमा धाइरहेका छन् । तर, यहाँबाट भएको पहल दुतावाससम्म पुग्दा समेत आफन्त फर्काउन नसकिएको गुनासो गरिएको छ । यता आसालाई पठाउनेमध्ये धुलिखेलका ओम श्रेष्ठको भनिएको नम्बरमा सम्पर्क गर्दा एकजना महिलाले फोन रिसिभ गरिन् । उनले जे कुरा हो, त्यो आफूसँग गर्न आग्रह गरिन् । सम्बन्धित व्यक्तिसँग कुरा गर्न भन्दा उनले सबै कुरा आफैंसँग राख्न आग्रह गर्दै भनिन्–उजुरबाजुरले केहि हुनेवाला छैन ।