विराटनगर । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गरी सडक सुरक्षा प्रभावकारी बनाउने उद्देश्यले कोशी प्रदेशमा ‘सुरक्षित यात्रा’ अभियान सुरु गरिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको समन्वयमा सोमबार बिहान विराटनगर बसपार्कमा विशेष कार्यक्रम आयोजना गरी अभियानको शुभारम्भ गरिएको हो । ‘सुरक्षित यात्रा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सुरु गरिएको अभियानको पहिलो चरण मोरङबाट थालिएको छ । अभियान कोशी प्रदेशका १४ वटै जिल्लामा सञ्चालन गरिनेछ ।


अभियान शुभारम्भ कार्यक्रममा बोल्दै कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले प्रदेशका विभिन्न जिल्लामा दिनप्रतिदिन सवारी तथा सडक दुर्घटना भइरहेको बताए । विगतको तुलनामा दुर्घटनामा केही कमी आए पनि अपेक्षाअनुसार न्यूनीकरण हुन नसकेको उनको भनाइ थियो । डीआईजी खनालले सडक दुर्घटनाबाट हुने जनधनको क्षति रोक्न र सुरक्षित यातायातको वातावरण निर्माण गर्न प्रदेशव्यापी अभियान सञ्चालन गरिएको स्पष्ट पारे ।

उनका अनुसार अभियानअन्तर्गत पर्चा तथा पम्प्लेट वितरण, सवारी चालक र सहचालकलाई प्रशिक्षण, जनचेतनामूलक कार्यक्रम सञ्चालन, जनपद तथा ट्राफिक प्रहरीको संयुक्त चेकजाँच र सीसीटीभी जडानलगायतका कार्यक्रम चरणबद्ध रूपमा अघि बढाइनेछ । अभियानले सडक प्रयोगकर्तालाई सचेत बनाउनुका साथै ट्राफिक नियम उल्लंघन गर्नेहरूमाथि कानुनी कारबाहीलाई समेत प्राथमिकता दिनेछ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार जनचेतनामूलक कार्यक्रम र कानुनी कारबाहीलाई सँगसँगै अघि बढाउँदै सवारी दुर्घटना न्यूनीकरण गर्नु अभियानको मुख्य उद्देश्य रहेको छ ।