विराटनगर । विराटनगरमा स्क्यामरको एउटा समूहको सञ्जाल भारत र पाकिस्तानसम्म फैलिएको भेटिएको छ । मोरङ प्रहरीको नियन्त्रणमा रहेका चारजनामाथि अनुसन्धान गर्दै जाँदा उनीहरुको त्रिदेशीय जालोदेखिएको हो । स्क्याममा संलग्नहरु रहेको आरोपमा प्रहरीले दुईजना भारतीय नागरिक र दुईजना नेपाली नागरिकलाई पक्राउ गरेको छ । जसको कनेक्सन पाकिस्तानका नागरिकसम्म समेत देखिएको हो ।
पक्राउ पर्नेमा भारतको बिहार, चुरना चौबेक स्थायी ठेगाना भई हाल विराटनगर महानगरपालिका–४ एयरपोर्ट मोडमा बस्दै आएका २६ वर्षीय ताहिर हुसेन, बिहारको कठिहार जिल्ला ड्राइभर टोल स्थायी घर भई विराटनगर–४ मा डेरा गरी बस्ने ३६ वर्षीय गुड्डु भनिने मोहमद सावुदिन छन् । उनीहरु बैंक खाताबाट पैसा ट्रान्सफर गराउनकै लागि यहाँ कोठा लिएर बस्दै आएका हुन् । त्यसैगरी भारतीय यी दुई नागरिकको सहयोगी विराटनगर–१७ का ३१ वर्षीय जफर आलम र विराटनगर–९ का २३ वर्षीय फैयाज खान छन् । यी दुईजना समेत प्रहरीको नियन्त्रणमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख कबित कटुवालका अनुसार नेपाली युवाहरुले भारतीयसँग कनेक्सन गर्ने र भारतीयहरुले पाकिस्तानीसँग सम्पर्क गर्ने देखिएको छ । यसमा पीडित प्रहरीको सम्पर्कमा आएपछि तीन तहसम्म प्रहरीले सफलता पाएको छ । अनलाइन ठगीमा संलग्नहरुले साथी बनाएर बैंक खाता खोल्न लगाउनेदेखि खोलिएका बैंक खाता पैसा ट्रान्सफरमा प्रयोग गर्नेसम्म गर्दै आएको ख ुलेको छ । बैंक एकाउन्ट प्रयोग गरेवापत उनीहरुले निश्चित रकम समेत उपलब्ध गराउँदै आएको देखिन्छ । बैंक तथा डिजिटल वालेटका खाता नम्बर प्राप्त ग रेपछि त्यसलाई प्रयोग गरेर रकम ट्रान्सफर गर्ने ग रिएको हो । विभिन्न वहानामा उनीहरुले पैसा जम्मा गर्ने अनि जम्मा भएको रकम नगद निकालेर लिने गरेकोसमेत देखिएको छ ।
स्क्याम्प गरेर भाडाका बैंक खातामा पैसा जम्मा गरेपछि फैयान खानले सम्बन्धित व्यक्तिसम्म पुगेर नगद झिक्न लगाउने गरेका थिए । यस वापत खातावालालाई दुई प्रतिशत दिने गरिन्थ्यो । संकलित रकमको १० प्रतिशत फैयाजले राखेर बाँकी रकम गुड्डु भन्ने मो.सावुदिन र जफर आलमलाई दिनेगरेको देखिएको छ । यी दुईजनाले १० प्रतिशत रकम आफू राखेर बाँकी रकम ताहिर हुसैनलाई बुझाउने गरेका हुन् । प्रहरीका अनुसार ताहिरमा पुगेको रकम पाकिस्तानी नागरिकसँगको कुराकानीका आधारमा जम्मा हुने गरेको देखिएको छ । रकम जम्मा हुँदा भारतका बैंकका खाता प्रयोग गरिएको छ ।
अहिलेसम्म प्रहरीले पाएको विवरणमा क वर्गका कमिर्सिल तथा विकास बैंकबाटै रकम ट्रान्सफर भएको देखिएको हो । ठगीमा संलग्न गिरोहले नबिल, एनआईसी एसिया, ग्लोबल आइएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, कुमारी, ज्योति विकास, माछापुच्छ्रे र लक्ष्मी सनराइज लगायत विभिन्न बैंकका खाता प्रयोग गरेको पाइएको छ । त्यस्तै, ई–सेवाका १७ वटा खाता प्रयोग भएको प्रहरीले जनाएको छ ।
उक्त समूहले ठगीबाट प्राप्त रकम संकलन गरी विभिन्न व्यक्तिमार्फत भारत पठाउने गरेको भन्दै जाहेरी परेको हो । पक्राउ परेकाविरुद्ध अनलाइन ठगीमा मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुले यी खाताबाट कति रकम ट्रान्सफर गरिसके भन्ने यकिन गर्न पत्राचार समेत गरेको छ । जाहेरी दिएकाहरुको आधारमा हालसम्म १५ लाख रुपैयाँबढी ठगी गरेको खुलेको छ ।