एसपी कबित कटवाल : चुनौतीकाबीच मोरङ आए, तरंग र प्रहरी छ भन्ने आभास दिलाए

<span class='c1'>एसपी कबित कटवाल : चुनौतीकाबीच मोरङ आए,</span> <span class='c2'>तरंग र प्रहरी छ भन्ने आभास दिलाए</span>

विराटनगर । प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीको मंसिर ८ गतेको निर्णयअनुसार देशभरका ६० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा हुँदा मोरङबाट कबित कटवाल पनि छन् । चौध महिनासम्म मोरङको सुरक्षा कमाण्ड सम्हालेका कटुबाल प्रहरी महानिरीक्षकको सचिवालयमा पुगेका छन् । उनको स्थानमा साइबर ब्युरोमा कार्यरत एसपी दिलीपकुमार गिरी मोरङ आउँदैछन् ।

मोरङबाट सरुवा भएसँगै कटुबालको विदाई कार्यक्रमहरु आयोजना भइरहेका छन् । शुक्रबार मात्रै जिल्ला प्रशासन कार्यालयले कटुवालको बिदाई कार्यक्रम राखेको थियो । एसपी कटुबाल सोमबार आफ्नो नयाँ कार्यक्षेत्रतर्फ जाने तयारीमा रहेका छन् ।

खुला सीमाना, औद्योगिक नगरीको संवेदनशीलता र सङ्गठित अपराधका विविध चुनौतीहरूका बीच करिब १४ महिनाअघि जिल्ला प्रहरी कार्यालय मोरङको कमान्ड सम्हालेका उनको मोरङ बसाई साहसिक र चर्चित अपरेसनका कारण चर्चाको शिखरमा रहे । विराटनगरको प्रशासनिक र व्यावसायिक वृत्तमा समेत उनको उपस्थिति विवाद भन्दा प्रशंसाबाटै सम्झन लायक देखियो ।

मोरङमा बिताएको १४ महिनाको अवधिमा कटवालको कार्यकाल केवल नियमित प्रहरी प्रशासन सञ्चालनमा मात्र सीमित रहेन। प्रहरी प्रशासन भित्रको सुशासनदेखि गुण्डागर्दीको नियन्त्रणसम्म केन्द्रीत बन्यो । कारागारभित्रको आर्थिक बेथितिविरुद्धको कारबाही, चर्चित अभियुक्तमाथिको अनुसन्धान, औद्योगिक घरानामा गरिएको विवादास्पद छापा र सुरक्षा व्यवस्थापनका विभिन्न गतिविधिले उनको कार्यकाललाई चर्चामै रहिरहयो । यद्यपी सुरक्षा जिम्मेवारीमा कटुबाल कहिल्यै चुकेनन् ।

कहिले अपराधविरुद्धको आक्रामक प्रहरी नेतृत्वका रूपमा प्रशंसा पाए त कहिले प्रहरी कारबाहीको औचित्य र कार्यशैलीलाई लिएर प्रश्नको सामना गर्नुपर्‍यो। यसरी प्रशंसा र विवाद दुवैको बीचमा बितेको कटवालको मोरङ बसाइले जिल्लाको प्रहरी प्रशासनमा केही नयाँ बहससमेत जन्मायो। नयाँ बहस भनेको सामान्य नागरिकका घरमा कुनै आशंकामा गरिने खानतलासी जस्तै कुनै औद्योगिक वा प्रशासनिक घरानाको खानतलासी पनि प्रहरीको सुरक्षा क्षेत्र भित्र पर्दछ । अर्थात् सामान्य नागरिकको घर भित्र प्रहरी प्रवेश गर्नुपर्ने दिन जस्तै विशिष्ट वा औद्योगिक भनिएका घरभित्र पनि प्रहरी प्रवेश गर्नसक्ने भन्ने कुरालाई कटुबालले स्थापीत गरेर फर्किएका छन् ।

कारागारभित्रको बेथितिमाथि प्रहरीको हस्तक्षेप
एसपी कटवालको मोरङ कार्यकालको सबैभन्दा चर्चित घटनामध्ये एक थियो, आपराधिक पृष्ठभूमिका अभिषेक गिरीमाथिको कारबाही।
विगतमा अपहरणलगायतका मुद्दामा सजाय भोगेका गिरीमाथि मोरङ कारागारका कैदीबन्दीलाई वितरण गर्नुपर्ने भत्ता तथा श्रमको पारिश्रमिकबापतको १३ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको गम्भीर आरोप लागेको थियो। कारागारभित्र कैदीबन्दीको आर्थिक शोषण र आन्तरिक व्यवस्थापनमा प्रभावशाली समूहको हस्तक्षेपबारे लामो समयदेखि चर्चा हुँदै आएको थियो। विगतमा कारागारको आम्दानीमा जिल्ला प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखदेखि राजनीतिक दलका नेतासम्मलाई भाग लाग्छ भन्ने भनाईलाई तोड्दै कारागार सुशासनप्रति जिम्मेवार देखिएको थियो ।

यही प्रकरणमा कटवाल नेतृत्वको प्रहरी टोलीले गत असार १३ गते विराटनगर–८ स्थित निवासबाटै गिरीलाई पक्राउ गर्‍यो। उनलाई आपराधिक लाभको कसुरमा अनुसन्धान अघि बढाइयो। गिरी पक्राउ परेपछि यो विषय केवल एक व्यक्तिको आपराधिक अनुसन्धानमा सीमित रहेन। कारागारभित्र वर्षौँदेखि चल्दै आएको भनिएको आर्थिक चलखेल, कैदीबन्दीमाथिको दबाब र आन्तरिक प्रशासनमा रहेको प्रभावबारे पनि प्रश्न उठ्न थाले।

अदालतको आदेश र कानुनी प्रक्रियाका कारण गिरी थुनामुक्त हुने तथा पुनः पक्राउ पर्ने क्रमसमेत चल्यो। प्रहरीले उनीविरुद्ध आपराधिक लाभ लिई संगठित अपराध गरेको अभियोग तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको कोणबाट समेत अनुसन्धानको दायरा फराकिलो बनायो। यो अहिले समेत जारी रहेको छ । गिरी आफू विरुद्धको आरोपमा बयान दिन समेत उनै कटुवाल रहँदासम्म नआउने भन्दै भागिरहेका भन् । यद्यपी गिरीका लागि नयाँ जिम्मेवारीमा आउने एसपीको भूमिका समेत उस्तै हुनसक्ने अनुमान गर्न सकिन्छ ।

कारागार प्रशासनभित्रको आन्तरिक संरचनामाथि पनि प्रहरीको ध्यान केन्द्रित गराएको यो कारवाहीसँगै मोरङ कारागार भित्र चलिरहेको व्यक्ति आक्रमण र हत्या रोकिनसक्ने आसा समेत जगाएको छ । कारागारभित्र नाइके तथा चौकीदारको प्रभाव, कैदीबन्दीबीचको शक्ति सन्तुलन र आर्थिक कारोबारमा हुने भनिएको अनियमिततामाथि नियन्त्रण गर्ने प्रयास समग्र जिल्लाकै प्रशासन संयन्त्रको चर्चायोग्य मानिनेछ ।

कारागारभित्रको सिन्डिकेट तोड्ने प्रयासका रूपमा हेरिएको यो हस्तक्षेपले कैदीबन्दीको अधिकार, कारागार प्रशासनको पारदर्शिता र राज्यको नियन्त्रणबारे नयाँ बहस सिर्जना समेत गरिदिएको छ । आगामी दिनमा कारागार भित्र हुने घटनालाई केलाउनका लागि सोझै स्थानीय प्रशासन र प्रहरी प्रमुखको भूमिकासँग जोड्न सकिने आधार बनेको छ ।

मुन्दडा ग्रुपको घरमा छापा
अपराध नियन्त्रणमा आक्रामक देखिएका कटवालको कार्यकालमा अर्को घटनाले भने प्रहरी संगठन र निजी क्षेत्रबीच असहज परिस्थिति सिर्जना समेत हुन खोज्यो । गत साउनमा विराटनगरको प्रतिष्ठित औद्योगिक घराना मुन्दडा ग्रुपका सञ्चालक बेनी गोपाल मुन्दडाको विराटनगर–७ स्थित गोश्वारा रोडको निवासमा प्रहरीले छापा मार्‍यो। छापा हान्नुपर्ने विभिन्न कारणमध्ये सामाजिक सद्भावको विपक्षमा मुन्दडा ग्रुप भित्रका सदस्यले चालेको नकारात्मक पहल समेत भएको आशंका गरिएको छ । किनकी सुनसरीको देवानगञ्जमा सल्किएको आगो विराटनगरमा विस्तार हुन नदिने प्रयासमा प्रशासन थियो । त्यसका लागि शान्ति र सद्भावका लागि आयोजना गरिएको ¥याली विरुद्ध मुन्दडा ग्रुप भित्रका सदस्यहरुको टिप्पणीको सन्देश नकारात्मक देखिन्थ्यो । त्यहि सिलसिलामा छापा हानेपनि प्रहरीले छापाको कारण त्यहि भनेको छैन ।

विशेष सूचनाका आधारमा गैरकानुनी वस्तु लुकाएर राखिएको आशंकामा घर खानतलासी गरिएको दावी गर्दै आएको छ । तर, खानतलासीका क्रममा प्रहरीले कुनै नगद वा आपत्तिजनक सामग्री बरामद गर्न सकेन। त्यसपछि प्रहरीको सूचना संकलन, त्यसको विश्वसनीयता र छापा मार्ने निर्णयमाथि प्रश्न उठ्न थाले। प्रतिष्ठित उद्योगीको निवासमा पर्याप्त आधारबिना छापा मारिएको भन्दै निजी क्षेत्रबाट असन्तुष्टि व्यक्त भयो। यसलाई व्यवस्थापन गर्नका लागि कोशी प्रदेश प्रहरी कार्यालयले निजी क्षेत्रसँग छलफल आयोजना गरेको थियो भने एसपी कटवालसँग स्पष्टीकरण माग्यो। यद्यपी उनले यो घटनालाई सुरक्षाका दृष्टिकोणले सामान्य नागरिकको घरमा खानतलासी गर्नु जतिनै औद्योगिक वा अन्य कुनै घरानामा समेत खानतलासीलाई लिनुपर्ने मान्यता स्थापीत गरिदिएका थिए ।
अपराध नियन्त्रणमा प्रहरीको सक्रियता आवश्यक भए पनि त्यस्तो सक्रियता कानुनी आधार, प्रमाण र प्रक्रियासँग जोडिनुपर्ने भन्दै यस घटनामा उनको आलोचना भयो । आलोचना भएपनि उनको तत्काल सरुवा गर्ने स्थितिमा प्रहरी प्रधान कार्यालय पुगेन । त्यसपछिका पाँच महिनापछि मात्रै नियमित सरुवामा परे ।

सडकदेखि सीमासम्म प्रहरीको उपस्थिति
कारागार प्रकरण र मुन्दडा निवासको छापाजस्ता चर्चित घटनाबाहेक कटवालको कार्यकालमा जिल्लाको नियमित शान्ति सुरक्षा व्यवस्थापन पनि प्राथमिकतामा रह्यो।

खुला सीमाना भएको मोरङमा तस्करी नियन्त्रण, सीमावर्ती अपराध, लागुऔषध कारोबार, चोरी–तस्करी र संगठित आपराधिक गतिविधि प्रहरीका नियमित चुनौती हुन्। औद्योगिक तथा व्यापारिक गतिविधि बढी हुने विराटनगरमा सुरक्षा व्यवस्थापनले आर्थिक र सामाजिक वातावरणसँग पनि प्रत्यक्ष सम्बन्ध राख्छ।

कटवालले चाडपर्व लक्षित सुरक्षा योजना, मातहतका प्रहरी युनिटको परिचालन र नागरिकस्तरमा प्रहरीको उपस्थिति अनुभूति गराउने प्रयासलाई प्राथमिकता दिएका थिए ।

प्रहरीको कार्यसम्पादन मूल्यांकन चर्चित पक्राउ र छापामारीका घटनाले मात्रै पूर्ण हुँदैन। अपराध अनुसन्धानको निष्कर्ष, मुद्दाको कानुनी परिणाम, नागरिकले अनुभूति गर्ने सुरक्षा र प्रहरीप्रतिको विश्वास पनि उत्तिकै महत्त्वपूर्ण सूचक हुन्। एसपी कटुवालले आफूले सबै नागरिकलाई समान व्यवहार गर्नुपर्छ भन्ने मान्यता राखेरै सुरक्षा कमान्ड सम्हालेको बताएका छन् । उनीसँगको कुराकानीमा भने–सरुवाको निर्णयपछि अहिले बिदाई भेट गरिरहेको छु, जेजस्तो काम गरेको छु, त्यसले आगामी दिनमा याद दिलाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्