विराटनगर । असंगठित क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन नसक्दा श्रम क्षेत्रको ठूलो हिस्सा यस कार्यक्रमबाट बाहिर रहनु परेको चिन्ता सरोकारवालाले गरेका छन् । नवौं सामाजिक सुरक्षा दिवसको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा मजदुर संघसंगठनका अगुवा, रोजगारदाता र सरकारका प्रतिनिधिले समग्र श्रमक्षेत्र सामाजिक सुरक्षा कोषमा आवद्ध नभएको बताएका हुन् ।
सामाजिक कोष विराटनगरका प्रमुख दिपक भट्टका अनुसार औद्योगिक तथा सेवा क्षेत्रको उल्लेख्य विकास भएको कोशी प्रदेशमा हालसम्म २ हजार ७६९ रोजगारदाता र ९३ हजार ३७३ योगदानकर्ता आवद्ध भएका छन् । तर, यस बाहेक अनौपचारिक क्षेत्र जस्तै यातायात, स्वास्थ्य, कृषि, दैनिक ज्यालादारी, निर्माण क्षेत्रमा आवद्ध श्रमिक अहिलेसम्म यसमा जोडिन नसकेको देखिएको छ ।
औद्योगिक क्षेत्रमा क्रियाशिल श्रमिक योगदानकर्ताको रुपमा आवद्ध रहेबाहेक पनि ८३ प्रतिशत श्रमिक सामाजिक सुरक्षा कोष बाहिर रहेको संयुक्त ट्रेड यूनियन कोशी प्रदेशका अध्यक्ष किशोर धमलाको भनाई छ । उहाँका अनुसार कोषमा योगदान दिएका श्रमिकले पाउने स्वास्थ्य सेवामा समेत विभेद भएका गुनासोहरु दैनिक आउने गरेका छन् ।
स्वास्थ्य संस्थाले कोषमा योगदान गरेका योगदानकर्तालाई दिने सेवाका लागि सामाजिक सुरक्षा कोषले कार्ड दिएको हुन्छ । यो कार्ड बोकेर स्वास्थ्य संस्थामा जाँदा तत्काललै पैसा दिने अर्को व्यक्ति सरहको व्यवहार नहुने गरेको गुनासो बढ्दै गएको धमलाको भनाई थियो । अध्यक्ष धमलाको यो भनाईसँग सामाजिक सुरक्षा कोष विराटनगरका कार्यालय प्रमुख दिपक भट्टले समेत सहमति जनाउनु भएको छ ।
भ्ट्टले यस्ता गुनासोहरु धेरै आउने गरेकाले यसको कार्यन्वयनलाई अझै कडाई बनाउँदै लगिने बताउनुभयो ।
कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्री गीता तिम्सिनाले सामाजिक सुरक्षा कोषलाई सबै श्रमिक तथा सेवाग्राहीले समान रूपमा लाभ लिन सक्ने स्थितिमा पु¥याउन सरकार प्रतिवद्ध रहेको बताउनुभयो । मन्त्री तिम्सिनाले सामाजिक सुरक्षाको दायरालाई फराकिलो बनाउँदै श्रमिक तथा योगदानकर्ताको सामाजिक र आर्थिक सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सेवा दिने निकायले राम्रो सेवा दिन नदिएको गुनासो आइरहेको सन्दर्भमा यसलाई एकद्वार प्रणालीमार्फत सुनुवाई गर्ने व्यवस्था मिलाउँदा उचित हुनसक्ने बताउनुभयो । मन्त्री तिम्सिनाले सामाजिक सुरक्षा कोषमा आवद्ध नभएका असगठित क्षेत्रका श्रमिकलाई यसमा जोड्नका लागि सबैसँग अपिल गर्नु भएको छ ।
रोजगारदाता तथा नेपाल उद्योग परीसंघ कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडाले सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयन नभएको गुनासो गर्नुभयो । उहाँले रोजगारदाता र श्रमिक दुवै पक्षको सक्रिय सहभागिता रहने भनिएपनि कार्यन्वयनमा अझै जटिलता देखिरहेको बताउनुभयो । अध्यक्ष शारडाले रोजगारदातामार्फत जम्मा भएको पैसा कोषमा निस्क्रिय रहेको बताउँदै त्यसलाई उत्पादनमा जोड्न आवश्यक रहेको बताउनुभयो ।
श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख निरजकुमार देवले श्रम क्षेत्रको व्यवस्थापन, श्रमिकको अधिकार संरक्षण तथा सामाजिक सुरक्षाको प्रत्याभूतिका लागि कोषको महत्वमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा सामाजिक सुरक्षा कोषको महत्व, योगदानकर्ताले प्राप्त गर्ने सुविधा, श्रमिक तथा रोजगारदाताको जिम्मेवारी र सामाजिक सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाउने विषयमा चर्चा गरिएको थियो ।