विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा आयोजना हुने नवौँ विराट एक्स्पो २०२६ को तयारी तीव्र पारिएको छ। आगामी पुस २ देखि ११ गतेसम्म सञ्चालन हुने एक्स्पोलाई लक्षित गर्दै अहिले निर्माणस्थलमा कामदारहरू धमाधम स्टल तथा अन्य संरचना निर्माणमा जुटेका छन्।
यस वर्षको एक्स्पोलाई विगतका संस्करणभन्दा फरक र उपलब्धिमूलक बनाउने तयारी गरिएको आयोजकले जनाएको छ। एक्स्पोमा उद्योग, व्यापार, लगानी, सीप विकास तथा रोजगारीका अवसरलाई एउटै थलोमा जोड्ने लक्ष्य राखिएको छ। यसपटक एक्स्पोमा २७५ भन्दा बढी स्टल रहनेछन्।


उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीका अनुसार एक्स्पोलाई परम्परागत खरिद–बिक्री मेलामा मात्र सीमित नराखी अवसर, सम्भावना र सहकार्यको साझा मञ्चका रूपमा विकास गर्न लागिएको हो। एक्स्पोमार्फत स्थानीय उत्पादन, औद्योगिक सम्भावना, उद्यमशीलता र नयाँ लगानीका अवसरलाई प्रवर्द्धन गरिने उनले बताए।
एक्स्पोमा १० वटा अवसर क्षेत्र र ६ वटा एकीकृत प्लेटफर्ममार्फत विभिन्न गतिविधि सञ्चालन गरिनेछन्। विद्यार्थी तथा युवालाई करियर मार्गदर्शन, स्थानीय उद्योगको अवस्था र सीप विकाससँग जोड्न ‘लर्न फर द फ्युचर’ कार्यक्रम आयोजना गरिनेछ। त्यस्तै, औद्योगिक अटोमेसन, फेसन डिजाइन, कृषि, आतिथ्य, सौन्दर्य तथा स्वास्थ्यलगायत आठ क्षेत्रमा सीप र तालिमसम्बन्धी सत्र सञ्चालन हुनेछन्।


यसैगरी, एक्स्पोअन्तर्गत तीनदिने ‘विराट बिजनेस समिट २०२६ : अपरच्युनिटी कनेक्ट’ आयोजना गरिनेछ। समिटमा कोशी प्रदेशका १४ वटै जिल्लाका उद्योग वाणिज्य संघका प्रतिनिधिले आ–आफ्नो क्षेत्रको आर्थिक सम्भावना तथा लगानीका अवसर प्रस्तुत गर्नेछन्।
एक्स्पोमा उद्योग, कर्पोरेट, कृषि, साना तथा घरेलु उद्योग, अटोमोबाइल र खानाका परिकारसम्बन्धी स्टल रहनेछन्। कोशी प्रदेशका १४ वटै जिल्लाका कृषि उत्पादन, महिला तथा साना उद्यमीका उत्पादन र सुनसरी–मोरङ औद्योगिक करिडोरमा उत्पादित वस्तुलाई विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ।
आयोजकका अनुसार एक्स्पोमा करिब २ लाख ५० हजार अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ। साथै, करिब २ हजार युवालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीका अवसरसँग जोड्ने लक्ष्य राखिएको अध्यक्ष राठीले बताए।
औद्योगिक तथा व्यावसायिक गतिविधिसँगै सीप विकास, लगानी प्रवर्द्धन र रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको यस वर्षको विराट एक्स्पोले कोशी प्रदेशको आर्थिक गतिविधि थप चलायमान बनाउने अपेक्षा गरिएको छ।