विषय प्रवेश:
“कथा एउटा जागृत अवस्थाको सपना हो ।"
धेरै मनोवैज्ञानिक र साहित्यकारहरूले कथालाई दिउँसो देखिने सपना(Daydream) वा “जागृत सपना" भनेर व्याख्या गरेका छन्। मानिसले निदाउँदा अचेतन मनले सपना बुने जस्तै, लेखकले ब्युँझिएको अवस्थामा आफ्नो कल्पनाशक्ति प्रयोग गरेर एउटा संसार (कथा) बुन्छ ।
मोफसलमा रहेर आख्यान विधामा कमल चलाइरहेका जीत ब. कटुवालद्वारा लिखित तेस्रो साहित्यिक कृति ‘मखमली सपना' अतृप्त र आशावादी कोमल सपनाहरूको कथासङ्ग्रह हो । यसमा अँटाएका १७ ओटा कथाहरू नेपालको भूगोल हुँदै यसभन्दा बाहिर पृथ्वीका अन्य महादेशीय भूभागसम्म विस्तारित देखिन्छन् । साथै यसमा पछिल्लो जेन्जी विद्रोह वा विस्फोटसम्मको घटनालाई स्थान दिएको देखिन्छ । जम्मा २०९ पृष्ठसम्म कथाहरू फिँजिएका छन् । झिनो कथानक र थोरै पात्र भएका कथाहरूले विषयवस्तुको गहिराइसम्म पाठकलाई पुऱ्याएर मथिङ्गल हल्लाउन सक्ने साहित्य सिर्जना यस सङ्ग्रहमा रहेका छन् । कथाहरूको वर्णन प्रथम र तृतीय पुरुष दृष्टिविन्दुबाट कहीँ रैखिक र कतै पूर्वदिप्ती शैलीलाई पछ्याइएको छ । प्रायः सबै कथाहरू मझौला आकारका रहेका छन् । यहाँका कथाहरूमा पूर्वेली भाषिकाको प्रशस्तै प्रयोग भएको छ । मुख्यतः यस सङ्ग्रहका कथाहरूमा कथाकारको उद्देश्य नेपाली समाजको अवस्था र त्यहाँ उपस्थित नारी जातिको अतृप्त सपनाहरूको विश्लेषणमा केन्द्रित रहेको प्रतीत हुन्छ ।
पात्र अनुकूल कोमल र नरम भाषाको प्रयोगले कथाहरू जीवन्त बनेका छन् । कथाको विषयगत विविधताका कारण विद्यालयीय उमेरदेखि साहित्यानुरागी सबैका लागि पठनीय र बोधगम्य कथा यस सङ्ग्रहमा रहेका छन् । महिला बहुल पात्रको मनोविश्लेषणमा केन्द्रित रहेर शान्ति, सहिष्णुता र सद्भावलाई उनीहरूको कोमल सपनाका रूपमा कथाकारले चित्रण गर्ने साहस गरेका कारण ‘मखमली सपना' नारी जातिको दमित आवाज र आकाङ्क्षाको परिचय बन्न पुगेको छ ।
कथा विश्लेषण:
यस सङ्ग्रहको पहिलो कथा ‘तेस्रो आकाश'की प्रमुख स्त्री पात्र प्रणयिनी समयले आफूमा बर्साइदिएको अल्पसङ्ख्यकको पहिचानलाई समाजमा स्थापित गर्न र समायोजनका लागि गरेको कठिन सपनाको चित्रण अत्यन्तै मार्मिक रहेको देखिन्छ भने सत्रौँ कथा 'उपहार'की मुख्य गतिशील पात्र सञ्चयिकाले सजाएका सपनाहरू अचानक कोभिड - 19 को भेलले बगाउँदा विवाहयोग्य उमेरमा आफ्ना अतृप्त आकाङ्क्षा चिरहरण भएको सन्दर्भमा उत्पन्न मनोद्वन्द्वलाई कथाकारले चित्रण गरेका छन् ।
“धर्म, परम्परा, राजनीति, संस्कृति ‘ नीति र सामाजिकताको बाह्य सत्ताबाट व्यक्ति सत्तालाई स्वतन्त्रता र मुक्ति दिने चाहना र प्रयत्न प्रत्येक अस्तित्ववादी चिन्तकमा प्रबल र सर्वोपरि भेटिन्छ ।" ( त्रिपाठी: २०५८:१२७ ) दुर्व्यसनीले बाटो बिराएर आफ्ना अँधुरा सपनालाई पूरा गर्न पद्माबाट प्रमदा भएकी नारी चरित्रका कोमल र संवेदनशील जीजिविषा यस सङ्ग्रहमा रहेको ‘पुनर्जन्म' शीर्षकको कथामा छताछुल्ल पोखिएको देखिन्छ । उसलाई लेखकले अस्तित्वको वोध गराउँदै जीवनको लयमा फर्काएर स्वतन्त्रताको उडान भरिदिएका छन् । दक्षिणी सुडानको गृहयुद्धले उजाडिएका एडिथका सपनाहरू आफ्नै भूमिमा पूरा भएको देख्न चाहने कथाकारको 'वशुधैव कुटुम्बकम्' को सर्वव्यापी उदार भाव 'गृहयुद्धको कालो छायाँ' कथामा व्यक्त भएको छ । स्थान विशेषभन्दा विश्वजनीन स्वभाव ( Global Nature ) को हुने सांस्कृतिक रुचिलाई अपनाउँदै नवचेतनावादी धारामा यस कथालाई प्रस्तुत गरिएको छ ।
आजका कथामा समकालीन युगको यथार्थ अनुभवलाई व्यक्तीकरण गर्न थालिएको छ । यस्ता कथाहरू वास्तविकतालाई अनुभूतिमा ढालेर प्रस्तुत गरिएका हुन्छन् । ( एटम: २०६१,११५) यस सङ्ग्रहको अर्को सशक्त कथा ‘भाडाको कोख'ले कोपिलाबाट अलग गरिएको मातृत्व चित्कारको युगीन यथार्थलाई कथाकारले प्रस्तुत गरेका छन् । त्यस्तै गरेर मातृत्व वात्साल्यले पूर्णाकार लिन समाज र उमेर तगारो बन्दा आफ्नो मातृ वात्सल्यको क्षतिपूर्ति अन्तबाट पूरा गर्नुपर्ने कठोरतम सत्य वा विकृत मनोदशालाई ‘जुनु' कथाले उजागर गर्दै नारी चरित्र उषाका कोमल सपनाहरू चिहान बनेको वास्तविकतालाई प्रस्तुत गरेको छ ।
“कोख भनेको पैसा लिएर कोठा भाडा दिए जस्तो भाडामा दिने बस्तु होइन . . . . (भाडाको कोख: पृष्ठ ५४ )
कथा, वास्तवमा विचार तथा भावना सञ्चरण गर्ने एउटा यस्तो कला हो जसले आफ्नो सानो आयतनलाई सुन्दर आकार प्रदान गरेर त्यसमा जीवन वा समाजको सजीव चित्र कोर्दछ । ( श्रेष्ठ दयाराम: २०५७:८)परम्परागत विषयवस्तुलाई अङ्गालेर पनि आलङ्कारिक भाषा र प्रस्तुतीकरणको गतिशीलतामा दुई छोराबिचको अंशबन्डाको लफडाले बुढ्यौलीमा खड्का दाइ र भाउजूले जीवनको उत्तरार्धमा शान्तिसँग दुई छाक जोर्ने सपना भताभुङ्ग भएको समाजको सजीव चित्र ‘अंशबन्डा' कथामा देख्न सकिन्छ ।
आफूलाई जन्मदिने आमाबुबालाई अत्यन्तै श्रद्धापूर्वक सम्झिने र भेट्ने उत्कट अभिलाषा तिरोहण हुँदै गरेकाे अँधुरा सपनालाई समिरा पात्रका माध्यमबाट व्यक्त गर्दै हाम्रो धार्मिक - सांस्कृतिक मनोविज्ञानमा नारीलाई हेर्ने चस्मामा रहेको कमजोरीलाई कथाकारले ‘आमाबाबाको माया' कथामा व्यङ्ग्यको भावमा चित्रण गरेका छन् ।
हिजोको पत्रमित्रताको युगलाई अहिले फोनबाट म्यासेन्जरले ठाउँ लिएको र त्यहाँ एकअर्कालाई फोनमित्र बनाएको आदर्श सम्बन्धलाई ‘जन्मदिनको शुभकामना' कथामा सुन्दर चित्रण गर्न कथाकार सफल बनेका छन् । विद्यालयीय शिक्षा नलिए पनि व्यावहारिक र नैतिकवान भोला जस्ता सोझा र सरल व्यक्तिहरूले हाम्रो समाजलाई सभ्य र आदर्श बन्ने प्रेरणा दिएको झिनो कथानकलाई ‘वनमाराले खाएको लालुपाते' कथामा कथाकारले सजीव चित्रण गरेका छन् ।
“मैले मेरो गाउँको विद्यालयको लागि १००० चन्दा दिएँ। छोरालाई आफू जस्तै बुद्धिमानी बनाउनका लागि स्कुल पठाउन अनेक प्रयास गरेँ तर पटक्कै मानेन। आफ्नो छोरोले नपढेर के भो र अरुका छोराछोरीले त पढ्न पाउँछन् ।" (वनमाराले खाएको लालुपाते,१४४ )
यस कथा सङ्ग्रहको महत्त्वपूर्ण विशेषता भन्नु नै नारी पात्रको उत्कृष्ट रूपलाई देखाउनु हो । प्रमदाको भूल स्वीकार गर्ने उदारता, प्रणयिनीको त्यो सहिष्णुता र बुद्धिमता, उषा र कोपिलाको अटल मातृत्व, वसन्तीको दृढता, धैर्यता र पारिवारिक नेतृत्व चित्रण आकर्षक रूपमा कथाकारले प्रस्तुत गरेका छन् ।
अलग - अलग भाषा - भाषिका, वेशभूषा, रीतिरिवाज, खानपिन, रहनसहन, वैचारिक तह आदिलाई एउटा निश्चित कलात्मक मूल्यभित्र राखेर पर्यवेक्षण गर्नेजस्तो कठिन काम ती कथाकारहरूले सम्पन्न गरेका छन् । ( श्रेष्ठ, शर्मा,२०६३,८९) सीमान्तकृत विषय, पात्र, स्थान, भाषा र संस्कृतिलाई महत्त्व दिएर तराईको जीवनलाई प्रस्तुत गर्नु 'मखमली सपना' कथा सङ्ग्रहमा रहेको ‘स्मृतिका बाछिटा' कथा उपर्युक्त सन्दर्भको साक्षी रहेको देखिन्छ । गुरुप्रसाद मैनाली, बिपी कोइराला कथामा सरल भाषाशैलीको प्रयोगमा सर्वप्रथम छन् तर उनीहरूको भाषाको सरलताभित्र छोपिएको विद्वत्ता धेरै छ । यही सरलतालाई कटुवालले यस सङ्ग्रहमा पछ्याएका छन् ।
“सम्पूर्ण आदर्श, मूल्य र आस्थाका आधार दार्शनिक नित्सेद्वारा गरिएका ईश्वर मृत्युका घोषणासँगै ढल्दछन् र जीवन असङ्गत र निस्सार तथा शून्य छ भन्ने बोध बिउँझन्छ ।" ( त्रिपाठी: २०५८:१४४ ) भूमण्डलीकरणका कारण पछिल्ला पुस्तामा विज्ञान तथा प्रविधिका माध्यमबाट राजनैतिक चेतनाको विस्तारले नेपाली युवापुस्ताको मनोविज्ञानमा प्रभाव परेको र त्यही कार्यकारण सम्बन्धले घटेको जेन्जी विस्फोटको परिवेशलाई 'अप्रत्यासित आँधी' कथामा कथाकार कटुवालले कलेज पढ्दै गरेकी विद्यार्थीका आँखाबाट विसङ्गतिपूर्ण तस्विरको विश्लेषण गरेका छन् । र उसका वा सबैका सपनाहरू अहङ्कारी र दम्भी शासकले निम्त्याएको त्यही आगोमा डढेको असङ्गत र निस्सार भावलाई कथाकारले विसङ्गतिका आँखाले चर्चा गरेका छन् ।
“पदमा पुगेपछि अहङ्कारी र दम्भी बन्ने शासकको पतन अवश्यम्भावी छ । विनयी शासक चिरकालसम्म पूज्य हुन्छ । इतिहास र ग्रन्थको सार यही हो . . . ।" ( अप्रत्यासित आँधी, पृष्ठ १६७ )
परम्परा विपरीत नवीन कथानक र पात्रको ढाँचामा ‘बुढ्यौली' शीर्षकको कथामा निरिह पशुहरूको पीडाको आवाजलाई मुखरित गर्दै पशुअधिकारको वकालत गरिएको छ । यसले कथाको विषयवस्तुको परम्परागत परिधिलाई भत्काउँदै नवीन कथामूल्यलाई स्थापित गरेको देख्न सकिन्छ ।
‘छक्क, खुसी र खिन्न' शीर्षकको कथामा बालबालिकाको चकचकेपन स्वाभाविक र प्राकृतिक भएकाले त्यसलाई समयको गतिशीलताले आफैँ बुद्धिमानी बनाउने विचारलाई प्रस्तुत गरिएको छ भने ‘शैक्षिक भ्रमण' कथाले गरिब बालबालिकाप्रतिको संरक्षण भावले शिक्षक - शिक्षिका बुबाआमा समान पूज्य बन्ने भावलाई अङ्गालिएको छ ।
सन्तानोत्पत्तिको पौराणिक आधारमा टेकेर कथा रचना गरिएको ‘एक जोडा धमिला आँखा'ले सामाजिक अन्ध परम्पराका विरुद्धमा बुलन्द आवाज घन्काउँदै नारी स्वतन्त्रता र अस्तित्वको लडाइँलाई स्थापित गर्ने दुस्साहस कथाकारले गरेका छन् ।
“मैले आफ्नै कोखबाट जन्माएँ। आखिर के बिराएँ ? महाभारतका कुन्ती र माद्रीले पनि त परपुरुषकै कृपाबाट मातृत्व ग्रहण गरेका थिए। कुन्ती र माद्रीलाई हाम्रो शास्त्रले कहिल्यै नराम्रो भनेको छैन । त्यो उनीहरूको बाध्यता थियो, मेरो जस्तै ।" ( एक जोडा धमिला आँखा, पृष्ठ:८५)
निष्कर्ष:
यसरी ‘मखमली सपना' नवीन विषयवस्तुको खोजी र प्रस्तुतीकरणको सरलताले उच्चकोटीको कथा सङ्ग्रह बनेको छ । विविध विषय, पात्र, स्थान र परिवेशलाई मसिनो गरी कसिलोसँग बाँधेर आदि,मध्य अन्त्यको ढाँचमा प्रस्तुत गर्ने कथा शिल्प यसमा बेजोड रहेको छ । बिम्ब, प्रतीक तथा उपमा र रूपक अलङ्कारको प्रयोगले भाषामा सौन्दर्य परिपुष्ट बनेर कथाभरि पोखिएको छ । नारी जातिका कोमल सपना, भिन्नता र वाध्यतालाई मनोविश्लेषण गर्दै उनीहरूका सीमान्त विचारलाई कथामा मुख्य स्थान दिइएको छ । कथामा महिला पात्रलाई परम्पराभन्दा भिन्न रूपमा उभ्याएर उनीहरूका समस्यालाई मसिनो गरी व्याख्या विश्लेषण गरी समाधानपूर्ण दृष्टिकोण खोज्न कथाकार सफल बनेका छन् ।
प्रमुख सन्दर्भग्रन्थ विवरण :
१. एटम नेत्र, समालोचनाको स्वरूप, साझा प्रकाशन ( पुलचोक, ललितपुर वि. सं. २०६१)
२. कँडेल घनश्याम, नेपाली समालोचना, साझा प्रकाशन ( पुलचोक, ललितपुर वि. सं. २०५५)
३. त्रिपाठी वासुदेव,पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा, भाग - २,अद्वैत अफसेट प्रेस, (काठमाडौँ वि. सं. २०५८ )
४. शर्मा मोहनराज,श्रेष्ठ दयाराम,नेपाली साहित्यको संक्षिप्त इतिहास, साझा प्रकाशन (पुलचोक, ललितपुर वि. सं. २०६३ )
५. श्रेष्ठ दयाराम,नेपाली कथा, भाग - ४,साझा प्रकाशन (पुलचोक, ललितपुर वि. सं. २०५७ )
