विराटनगर । विराटनगरका क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवाजन्य खेल खेलाउने गरिएको भन्दै स्थानीय युवाहरूले होटेल अगाडि विरोध प्रदर्शन गरेका छन्।
विराटनगर महानगरपालिका–९ का युवाहरूले च्याम्पियन क्यासिनो र रत्न होटलस्थित गोल्डेन क्यासिनोअगाडि धर्ना दिँदै नेपाली नागरिकको प्रवेश तत्काल रोक्न प्रशासनसँग माग गरेका हुन्।

स्थानीय युवाहरूका अनुसार क्यासिनोमा रातिको समयमा नेपाली नागरिकलाई प्रवेश गराई लाखौँ रुपैयाँ जुवाजन्य खेलमा खर्च गराउने गरिएको छ। यसले विशेषगरी युवाहरूमा जुवाको लत बढ्दै गएको र कतिपयको पारिवारिक तथा आर्थिक अवस्था नै कमजोर बन्ने जोखिम रहेको उनीहरूको भनाइ छ।

उनीहरूले बिहानैदेखि समेत क्यासिनो सञ्चालन भइरहेको र नेपाली युवाहरू जुवाजन्य खेलमा संलग्न हुने गरेको आरोप लगाएका छन्। यस्तो गतिविधिले नेपाली युवाको भविष्यमा नकारात्मक असर पार्ने भन्दै सम्बन्धित होटल व्यवस्थापन र प्रशासनले तत्काल ध्यान दिनुपर्ने उनीहरूको माग छ।

स्थानीय युवा चन्दन शाहका अनुसार होटल व्यवस्थापन पक्षको ध्यानाकर्षण गराउने उद्देश्यले युवाहरूले प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। नेपाली युवाको जीवन र भविष्यसँग खेलवाड गर्ने गतिविधि स्वीकार्य नहुने भन्दै उनले क्यासिनोमा नेपाली नागरिकको प्रवेश निषेध गर्नुपर्ने बताए।
प्रदर्शनमा सहभागी युवाहरूले प्रशासनलाई क्यासिनोमाथि कडा निगरानी राख्न र नेपाली नागरिकलाई प्रवेश गराउने गतिविधि तत्काल नियन्त्रण गर्न आग्रह गरेका छन्।