सप्तरङ्गी वास्केटवल क्लवको आयोजनामा भएको प्रथम खुल्ला अन्तर क्लव सप्तरङ्गी बास्केटवल प्रतियोगिताको उपाधि धरान १९ स्थित स्ट्याग बास्केटवल टिमले चुमेको छ । स्ट्यागले फाइनल खेलमा धरान १७ होराइजनलाई ४०–३७ अंकको अन्तरले पराजित गरेको हो । जित संगै स्ट्यागले नगद १५ हजार सहित ट्रफि र प्रमाण पत्र हात पारे । उपविजेताले नगद ८ हजार, ट्रफि र प्रमाण पत्रमा चित्त वुझाउनु पर्यो । प्रतिश्पर्धात्मक खेलमा स्ट्याग र होराइजनले प्रत्येक क्वाटरमा ११–७, ६–८, १२–७, र ११–१५ अंक जोडेका थिए । होराइजनका टिम क्याप्टन हेमन राईले व्यक्तिगत २४ अंक जोडे पनि आफ्नो टिमलाई जित दिलाउन पर्याप्त भएन । स्ट्यागको तर्फ वाट प्रतियोगिताको मोस्ट भ्यालुएवल प्लेयर विवेक श्रेष्ठले १७ अंक जोडेका थिए । उनलाई उत्कृष्ट खेलाडिको ट्रफि सहित नगद एक हजार ५ सय रुपैया प्रदान गरिएको थियो । त्यस्तै गरि उदयमान खेलाडि आयोजक सप्तरङ्गी क्लवका विधान राई घोषित भए । उनले ट्रफि , प्रमाण पत्र र नगद एक हजार रुपैया प्राप्त गरेका छन । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथी सुनसरी क्षेत्र न. १ का माननीय सांसद कृष्णकुमार राई, विशेष अतिथी नेपाल बास्केटवल संघका उपाध्यक्ष सुरजकुमार लामा, सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनप्रसाद राई, सुलभ वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अर्जुनकृष्ण श्रेष्ठ, सेपाक टेक्रो संघ सुनसरीका अध्यक्ष विरेन्द्रविक्रम लिम्वुले पुरस्कार वितरण गरेका थिए । जेष्ठ २७ देखि ३० गते सम्म संपन्न प्रतियोगितामा पूवाञ्चल भरिका १३ टिमले सहभागिता जनाएको प्रतियोगिता संयोजक तथा पुवाञ्चल प्रशिक्षक विकास चाम्लिङ राइले जानकारी गराए ।।