कप्तान लियोनल मेस्सीले दुई गोल गरेपछि स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ । शनिबार राति भएको खेलमा मेस्सीप्रेणित बार्सिलोनाले अलाभेसलाई २–० ले पराजित गरेको हो ।
अलाभेसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले जित निकाल्न भने निकै संघर्ष गर्नु परेको थियो । पहिलो हाफमा पाएको पेनाल्टीमा गोल गर्न नसकेपछि बार्सिलोना दबाबमा आएको थियो । खेलको ३९ औं मिनेटमा कप्तान मेस्सीले पेनाल्टीमा गोल गर्न नसकेपछि पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा नायक बनेका मेस्सीले नै दुई गोल गरेपछि बार्सिलोनाले ३ अंक जोडेको हो ।
बार्सिलोनालाई जित दिलाउन मेस्सीले ५५ औं मिनेटमा पहिलो गोल गरेका थिए । उनले जोर्डी अल्बाको पासमा गोल गरेका हुन् । खेलको ६६ औं मिनेटमा ब्यतिगत दोस्रो गोल गर्दै मेस्सीले बार्सिलोनाको अग्रता दोब्बर बनाए । उनले फ्रान्सिस्कोको पासमा दोस्रो गोल गरेका थिए । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन र खेल बार्सिलोनाले आफ्नो बनायो ।
जितसँगै बार्सिलोनाले २ खेलबाट ६ अंक जोडेको छ । बार्सिलोना लिगको दोस्रो स्थानमा छ । शनिबार राती नै भिल्ला रियललाई ३ – ० ले पराजित गरेको रियल सोसिडाड समान ६ अंकसहित शिर्ष स्थानमा छ । रियल गोल अन्तरमा बार्सिलोनाभन्दा अघि रहेको हो ।