शरद गौचनको हत्यामा संलग्न रहेको अभियोगमा पाँच जना पक्राउ

<span class='c1'>शरद गौचनको हत्यामा संलग्न रहेको</span> <span class='c2'>अभियोगमा पाँच जना पक्राउ</span>

देवबहादुर कुँवर
काठमाडौंँ, कात्तिक २९ गते ।  निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरद गौचनको हत्यामा संलग्न रहेको अभियोगमा नेपाल प्रहरीको विशेष अनुसन्धान टोलीले पाँच जनालाई पक्राउ गरेको छ ।  अध्यक्ष गौचनको असोज २३ गते शान्तिनगरमा गोली प्रहार गरी हत्या भएको थियो ।
गौचनको हत्यामा १३ जना संलग्न भएको दाबी गर्दै त्यसमध्ये पक्राउ परेका पाँच जनालाई प्रहरीले मङ्गलबार सार्वजनिक गरेको हो ।  सार्वजनिक गरिएका अभियुक्तमध्ये नुवाकोट पञ्चकन्या–५ का २१ वर्षीय राजु स्याङ्ताङ अध्यक्ष गौचनमाथि गोली प्रहार गर्ने मुख्य ‘सुटर’ भएको प्रहरीको दाबी छ ।  त्यस्तै, पर्सा कालिकामाई–१ का ३५ वर्षीय शिवजी महतोले हतियार तथा मोटरसाइकल, पर्सा ठोरीका १८ वर्षीय सन्तोष गुरुङले अर्को मोटरसाइकल, भारत बेतिया चौवेटोल बिहारका २४ वर्षीय मुकेशकुमार पाण्डेले हतियार र काठमाडौँ नागार्जुनका २२ वर्षीय प्रकाश बुढाथोकीले समन्वयकारी भूमिका निर्वाह गरेको प्रहरीले जानकारी दिएको छ ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) जयबहादुर चन्दले गौचनको हत्याका लागि आपराधिक समूहले महिना दिनदेखि योजनाबद्ध ढङ्गले निगरानी राखेको जानकारी दिनुभयो ।
भारतीय नागरिक शिवजीले भारतमा ५५ हजार रुपियाँमा पेस्तोल खरिद गरेर श्यामबहादुर गुम्बे गुरुङलाई ६५ हजारमा बिक्री गरेका थिए भने उनैले भारतबाट चोरीको साइन मोटरसाइकल पनि २४ हजारमा गुम्बेलाई बिक्री गरेका थिए ।  त्यही मोटरसाइकलमा बा ३५ प २४६१ नम्बरको नक्कली नम्बर प्लेट टाँसेर गौचनको हत्यामा प्रयोग गरिएको दाबी प्रहरीले गरेको छ ।  एआईजी चन्दले गौचन हत्यामा दुईटा मोटरसाइकल र दुईवटा हतियार प्रयोग भएको जानकारी दिनुभयो ।  प्रहरी विधिविज्ञान प्रयोगशालाले गौचनको हत्यामा दुई वटा हतियारबाट दुई छुट्टा÷छुट्टै गोली प्रहार भएको जानकारी दिएको छ ।

प्रहरीले समीरमानसिंह बस्नेत, मनोज पुन र लोप्साङ लामा गौचन हत्याका मुख्य योजनाकार भएको दाबी गरेको छ ।  उनीहरूको योजनामा पक्राउ परेका व्यक्तिहरू परिचालित भएको दाबी पनि प्रहरीले गरेको छ ।  बस्नेत, पुन र लामा अहिले पनि छिमेकी मुलुकमा लुकेर बसेको प्रहरीले जानकारी दिएकोे छ ।  प्रहरीले गौचन हत्याको छानबिन गर्न महानगरीय प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) गणेश केसीको संयोजकत्वमा अनुसन्धान टोली बनाएको थियो ।  डीआईजी केसीले बस्नेत र पुन गौचन हत्याको योजनाकार भएको दाबी गर्दै उनीहरू पनि छिट्टै पक्राउ पर्ने जानकारी दिनुभयो ।

प्रहरीले काठमाडौँ वाफलका बस्नेत, भैरहवा खैरानीका पुन, सिन्धुपाल्चोक लिपिङका लामा, बोका भन्ने गङ्गा लिङ्देन (लिम्बु), श्यामबहादुर गुम्बे गुरुङ, काले दाइ भन्ने अम्बर राना, रोशन बुढाथोकी र अजय थापा लगायत आठ जना फरार रहेको जानकारी दिएको छ ।
यही समूहले यसअघि युवा सङ्घ रूपन्देहीका जिल्ला अध्यक्ष दुर्गा तिवारीको भैरहवामा हत्या गर्नुका साथै बौद्ध नयाँ बस्तीमा दावा लामामाथि गोली प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।  फरार गुम्बे र काले दाइ नेपाली सेनाका भगौडा कर्मचारी भएको प्रहरीले जानकारी दिएको छ ।  गौचनमाथि गोली चलाउने सुटर स्याङ्ताङलाई प्रहरीले घटनाको दिन लगाएकै टिसर्टमा पक्राउ गरेको छ ।  गौचनमाथि गोली प्रहार गरिसकेपछि मोटरसाइकल चढेर सिनामङ्गलतर्फ भागेका स्याङ्ताङले ज्याकेट र टोपी बीच बाटोमा फालेर हुलिया परिवर्तन गरेका थिए ।
हत्याको मुख्य कारण पैसा  
डीआईजी केसीको संयोजकत्वमा गठित सात सदस्यीय अनुसन्धान टोलीले गौचनको हत्या हुनुको मुख्य कारण पैसा भएको जनाएको छ ।  बस्नेत र पुनको समूहले गौचनसँग करिब वर्ष दिनदेखि निरन्तर पैसा माग गर्दै आएका थिए ।
कतिपय समयमा उहाँले रकम दिएको पनि देखिन्छ ।  तर, पछिल्लो समयमा सम्पूर्ण निर्माण व्यवसायीहरूसंँग रकम मागेर एकमुष्ट बुझाउन गौचनलाई दबाब थियो ।  अनुसन्धानमा संलग्न अधिकारीका अनुसार गौचनले अस्वीकार गरेपछि हत्या भएको हो ।  अध्यक्ष गौचनले धम्की आएको कुरा परिवारमाझ गरे पनि प्रहरीसम्म भने आइपुगेको थिएन ।
सीसीटीभीले दिएको सफलता
हतियारधारी समूहले सुरुमा गौचनको गाडी अगाडि मोटरसाइकल तेस्र्याएर बाटो छेकेका थिए ।  एउटा मोटरसाइकलले गाडीको बाटो छेके पनि गोली भने दुइटै मोटरसाइकलको पछाडि बस्नेले नै प्रहार गरेको प्रहरीको दाबी छ ।  गोली प्रहार गरिसकेपछि पनि उनीहरू सँंगसँंगै मोटरसाइकल चलाएर भागेका थिए ।  सिनामङ्गलक्षेत्रमा जडान गरिएको दुई सीसी क्यामेरामा कैद भएको फरक–फरक दृश्यले हत्याराको हुलिया खुलेको थियो ।  एक मिनेट अगाडि ज्याकेट तथा टोपी लगाएको व्यक्ति केही समयपछि अर्को सीसी क्यामेरामा टिसर्टमा देखापरेपछि प्रहरीले सोही दृश्यबाट अनुसन्धान सुरु गरेको थियो ।
समिरमान र गौचन सम्बन्ध
काठमाडौँका कलङ्की–सिफल क्षेत्रमा टोले गुन्डागर्दी गर्दै आएका बस्नेत ठेक्का पट्टा व्यवसायका क्रममा सामाखुसीका कुमार घैटेसँंग नजिकिन पुगेका थिए ।  बस्नेतले केही समय घैँटे सञ्चालक रहेको गजुरमुखी निर्माण कम्पनीमा सहयोगी बनेर काम गरेका थिए ।  घैँटेले नै बस्नेत र गौचनबीच चिनजान गराएका थिए ।  गुन्डा नाइके घैँटे मारिएपछि बस्नेत भारत पलायन भएका थिए ।  विदेशको बसाइ खर्चिलो हुन थालेपछि बस्नेतले गौचनसँंग घरखर्च भन्दै महिनावारी रकम माग्दै आएका थिए ।  गौचन महासङ्घको अध्यक्षमा निर्वाचित भएपछि रकम दिन बन्द गरी बस्नेतको फोन समेत उठाउन छाडेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्