काठमाडौं । सरकारले विद्यालय भवनको रंग फरकफरक भएको भन्दै एकै रंगको बनाउन निर्देशन जारी गरेको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा विभागले सबै विद्यालयको रंग पहेंलो बनाउन निर्देशन दिएको हो । विभागले सबै जिल्ला शिक्षा कार्यालयहरुलाई परिपत्र गर्दै विद्यालयका संरचनाको रंग पहेंलो बनाउन निर्देशन दिएको छ ।
भवनको रंगका साथै छाना, झ्यालढोका आदिका लागि पनि मापदण्ड तोकिएको छ । भवनको छाना रातो रंगको टेराकोटा टाइल वा स्लेट हुनुपर्नेछ भने झ्यालढोकाको चौकोस तथा खापा सेतो वा गाढा खैरो हुनुपर्नेछ ।
कक्षा कोठाको भित्ता क्रिम वा आईभोरी रंगको हुनुपर्ने विभागले तयार गरेको निर्देशिकामा उल्लेख छ । सिलिङ, सभाकक्ष, करिडोर र भर्याङको भित्ताको माथिल्लो भागमा भने सेतो रंग लगाउनु पर्नेछ ।
सरकारले यसअघि विद्यालयका बस पनि पहेंलो रंगको हुनुपर्ने नियम बनाए पनि त्यसको पूर्ण कार्यान्वयन भएको छैन ।