विराटनगर, २० चैत ।
घरेलु मैदानमा आयोजक रिजालको मोरङ ११ लाई निराश बनाउँदै रमपम झापा ११ विराट गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । झापा २०७१ को विराट गोल्डकप विजेता टिम पनि हो ।
विराटनगर स्थित सहिद रंगशालामा सोमबार भएको खेलमा मोरङको चुनौती ५–३ गोल अन्तरले पन्छाउँदै छिमेकी टिम झापा सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतिष्प्रधात्मक खेलमा दर्शकको भरपुर समर्थन बटुलेको मोरङले सुरुवाती अग्रता लिए पनि अन्तिम समयसम्म सम्हालिन नसक्दा नतिजा कटारी गोल्डकप विजेता झापाको पक्षमा गएको हो । खेलको निर्धारित समय ३–३ गोलको बराबरीमा सकिएको थियो । थप गरिएको ३० मिनेटको समयमा पनि दुबै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको हो । टाईब्रेकरमा झापाका कप्तान योगेश गुरुङ, विश्वास श्रेष्ठ, छिरिङ गुरुङ, देवेन्द्र तामाङ र माइकल लाइजेलले गोल गरे । मोरङका तर्फबाट कप्तान दिपक राई, अशोक खवास र बुद्धिमान राईको प्रहारले मात्रै जाली चुम्यो । साईमान लिम्बूको प्रहार बाहिरिंदा मोरङ स्तब्ध बन्न पुग्यो ।
यस्तो थियो खेल
खेलको २१ औं मिनेटमा कप्तान दिपक राईले डिबक्स लाइन नजिकैबाट गरेको फ्रिकिक प्रहारले जाली चुम्दा मोरङले अग्रता लिएको थियो । झापाका पुजन उपकोटीले बुद्धिमान राईलाई फउल गरेपछि मोरङले यो अवसर पाउँदा झापा दवावमा प¥यो । त्यसको सात मिनेट पनि वित्न नपाउँदै मोरङले अग्रता दोब्बर बनायो । २८ औं मिनेटमा निशान लिम्बूको क्रस पासमा निरज बस्नेतले डिबक्स भित्रबाट गरेको हेड प्रहारले पोष्टको दिशा लिंदा खेल २–० अन्तरमा पुग्यो । मोरङका सुशील राईसंग जुध्दा झापाका डिफेन्स दिलेन लोक्ताम घाइते भए । टाउकोमा चोट लागेपछि उनलाई मैदानबाटै उपचारका लागि विराट नर्सिङ होम पठाइयो । उनका ठाउँमा छिरिङ गुरुङ प्रवेश गरे । मुख्य डिफेन्स नै घाइते भएको मौका छोपेर मोरङले झापामाथि २–० को अग्रता बनाउन सकेको हो ।
३१ औं मिनेटमा झापाका अफ्रिकन खेलाडी माइकल लाइजेलको क्रस पासमा कर्ण लिम्बूले विपक्षी डिफेन्सलाई विट गर्दै प्रहार गरेको बलले जाली चुमेपछि खेल २–१ को अवस्थामा आयो । पहिलो हाफ २–१ को अवस्थामा गुज्रियो ।
५० औं मिनेटमा मोरङले आत्माघाती गोलको उपहार पाएपछि झापा थप दवावमा प¥यो । निशान लिम्बूको प्रहारलाई क्लियर गर्न खोज्दा झापाका मुफ्ता लावलले मोरङलाई आत्माघाती गोलको उपहार दिएपछि खेल ३–१ मा आइपुग्यो । ५८ औं मिनेटमा झापाले गोल फर्काउँदै खेललाई ३–२ को अवस्थामा ल्यायो । विश्वास श्रेष्ठको फ्रिकिकमा माइकल लाइजेलले हेड गर्दै उत्कृष्ट ढंगबाट गोल गरेर झापालाई आशा दिलाए ।
खेल सकिन दुई मिनेट मात्रै बाँकी छँदा झापाले खेललाई ३–३ को बराबरीमा ल्याउन सक्यो । ८८ औं मिनेटमा छिरिङ गुरुङको लङपासमा अवुवकर याकुवले विपक्षी गोल रक्षक सूर्य अधिकारीलाई विट गर्दै हेडमार्फत गोल गर्दा झापा खेलमा फर्कियो । त्यस लगत्तै मोरङ १० खेलाडीमा सिमित बन्यो । डिबक्स भित्र विपक्षी खेलाडीलाई कुटेको भन्दै रेफ्री श्रवण लामाले मोरङका डिफेन्स निरज बस्नेतलाई रातो कार्ड दिएपछि मोरङ १० खेलाडीमा खुम्चिन पुग्यो । तर पनि झापाले थप गरिएको ३० मिनेटको समयमा मोरङ विरुद्ध गोल गर्न सकेन ।
गोल गर्नका लागि पाएका पाँचवटा सुन्दर अवसरलाई खेर फाल्दा मोरङ नतिजा छिमेकी टिमलाई सुम्पन बाध्य भयो । अतिरिक्त समयको २२ औं मिनेटमा भुवन बस्नेतको काउन्टर एट्याक पोलमा लागेर फर्कनु मोरङका लागि दुर्भाग्यपूर्ण बन्यो । झापाले पनि गोल गर्नका लागि पाएका चारवटा राम्रा अवसरको सदुपयोग गर्न सकेन ।
मोरङका प्रशिक्षक पारश चौधरीले लाइन्स मेनको गलत निर्णयका कारण हार भएको बताए । खेलाडीले चित्त बुझ्दो र उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिम समयमा लय गुमाउँदा पराजय भोग्नु परेको बताए । ‘अन्तिम समयमा सम्हालिन नसक्दा हार भयो,’ चौधरीले भने, ‘हारको अर्को मुख्य कारण लाइन्स मेनको गलत निर्णय पनि हो ।’
झापाका प्रशिक्षक प्रवेश कटवालले पहिलो पटक फ्लडलाइटमा रात्रिकालीन खेल खेल्नु पर्दा खेलाडीलाई समस्या भएको बताए । ‘हाम्र खेलाडीलाई मैदान नौलो भएकाले पनि समस्या हुन गयो,’ उनले भने, ‘त्यही भएर नजिजा हात पार्न निक्कै संघर्ष गर्नु प¥यो ।’ यस अघिका प्रतियोगितामा पनि झापाले मोरङमाथि जित हात पार्दै आएको थियो । खेलको म्यानअफ दी म्याच झापाका अवुवकर याकुव घोषित भए । मंगलबारको खेलमा संकटा क्लब र सशस्त्र प्रहरी बल काठमाडौंबीच प्रतिष्पर्धा हुने छ ।