काठमाडौं, जेठ १४ । सरकारले देशका विभिन्न जेलमा रहेका ५ सयभन्दा बढी कैदीलाई आममाफी दिने निर्णय गरेको छ ।
गणतन्त्र दिवसको दिन सरकारले ५ सयभन्दा बढी कैदीलाई आममाफी दिने निर्णय गरेको हो ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्ताव अनुसार नेपालको संविधानको धारा २७६ अनुसार माफी दिन राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको हो ।
संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिन माफी, मुल्तबी, परिवर्तन वा कम गर्न सक्ने उल्लेख छ ।
माफीको सूचीमा तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेलको पनि नाम रहेको भए पनि यस विषयमा सर्वोच्च अदालतमा मुद्दा परेको र अदालतले सरकारका नाममा कारण देखाऊ आदेशसमेत जारी गरिसकेको हुनाले अदालतकै निर्णयमा माफी हुने नहुने टुंगो लाग्नेछ ।
मन्त्रिपरिषद्को हिजोको बैठकले यस्तो निर्णय गरेको भए पनि सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले यो निर्णय सार्वजनिक गरेनन् ।