बिराटनगर जेठ २४ , बिराटनगरका पत्रकार अभय राइले बुधबार बेलुका आफ्नो फेसबुकमा यस्तो स्टाटस लेखे "महानगर विराटनगरले कृपया मुख्य सडक, ट्राफिक चोकदेखि गोल्छा मोडसम्मका यस्ता स्लाब हेरिदिए हुने। बजार अाउने मानिसहरू दैनिक यस्ता धरापमा परिरहेकाछन्। यसलाई ब्यवस्थित गर्न के गर्नुपर्ला सोचिदिने कि?"
उक्त स्टाटसंगै उनले सडक छेउमा रहेका स्लाब जो फुटेर पैदलयात्रीको निम्ति धराप बनिरहेको छ भने वातावरणको लागि पनि प्रतिकूल असर गर्न सक्ने अनुमान लगाउन सकिन्छ त्यसको तस्बिर समेत पोस्ट गरेका छन् । बिराटनगर महानगरपालिकाको मुख्य बजार तथा सबैभन्दा बढी जनमानस ओहरदोहर गर्ने उक्त सडकपेटीमा फुटेका स्लाबले दुर्घटना मात्रै निम्त्याएको छैन शहरको सुन्दरतामा पनि खोट लगाएको छ ।
उक्त स्लाबहरु केहि दिन या हप्ता अघि मात्रै फुटेका हैनन् , यी सडकमा स्लाबहरुको दुर्दशा बर्षौ देखि यस्तै रहेको बिराटनगरका बासिन्दालाई राम्रोसंग थाहा छ तर बिराटनगर महानगरपालिकाले यता ध्यान नदिएको पाइएको छ। हरेक दिन उक्त स्लाबहरुले दुर्घटना बढाइरहेको छ , सहरको सुन्दरता तथा वातावरणमा पनि असर गरिरहेको छ । ट्राफिक चोकदेखि गोल्छा मोडसम्मका स्लाब मात्रै हैन बिराटनगर महानगरपालिका भित्रका अन्य ठाउँमा पनि सडक छेउका स्लाबको अवस्था यस्तै रहेको जनगुनासो यसअघि पनि हामीले आवर बिराटनगरमा राखेका थियौ । बिराटनगर महानगरपालिकाको ध्यान यस्तर्फ कुनै अप्रिय दुर्घटना नघटी जानेछ भन्ने हामीले अपेक्षा राखेका छौ ।