काठमाडौं, जेठ २७ । संसदमा आजबाट आर्थिक वर्ष २०७५/७६ को बजेटमा मन्त्रालयगत शीर्षकमा छलफल गरिँदैछ ।
बिहान ११ बजेदेखि बस्ने प्रतिनिधिसभाको बैठकमा मन्त्रालयहरुलाई विनियोजन गरिएको बजेटमाथि छलफल हुनेछ ।
आज सञ्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि भूमि व्यवस्था तथा सहकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको बजेटमा छलफल हुने संसद सचिवालयको कार्यसूचीमा छ ।
असार १ गतेसम्ममा छलफल सकाएर विभागीय मन्त्रीहरुले जवाफ दिने तयारी गरिएको छ । त्यसपछि बल्ल बजेट पारित हुने जनाइएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ १५ गते १३ खर्ब १५ अर्ब १६ करोड १७ लाखको बजेट संघीय संसदमा पेश गरेका थिए ।
आजैको राष्ट्रिय सभा बैठकबाट भने राष्ट्रिय सभा सञ्चालनको नियमावली पारित गराइदैछ । प्रतिनिधि सभाले गत शुक्रवार नै नियमावली पारित गरेको थियो ।
नियमावलीमा गम्भिर प्रकृतीका फौजदारी अभियोग लागेपनि सांसद पद निलम्बन नहुने प्रावधान राखिएको छ ।