नेपालमा पनि अब ‘सिग्नेचर पुल’ बन्ने

<span class='c1'>नेपालमा पनि अब</span> <span class='c2'>‘सिग्नेचर पुल’ बन्ने</span>

भउचप्रसाद यादव

काठमाडौँ, साउन २६ गते । नेपालका अधिकांश पुल परम्परागत शैलीका छन् । तर नेपालमा पनि मौलिक संस्कृति, रहनसहन झल्कने गरी निर्माण गरिने विशेष खालका ‘सिग्नेचर पुल’ निर्माणको थालनी छिट्टै हुने भएको छ ।
यस्ता पुलको निर्माणले देशको सडक यातायातलाई थप सहज र सुलभ हुनुका साथै पर्यटन प्रवद्र्धन गर्न समेत मद्दत पुग्ने विश्वास गरिएको छ । यस्ता पुल नेपालमा पहिलो पटक निर्माण हुन लागेको हो ।
देशका विभिन्न भागमा निर्माण हुन लागेको यस्ता १० वटा पुलका लागि विश्व बैङ्कले आर्थिक सहयोग दिन लागेको र त्यसलाई अन्तिम रुपम दिन भदौ ५ गते काठमाडौँमा विश्व बैङ्क र नेपालका अधिकारीहरूबीच बैठक हुन लागेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको पुल महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले जानकारी दिनुभयो ।
महाशाखा प्रमुख थापाका अनुसार, चितवनको नारायणी, रुपन्देहीको तिनाउ, झापाको रतुवा, सर्लाहीको वागमती, मकवानपुरको राप्ती, काठमाडौँको तिलगङ्गास्थित वाग्मती, काठमाडौँको टेकूस्थित विष्णुमती र पोखराको विजयपुरस्थित सेती नदीमा ‘सिग्नेचर पुल’ निर्माणको तयारी भइरहेको छ ।

विश्व बैङ्कको सहयोगमा ‘सिग्नेचर पुल’ निर्माण गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा प्रस्तुत गरिएको तथा मन्त्रिपरिषद्बाट विश्व बैङ्कसँग वार्ता गर्न वार्ता टोली गठन गर्न अर्थ मन्त्रालयलाई यसअघि नै निर्देशन भइसकेको जानकारी समेत महाशाखा प्रमुख थापाले दिनुभयो ।
मन्त्रिपरिषद्को निर्देशनबमोजिम गठित वार्ता टोलीमा अर्थ मन्त्रालय वैदेशिक सहयोग महाशाखाका सहसचिव, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका प्रतिनिधि, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि र महालेखा नियन्त्रकको कार्यालयका प्रतिनिधि रहेको जानकारीसमेत उहाँले दिनुभयो ।
वार्तामा विश्व बैङ्कबाट प्राप्त हुने सहयोग राशि, सहयोगको प्रकृति, व्याज दर, सहयोगको समयावधि लगायतको विषयमा अन्तिम निर्णयमा पुगिने उहाँले बताउनुभयो ।
“वार्तापछि विश्व बैङ्कसँग सम्झौता हुनेछ र निर्माण प्रक्रियालाई अगाडि बढाइने छ” उहाँले भन्नुभयो । सहयोग सम्झौतासम्बन्धी पहिलो पत्र सडक विभागले विश्व बैङ्कलाई पठाइसकेको जानकारी समेत उहाँले दिनुभयो । ‘सिग्नेचर पुल’ निर्माणका लागि चालु आर्थिक वर्षको बजेटमा ७० करोड रुपियाँ विनियोजन गरिएको छ ।
‘सिग्नेचर पुल’ निर्माणको डिजाइन तथा प्राविधिक तयारी समेत भइरहेको जानकारी दिदै उहाँले ‘सिग्नेचर पुल’ को निर्माण लागत अन्य साधारण पुलको भन्दा महंगो हुने गरेको बताउनुभयो ।
महेन्द्र राजमार्गमा निर्माण गरिने ‘सिग्नेचर पुल’ चार लेनको तथा बाँकी पुल दुई लेनको हुने जानकारी समेत उहाँले दिनुभयोे । सडक विभागले नेपालमै पहिलो पटक बानेश्वर र बबरमहल जोड्ने धोवीखोलामा ‘आर्क ब्रिज’ निर्माण गरिरहेको छ ।
‘सिग्नेचर पुल’ को डिजाइन तथा निर्माणमा सघाउनका लागि सडक विभागले विश्व विख्यात चिनियाँ डिजाइनर प्रा.डा. डिउई चेनलाई मासिक १८ लाख रुपियाँ पारिश्रमिक दिएर कन्सल्ट्यान्ट नियुक्त गरिसकेको पुल महाशाखाले जनाएको छ ।
डिउईले नेपाल बसेर ‘सिग्नेचर पुल’ को डिजाइन निर्माण गर्नुका साथै नेपाली इञ्जिनियरलाई सो सीप समेत हस्तान्तरण गर्नेछन् । डिउईको डिजाइनमा यसअघि भारत, श्रीलङ्कालगायत विश्वका विभिन्न देशमा ‘सिग्नेचर पुल’ निर्माण भइसकेका छन् ।
के हो ‘सिग्नेचर पुल ?’
सिग्नेचर पुलहरू सामान्य संरचनाभन्दा भिन्न हुन्छन् । यस्ता पुलहरूकै कारणले कुनै सहर वा ठाउँलाई परिचित बनाउँछ । यस्ता पुलको निर्माण लागत अन्य पुलको भन्दा बढी हुन्छ र ती पुलहरू गुणस्तर, सौन्दर्य, कलाकारिता र सञ्चालनका दृष्टिले अरु पुलहरू भन्दा भिन्न हुन्छन् ।
पर्यटकीय दृष्टिकोणले समेत अन्य सामान्य पुलभन्दा ‘सिग्नेचर पुल’ को डिजाइन फरक तथा आकर्षक हुने गर्दछन् । यस प्रकारको पुलको डिजाइन स्थानीय धर्म, संस्कृति र रहनसहन झल्किने गरी गरिएको हुन्छ । दायाँबायाँ फुटपाथ हुने यस प्रकारको पुलको डिजाइन पैदल यात्रुले पुलमा बसेर वरिपरिको दृश्यावलोकन गर्न तथा तस्बिर खिच्न सक्ने गरी गरिएको हुन्छ ।
नारायणीमा पनि सिग्नेचर पुल
महाशाखा प्रमुख थापाका अनुसार नारायणी नदीमा अहिलेको पुलसँग जोडेर चारसय मिटर लामो ‘सिग्नेचर पुल’ निर्माण गरिने छ । विश्व बैङ्कसँगको सम्झौतापछि पाँच वर्षभित्र नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माण भइसक्ने जानकारी उहाँले दिनुभयो ।
विक्रम सम्बत् २०३८ सालमा नारायणी नदीमा निर्माण भएको अहिलेको पुलको आयु ७० वर्ष तोकिएको छ । अब बन्ने पुलको आयु कम्तिमा सय वर्ष हुने पुल महाशाखाले जनाएको छ । २०३८ सालअघि नारायणी नदीमा फेरीको सहायताले यातायातका साधन वारपार गराइन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्