विराटनगरको शैक्षिक, सामाजिक, साहित्यिक, सांस्कृतिक, औद्योगिक, व्यापारिक र देशकै राजनीतिक उन्नति र प्रगतिका सन्दर्भमा कोइराला निवासको अहंम भुमिका रहेको पाइन्छ । जसका सुत्रधार थिए पिताजी कृष्णप्रसाद कोइराला ।
वि.सं. १९३६ मा दुम्जामा जन्मेर १५/१६ वर्षको उमेरमा मोरङको त्यो समयको सदरमुकाम रङ्गेलीमा आएका कोइराला तत्कालीन बडाहाकिम र केही प्रतिष्ठित नागरिकहरुको सहयोग लिएर वि.सं.१९७१ मा मोरङको सदरमुकाम विराटनगर सार्न सफल भएपछि विराटनगरमा उद्योगी गोला स्थापना गरेर सहकारी का हिसाबले भारतसँग व्यापार व्यवसाय गर्न सफल भए । भारतबाट डक्टर र मास्टर ल्याएर जनतालाई स्वास्थ्य सेवा र शिक्षा सेवा दिने कार्यमा पनि सफल भए । उनले वि.सं.१९८१ मा स्थापना गरेको ‘आदर्श विद्यालय, विराटनगर’ देशकै गौरवशाली विद्यालय मानिन्छ ।
कृष्णप्रसाद कोइराला नेपाली प्रजातान्त्रिक आन्दोलनका प्रारम्भकर्ता थिए । जनताको गरिबी र दुःखदर्द देखाउन ढाक्रेका फाटेका मैला गनाउने कपडा पार्सल गरेर राजा प्राइममिनिष्टरलाई कोसेली पठाएबापत सवैस्वहरण सहित ११ वर्षसम्म प्रवासिएर भारतमा भिक्षाटन गरेर आफ्नो र परिवारको गुजारा चलाउनु परेको थियो । पछि सरकारबाट माफि पाएपछि नेपाल आएर लोकतन्त्रत्रका निमित्त संघर्ष गर्दा गर्दै वि.सं.२००१ सालमा जेल भित्रै मरेका थिए । प्रजातान्त्रिक संघर्षको प्रारम्भ उनै साहसी पुरुषबाट भएको थियो । भारतमा महात्मा गान्धीलाई ‘बापुजी’ भने जस्तै उनलाई पनि जनताले ‘पिताजी’ भनेर सम्बोधन गर्ने गरेका थिए । आजको ‘कोइराला निवास’ उनै पुरुषर्थी पुरुषको किर्तिधरोहर मानिन्छ ।
पुर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइराला उनै कृष्ण्प्रसादका जेठा छोरा हुन् । उनी नेपाली कांग्रेसका प्रथम सभापति र जनताका छोराबाट हुने पहिला प्रधानमन्त्री पनि भए । नेपाली कथा साहित्यमा चर्चित कथाकारका रुपमा चिनिएका यी प्राज्ञिक व्यक्तिको जन्म वि.सं.१९६८मा र २०५४सालमा निधन भएको थियो । आफ्नो समयमा ‘कोइराला निवास’ भित्रका प्रभावशाली व्यक्ति मानिन्थे । राजा त्रिभुवनले पनि उनलाई खुब मानेका थिए ।
कोइराला निवासका तेस्रा प्रभावशाली व्यक्ति उनै कृष्णप्रसादका अर्का छोरा विश्वेश्वरप्रसाद कोइराला (१९७१–१९३९) थिए । २०१५सालको आम निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट शक्तिशाली नेताको रुपमा चनिएर पहिलो निर्वाचित प्रधानमन्त्री बन्न सफल उनी नेपालका मात्र नभएर सोशलिष्ट आन्दोलनका विश्वकै नेता थिए । उनकै नेतृत्वमा सञ्चालित जनक्रान्तिले २००७ सालमा प्रजातन्त्रको ढोका खोलेको थियो । उनी जनतालाई नागरिक अधिकार दिलाउने आन्दोलनका नायक थिए । निरङ्कुश एकदलीय शासन व्यवस्था र त्यसका नाइके राजाहरुसँग संघर्ष गर्न सिकाउने जनताका छोरा विश्वेश्वर प्रसाद कोइराला नै थिए ।
विश्वेश्वर प्रसाद कोइराला ठुला साहित्यकार पनि थिए । उनले नेपाली साहित्यमा मनोविज्ञान र अस्तित्ववाद भित्र्याएर आधुनिक नेपाली साहित्यालाई विश्व साहित्इको समकक्षमा पुर्याए । उनका ‘दोषी चस्मा’, ‘श्वेतभैरवी’ भन्ने कथासंग्रह र 'नरेन्द्रदाइ', 'सुम्निमा', 'हिटलर र युहदि', 'मोदिआइन', 'बाबु,आमा र छोरा' जस्ता उन्यासहरु बहुचर्चित बन्न पुगेका छन् । उनकी पत्नी सुशीला कोइराला नाट्यजगतकी प्रथम नायिका र प्रथम नृत्य निर्देशिका पनि थिइन् । विराटनगरमा रंगमञ्चको काम पनि सर्वप्रथम कोइराला निवासबाटै भएको थियो ।
गिरिजाप्रसाद कोइराला (१९८१–२०६६) कृष्णप्रसाद कोइरालाका कान्छा छोरा थिए । देशबाट पञ्चायति व्यवस्था हटाएर, राजतन्त्र समाप्त गरेर लोकतन्त्र एवं गणतन्त्र स्थापना गर्ने कार्यका नायक गिरिजा प्रसाद कोइराला थिए । उनले जङ्गलमा बसेर बन्दुकको भरमा संघर्ष गर्दै रहेको माओवादी जमातलाई वार्ताको माध्यमद्वारा सडक र सदनमा ल्याएर रक्तपात रोक्ने कार्यमा सफलता प्राप्त गरे । उनी नेपालका प्रथम कार्यवाहक राष्ट्रपति र पाचौं पटकसम्म प्रधानमन्त्री बन्न सफल भए । उनका व्यक्तित्वको विकास पनि ‘कोइराला निवास’ विराटनगरबाटै भएको हो ।
नोना कोइराला (१९८५–२०६३) ‘कोइराला निवास’ भित्रकी प्रभावशाली नारी थिइन् । उनले साहसका साथ अगाडि बढ्न र योद्धाका रुपमा लड्न र भिड्न सासु दिव्या कोइरालाबाट सिकेकी थिइन् । कृष्णप्रसाद कोइरालाकी कुलबधुका रुपमा रहेकी नोना कोइरालाले आदर्श आमाका रुपमा रहेर धेरै सहिदका छोराछोरीलाई संरक्षण गर्दै सक्षम नागरिक बनाइन् । कृष्णप्रसाद–दिव्या कोइरालाले प्रारम्भ गरेको कोइराला निवासको आदर्श परम्परा जीवन पर्यन्त धान्न सफल उनी सबैकी ‘नोनाआमा’ थिइन् । नोनाको सेशपछि कोइराला निवासको बत्तीमा मलिनता छाउन थालेको छ ।
विराटनगरको कोइराला निवासको चर्चा गर्दा साहित्यकार तारिणी प्रसाद कोइराला, राजनितिज्ञ शैलजा आचार्य, २००८ सालका मेलेट्री गभर्नर केशप्रसाद कोइराला, युवा राजनीतिज्ञद्वय शेखर कोइराला र सुजाता कोइरालालाई पनि विर्सन मिल्दैन । आजको सन्दर्भमा विश्राम लिए पनि विगतले प्रकाश कोइरालालाई पनि विर्सन सक्दैन ।
तसर्थ विराटनगरको कोइराला निवासले पुर्वो मात्र नभएर सम्पुर्ण देशकै चौतर्फी विकासको प्रारम्भ र विकास गरेको छ भन्ने कुरामा कुनै सन्देह छैन ।
लेखक परिचय
दधिराज सुवेदी
विराटनगर–४
फोन ४६००३३/९७४२००७१४४