काठमाडौं, असोज ८ । काठमाडौं उपत्यकामा ऐतिहासिक इन्द्रजात्रा पर्व आज मनाइँदै छ । विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षाका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गर्दछन् ।
यसै क्रममा कुमारी, गणेश र भैरवको रथ तान्ने गरिन्छ । रथ तान्नु अघि बसन्तपुरमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च पदस्थ व्यक्तित्वहरु उपस्थित भई जीवित देवी कुमारी, गणेश र भैरवको दर्शन गर्ने परम्परा छ । यस अवसरमा लाखे नाच, पुलुकिसी नाच पनि प्रदर्शन गरिन्छ ।
यसपछि सर्वसाधारणको दर्शनका लागि विभिन्न टोलमा रथ घुमाउने चलन छ ।
हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखामा पनि मनाउने गरिन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि इन्द्रजात्रा प्रारम्भ हुने गर्दछ ।
यसअघि, तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेको नालास्थित जंगलबाट लिंगो काटेर ल्याउने गरिन्छ । लिंगोको फेदमा भैरवको पूजा गरिन्छ ।
शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्र जात्रालाई लिइन्छ । लिच्छवीकालदेखि यो पर्व मनाउन थालिएको हो ।