सुनसरी, २२ मङ्सि । सुनसरीको साहेबगञ्ज नाका । सिमानामै जोडिएको छ भारतीय बजार पथ्थरदेबा । पथ्थरदेबाबाट नजिकै छ भारतको बथनाह शहर । जहाँबाट दैनिकजसो ठूलो मात्रामा सरसामान नेपाल भित्रिन्छन् । सुनसरीका पूर्वीदक्षिणी भेगका नागरिकलाई आवश्यक पर्ने दैनिक उपभोगका सरसामान मात्रै होइन यस नाकाबाट दुहवी र इटहरीसम्म व्यापारिक प्रयोजनका सामान आँउछन् बोराका बोरा ।
सुनसरीका तत्कालीन गाविसहरु साहेबगञ्ज, रामगञ्ज बेलगक्षिया, सीतागञ्ज, चिमडी, छिटाहा, औरावनीलगायतका वासिन्दाहरु यही नाकाको भर पर्छन् । दैनिक उपभोग्य सामान किन्नका लागि सर्वसाधारण जोगवनी तर्फ धाए पनि व्यापारिक प्रयोजनका लागि भने साहेबगञ्ज नाका नै धाँउछन् ।
यस नाकाबाट नेपालबाट पनि थुप्रै खाले सरसामान भारत तर्फ पनि जान्छन् । राजश्व संकलन हुने र व्यवसायीलाई पनि सजिलो होला भन्ठानेर सरकारले साहेबगञ्जमा छोटी भन्सार कार्यालयको स्थापना पनि गरेको छ । सुविधा सम्पन्न २ वटा २ तले भवन पनि निर्माण गरेको छ । तर त्यहाँ पुग्ने भन्सारका कर्मचारी र छोटे तस्करको मिलेमतोमा भन्सार कार्यालय भने भूत बंगलामा परिणत भएको छ । कम्पाण्ड वालसहितको भन्सार परिसर स्थानीयको गाई बाँध्ने सुरक्षित स्थान बनेको छ भने राजश्व संकलन गर्न पुगेका कर्मचारीका लागि मालामाल अड्डा ।
कार्यालय हो कि घुरेन
भन्सार कार्यालय भन्नेबित्तिकै पैसा भन्ने बुझ्छन् आम नागरिक । तर सुनसरीको साहेबगञ्ज छोटी भन्सार कार्यालयमा भने पैसा हैन फोहोरको डंगुर छ । बुधबार बिहानै १० बजे यो संवाददाता पुग्दा कार्यालयको ढोका खुलेको थिएन । महिनौँदेखि कार्यालय बढारिएको थिएन । सरसफाइ नभएको महिनौँ भएको थियो ।
कार्यालय परिसरमा गाई बाँध्न जाँदै थिए स्थानीय । गेटमा भेटिनुभयो कार्यालयका प्रमुख सुरेश राउत । उहाँले सेवाग्राही नआउने गरेकाले कार्यालय नखोलिएको बताउनसभयो । उहाँले भन्नुभयो, ‘यहाँ को आँउछ र कार्यालय खोलेर बस्नु ?’ उहाँले यसो भनिरहँदा अगाडिको धुलाम्मे बाटोबाट धुलो उडाँउदै थाक लगाएका सामान बोकेर मोटरसाइकल नेपाल भित्रिँदै थिए । नेपाल तर्फबाट पनि मोटरसाइकलमा सामान बोकेर भारत र्फ जानेको लर्को देखिन्थ्यो ।
यो के हो ? संवाददाताको जिज्ञासामा राउतले रेडिमेड थियो, ‘घरका लागि चाहिने सामान हो सर यसलाई रोक्यो भने त यहाँ नबसे पनि हुन्छ ।’ उहाँका अनुसार यहाँबाटभन्सार काटेर सामान लानेको संख्या अत्यन्तै न्यून छ । महिनामा औसतमा एक लाख रुपैयाँ जति राजश्व संकलन हुने गरेको उहाँले बताउनुभयो ।
काजको भरमा छोटी भन्सार
सुनसरीमा ५ वटा छोटी भन्सार कार्यालय सञ्चालनमा छन् । तीमध्ये कौवाखोज छोटी भन्सार कार्यालय काजको भरमा सञ्चालनमा रहेका छन् । साहेबगञ्ज र भाण्टाबारी छोटी भन्सारमा भने नायव सुब्बा कार्यरत रहेका छन् । लौकही छोटी भन्सार भने खरिदारको माताहतमा रहेको छ । सुनसरी भन्सारका अधिकृत प्रमोद दासका अनुसार छोटी भन्सारमा दरबन्दी भन्ने नहुने र आवश्यकताका आधारमा कर्मचारी खटाइने बताउनुभयो ।
उहाँले छोटी भन्सारबाट व्यापारिक प्रयोजनका सामानको भन्सार राजवश्व संकलन नहुने बताउनुभयो । उहाँले सर्वसाधारणका लागि घरायसी प्रयोजनका सामान ल्याउन सजिलो होस् भनेर छोटी भन्सार नाका सञ्चालनमा ल्याएको बताउनुभयो ।
छोटी भन्सार, तस्करको संसार
सुनसरीको दक्षिणवर्ती क्षेत्रमा रहेका छोटी भन्सार छोटा तस्कारका लागि स्वर्ग बनेको छ । कर्मचारीसँगको मिलेमतोमा स्थानीय तस्करहरुले नेपाल–भारत सामान वारपार गरिरहेका छन् । अहिले नेपालबाट पेट्रोलियम पदार्थ र गहुँको बीउको भारततर्फ तस्करी हुने गरेको छ । छोटी भन्सार छेउमै सानो पसल खोल्ने र भित्र रहेको गोदामबाट सामान सप्लाई गर्ने गरेको पाइएको छ । भारतमा भन्दा नेपालमा अहिले पेट्रोलियम पदार्थ सस्तो छ ।
स्थानीय तेल व्यवसायीका अनुसार एक सय १० रुपैयाँ लिटर डिजल र एकसय २० रुपैयाँ लिटर पेट्रोल साहेबगञ्ज नाकामा बिक्री हुने गरेको छ । नेपालमा भने पेट्रोल एक सय १० र डिजेल ९७ रुपैयाँ प्रतिलिटर बिक्री भइरहेको छ ।
यसैगरी अहिले नेपालबाट गहुँको बीउको पनि तस्करी हुने गरेको छ । नेपालमा उत्पादन भएको गहुँको बीउको भारतीय बजारमा ठूलो माग छ । एनएल र विजय जातको गहुँको बीउ नेपाली बजारमा पाउन समस्या परिरहेको बेला सीमा नाकाका हरेक जसो पसलमा बोराका बोरा बिक्रीका लागि राखिएको छ । भारतीय किसानहरुले नेपाली बजारमा आएर गहुँको बीउ भारत लैजाने गरेका छन् । ४० केजीको ३ हजार रुपैयाँमा गहुँको बीउ सिमानाका बजारमा बिक्री भइरहेको छ । नेपालमा भने १९ सय रुपैयाँमा पाइन्छ ।
भारतीय बजारबाट भने चिनी, दाल, गेडागुडी खाने तेललगायतका सामग्री नेपाल भित्रिने गरेको छ । ‘यसका लागि दुवैतर्फ सेटिङ मिलाउनुपर्छ’, एकजना स्थानीय व्यापारीले भने, ‘गहुँको बीउ विराटनगरबाट साहेबगञ्ज सम्म पुर्याउन ४० केजीको बोराको ५ सय रुपैयाँ सम्म तिर्नु पर्छ ।’ उनका अनुसार डिजेल र पेट्रोलको पनि यही अवस्था छ । जनपद र सशस्त्र प्रहरी दुवैलाई चौकी नै पिच्छे ‘सेटिङ’ मिलाउनु पर्ने बताए । (सुमन पुरी, उज्यालाे)