विराटनगर, २४ मंसिर ।
मोरङ जिल्लालाई यहि डिसेम्बर महिना भित्र खुल्ला दिसामुक्त घोषणा गरिने भएको छ । मोरङका विभिन्न १७ स्थानीय तहमध्ये १२ वटा खुल्ला दिसामुक्त भइसकेका छन भने बांकी रहेका ५ वटा स्थानीय तह समेत छिट्टै घोषणा प्रक्रियामा छन ।
मोरङको २ लाख २ हजार ८ सय २० घरधुरीमध्ये ९९ प्रतिशत घरपरिवारले चर्पी निर्माण गरेर प्रयोग गरिरहेको खुल्ला दिसामुक्त अभियानमा सहयोगि संस्था मातृभुमि महिला समाजकी मोरङ अध्यक्ष शान्ता दाहालले जानकारी दिए । मोरङ जिल्लामा अब बुढीगंगा,कटहरी र जहदा गांउपालिका सहित सुनबर्षी नगरपालिका तथा विराटनगर महानगरपालिका मात्र खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न बांकी रहेको जनाइएको छ ।
जिल्लाका विभिन्न स्थानिय तहका वडाहरुलाई खुल्ला दिसामुक्त घोषणा गर्नेक्रममा कटहरी गांउपालिकाको वडानम्बर १ लाई आज खुल्ला दिसामुक्त वडा घोषणा गर्नुहुंदै जिल्ला समन्वय समितिका संयोजक नरेश पोखरेलले बांकी रहेका स्थानिय तहहरुलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिसकेर चालु डिसेम्बर महिनाको मसान्तसम्म मोरङ जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिने बताए ।
कटहरी गांउपालिकाका प्रमुख रामकुमार कामतले कटहरी गांउपालिकाका ७ वटा वडामध्ये ४ वटालाई खुल्ला दिसामुक्त घोषणा गरिसकिएको बताउंदै मंसिर २९ गते भित्र गाउपालिकालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिने बताए ।