विराटनगर, ७ पुस । मार्गशीर्ष शुक्ल अर्थात् मंसिरको पूर्णिमा। यो धान्य पूर्णिमाका रूपमा चिनिन्छ। धानलाई लक्ष्मी वा समृद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा नेपाली संस्कृतिमा छ। यो दिन धानको पर्वत बनाई पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वास गरिन्छ। नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिले कुलदेवता, पितृदेवता वा अन्य देवीदेवतालाई अर्पण गरी आफू खाने परम्परा सबै जाति र संस्कृतिमा छ। विशेषगरी पहाडी भेगमा आज गोठपूजा(गोठधुप) गर्ने चलन छ। गोठ सफासुग्घर गरी गाईबस्तुको विशेष पूजा गर्ने चलन छ। कतिपय समुदायमा यो दिन कुलदेवताको पूजा गर्ने चलन छ। स्थानीय भाषामा कुलदेवताको पूजालाई देवाली पनि भनिन्छ।
कुलदेवतालाई नयाँ अन्न चढाएर, होम गरेर, नयाँ धानबाट बनेको चामलको खीर भोग लगाइन्छ। नयाँ चामलबाट बनेको खीर, चामलको पीठोको बाबर र चामलको पिठोबाटै बनेको पुवा पकाएर कुलदेवतालाई चढाउने परम्परा पनि कतिपय समुदायमा छ। कतिपय स्थानमा कुलदेवताका पूजामा पशुबलि पनि दिइन्छ। नेवार समुदायमा थिन्ला पुन्हि वा ‘योमरी पुन्हि’का रूपमा यो पर्वको महत्त्व छ। अघिल्लो दिनदेखि घर र शरीर शुद्ध गरी योमरी पकाउने चलन छ। लक्ष्मी, गणेश, कुमार, कुवेरलगायतका देवी देवतालाई चढाएर मात्र खाने चलन छ। धानको भकारीमाथि यी देवी देवतालाई राखी पूजा गर्ने परम्परा नेवार समुदायमा छ।
लिम्बू जातिमा बाली भित्र्याएपछिको न्वागी खाने पर्वको रूपमा मंसिरे पूर्णिमा मनाइन्छ। किरात समुदायका कतिपय जातजातिमा आज प्रकृति, पितृ र कुलदेवताको पूजा गर्ने चलन छ। उधौली किरात समुदायको मुख्य चाड हो। लिम्बुहरूले चासोक तङनाम, राईहरूले साकेला, याख्खाहरुले चासुवा र सुनुवारहरूले फोलष्याँदर मनाउँछन्। गुरुङले सिमेभूमेको पूजा गर्ने न्वागी खान्छन्। पूर्वका थारूहरूले नेमान गर्ने, आगनको ध्वजा फेर्ने र छोराको 'वर्तमन' गर्ने गर्छन्। धानको च्युरा बनाएर सख्खर मिसाएर लड्डु बनाई देउतालाई चडाउने र नेमानमा पूजा गर्ने गर्छन्। किराँत समुदायकोे मूख्य पर्व साकेला उभौली बैशाख पूर्णिमाको दिन र उधौली मंसिर पूर्णिमाको दिन मनाइन्छ ।
पर्वको अबसरमा बिराटनगर–१२ मा रहेको साकेला थानमा सबै किराँत समुदायका सबै उमेरका मानिसहरु भेलाभई चण्डी नाच नाच्ने गर्दछन् । चण्डी नाचमा किराँत समुदायका मात्र नभएर अन्य समुदायका बाहुन, क्षेत्री, नेवारका साथै मधेशी समुदायका युवाहरु उल्लेख्य सहभागीता रहने गरेको छ। उद्यौली पर्व परम्परादेखि मान्दै आएको निश्चित समुदाय वा जातिले मान्ने मात्र नभई पछिल्लो समय सबै समयमा अन्य समुदायको पनि यस पर्वमा उपस्थित रहने गरेको किराँत राई यायोख्खा नगर परिषद् विराटनगरकी अध्यक्ष विष्णु राईले जानकारी दिईन् ।
उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याएको खुसियालीमा मनाइने चलन छ । प्रकृतिपूजक किराँत समुदायको भाषा, संस्कार र संस्कृतिले आ–आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उधौलीको अवसरमा संसारभरका किराँत समुदायले यो पर्ब मनाउने किराँत राई यायोख्खा नगर परिषद् विराटनगरकी सचिव कुन्ता राईले बताईन् ।
उधौलीको अवसरमा एकै ठाउँमा भेला भएर दुःख–सुख साट्दै संस्कृति झल्काउने पोसाकमा हातमा झ्याम्टा, ढोल, चमर र सेउली लिएर किराँत समुदायका मानिस विभिन्न शैलीमा सोकवा साकेन्वा नाचेर पो पर्व मनाउने छन् ।