विराटनगर, १० पुस । श्रम तथा रोजगार कार्यालय विराटनगरमा कार्यरत उपसचिव प्रेम सञ्जेलले आफूलाई बिना कारण सरुवा गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । सीप विकास कार्यालय इटहरीमा सरुवा भएपछि पत्रकार नै सम्मेलन गरेर उनले आफूलाई घुस्याहा चरित्र भएकाहरुको प्रभावमा परेर सरुवा गरिएको आरोप लगाए । ‘घुस खान नपाइने भएपछि मेरा विरुद्ध त सबैले उजुरी गर्छन् कर्मचारी उद्योगपति सबै मेरा विरुद्ध गर्छ’ उनले भने । आफूले इमान्दार भएर काम गर्दा घुस्याहा चरित्र भएकाहरुले टिक्न नदिएको उनको दाबी छ ।
‘मेरो घरमा साइकल छैन । मेरो असिस्टेन्टको कार कहाँबाट आयो ?’ आक्रोशित हुँदै उनले भने, ‘केपी ओलीले किन्देको हो ? गोकर्ण विष्टले किन्देको हो ? मेरो सचिव महेश दाहालले किनिदिएको हो ? अनि मलाई सरुवा गरेको हो ? मलाई त्यसको थाहा चाहियो ।’ उनले आफूले ४० वर्षको अवधिमा एक जनासँग पनि घुस नखाएको दाबी गर्दै प्रेम सञ्जेललाई घुस खुवाएँ भन्ने केपी ओलीसहित कुनै पनि माइकलाल नजन्मिएको बताए । आफ्नो सरुवा बदनीयतपूर्ण भएको दाबी गर्दै उनले श्रममन्त्री गोकर्ण विष्ट र सरुवाको पूर्जी थमाउने सचिव महेस दाहालले जवाफ दिनुपर्ने पनि बताए । उनले कुनै कारण नखुलाई गरिएको सरुवाविरुद्ध कानुनी उपचार खोज्ने पनि पत्रकार सम्मेलनमा चेतावनी दिए ।