डा. सुमनराज ताम्राकार
ल्याटिन भाषामा कुनै सामान राख्न मिल्ने भाँडोलाई कन्डोस भनिन्छ। यसैबाट अपभ्रंश भई कन्डमको नामाकरण भएको मानिन्छ। सन् १५०० तिर भिरंगीको महामारी फैलिँदा कपडाको खोल प्रयोगमा ल्याइएको थियो। अनैतिक सन्तान नजन्माउन भनेर अठारौँ शताब्दीमा राजा चाल्र्स द्वितीयको चिकित्सकले यसको निर्माण गरेको पनि भनिन्छ।
उन्नाइसौँ शताब्दीमा रबरबाट बन्नुअघि जनावरको आन्द्राबाट बनेको कन्डम प्रचलनमा थियो। बीसौँ शताब्दीमा ल्याटेक्सबाट निर्माण हुन थाल्यो।
पुरुष र महिलाले प्रयोग गर्न मिल्ने दुई प्रकारको कन्डम भए पनि पुरुषले प्रयोग गर्ने कन्डम बढी प्रचलनमा छ। महिलाले प्रयोग गर्ने कन्डम ९फेमिडोम वा रियालिटी० पोलियुरिथिनबाट बनेको हुन्छ। पुरुष कन्डम निःशुल्क पाइन्छ भने महिलाले प्रयोग गर्ने कन्डम किन्न पाइन्छ। गर्भ निरोध प्रयोजनका साथै यौन रोग तथा एचआईभी÷एड्स रोग हुनबाट बचाउन कन्डमको विशेष भूमिका हुन्छन्।
यौनका मामिलामा खुल्लापन नभएको नेपाली समाजमा कन्डमको प्रयोग त्यति सहज रूपमा लिएको पाइँदैन। अविवाहित युवायुवतीबीच सुरक्षित सेक्सका लागि निकै महत्वपूर्ण छ। कन्डमले यौन सम्पर्कलाई सुरक्षित बनाउन सहयोग गर्छ।
पातलो खालको ल्याटेक्स रबरबाट निर्मित कन्डम सम्भोग गर्ने बेलामा उत्तेजित लिंगमा लगाइन्छ। थैलोजस्तै कन्डमको एकापट्टिको भाग खुला हुन्छ भने अर्कोपट्टिको भाग बन्द हुन्छ। बन्द भागमा अलि सानो टुप्पो हुन्छ, जसमा यौन सम्पर्कको समयमा स्खलित वीर्य संकलित हुन्छ। सम्भोगका क्रममा स्खलित पुरुषको वीर्यलाई महिलाको योनिमा झर्नबाट रोकी गर्भ रहनबाट बचाउँछ।
यसरी कन्डमको प्रयोगले योनिरस र वीर्यलाई प्रत्यक्ष सम्पर्क हुन नदिने हुनाले यौन रोग एवं एचआईभी÷एड्स रोग एवं हेपाटाइटिसबाट पनि बचाउँछ।
एचआईभीको महामारीसँगै यसको महŒव बढेको छ। कन्डन प्रयोग गर्दा यौन रोग सर्ला कि भन्ने डरबाट मुक्त भइन्छ। जसले गर्दा यौन सम्पर्कका क्रममा बढ्ता यौन सुख प्राप्त गर्न सकिन्छ। तर, कन्डम चाहिँ सही तरिकाले लगाउनुपर्छ।
गलत धारणा र वास्तविकता
कन्डमले यौन सम्पर्कमा आउने आनन्दमा कमी गराउँछ रे! यो व्यक्ति–व्यक्तिमा भरपर्ने कुरा हो। कन्डम प्रयोग गर्नुको उद्देश्य र यसका फाइदाबारे विचार गर्नुपर्छ। कतिपय पुरुषले साधनबिना जति आनन्द महसुस गर्छन् कन्डम प्रयोग गर्दा कम महसुस गर्छन्।
कन्डमको प्रयोगले लामो समय स्खलन हुन नदिने हुनाले कतिपयले भने लामो समयसम्म यौन सम्पर्क प्रक्रियाको आनन्द लिन पाएको धारणा व्यक्त गर्छन्। त्यसैले शीघ्र स्खलन समस्या भएका एवं योनि सुक्खा समस्या भएकामा कन्डमको प्रयोगले फाइदै पुर्याउँछ। यसका साथै व्यावसायिक तवरमा किन्न पाइने डटेड वा बारयुक्त पातलो कण्डमले यौन आनन्द बढाउन मद्दत गर्छ।
त्यसै गरी व्यावसायिक यौनकर्मी/देहव्यापारीसँग यौन सम्पर्क राख्दा मात्र कन्डमको प्रयोग गर्नुपर्छ भन्ने गलत धारणा छ। कन्डम विवाहित, अविवाहित जोसुकैले नियोजित वा आकस्मिक रूपमा प्रयोग गर्न सक्छन्।
यौन सम्पर्क गर्दा कन्डम निस्केर योनिमा अड्किन सक्छ भन्ने धारणा छ। यस्तो विरलै हुन्छ। सही तरिकाले कन्डम लगाइएन वा पुरुष लिंगभन्दा ठूलो आकारको कन्डम भयो वा वीर्य स्खलन पश्चात् लामो समयसम्म लिंग बाहिर निकालेन भने कन्डम अस्थायी तवरले अड्किन सक्छ। यस्तो बेला कन्डमलाई औँलाले सजिलै निकाल्न सकिन्छ।
त्यसै गरी यौन सम्पर्कको बेलामा कन्डम फुट्न सक्छ भनिन्छ। सही तरिकाले भण्डारण गरी नबिग्रिएको र म्याद नगुज्रिएको कन्डम ठीक तरिकाले लगाइएको छ भने फुट्ने सम्भावना हुँदैन। पहिलो पटक आएका सेवाग्रही तथा कन्डम फुटेको अनुभव सँगालेका सेवाग्रहीलाई फ्लिपचार्ट र मोडलको प्रयोग गरी सही तरिकाले कन्डम लगाउने विधि बताइदिनुपर्छ।
कन्डमको सही प्रयोग
कन्डमको प्याकेटको एक छेऊमा समातेर खुँडे भएको ठाउँतिरबाट नङको प्रयोग नगरी बिस्तारै प्याकेट च्यात्नुपर्छ। योनिमा पुरुष लिंग छिराउनुअघि नै कन्डम सुल्टो पारी राख्नुपर्छ। खतना नगरेको भए अग्रचर्म पुरुष लिंग ढाक्ने छालालाई पछाडितिर तान्नुपर्छ।
लिंगको टुप्पोमा नफुकाइएको कन्डम राखेपछि त्यसको टुप्पातिर रहेको हावा बूढी औँला र चोर औँलाले च्यापेर निकाल्नुपर्छ। कन्डम बिस्तारै फुकाउँदै उत्तेजित लिंगको टुप्पाबाट लिंगको फेदतिर लगाउँदै जानुपर्छ। यसरी कन्डम सुल्टो लगाएमा फुकाउँदै लैजान अप्ठ्यारो हुँदैन। यसको सट्टा कन्डम लगाउनुपूर्व नै फुकाएर लगाएमा लगाउन पनि गाह्रो हुन्छ र प्रभावकारी पनि हुँदैन।
कन्डममा चिप्लो पदार्थ राखिएको हुँदा थप चिल्लो पदार्थ राख्नुपर्ने आवश्यकता पर्दैन। थप चिल्लो पदार्थले कन्डम फुट्ने सम्भावना बढाउँछ। वीर्य स्खलन भएपछि लिंग शिथिल नहुँदै कन्डम नफुस्किने गरी राम्ररी समातेर योनिबाट बाहिर निकाल्नुपर्छ। कन्डमलाई निकाल्नुअघि फुटे/नफुटेको राम्ररी जाँच्नुपर्छ।
यदि कन्डम फुटेको भए वा योनिभित्र नै अड्केमा आकस्मिक परिवार नियोजनका साधन प्रयोग गर्नुपर्छ। योनि क्षेत्रमा वीर्य नपोखिने गरी, बिस्तारै कन्डमलाई लिंगबाट फुकाल्नुहोस् अनि प्रयोग गरिसकेको कन्डमको फेदलाई गाँठो बनाउनुपर्छ। प्रयोग गरिसकेको कन्डमलाई राम्ररी उचित स्थानमा विसर्जन गर्नुपर्छ।