डा. रंगन चटर्जी
गत वर्ष नोभेम्बरमा इंग्ल्यान्डको ‘नेसनल हेल्थ सर्भिस’ले जारी गरेको तथ्यांकअनुसार केटाकेटीमा मानसिक समस्या डरलाग्दो गरी बढिरहेको छ। चिकित्सकका रूपमा मेरो अनुभवले पनि यही भन्छ। त्यसैले हाम्रा बालबच्चालाई दैनिक जीवनका तनाव सहन सहयोग गर्नु निकै आवश्यक छ।
बेलायतमा पाँचदेखि १९ वर्षबीचका आठमध्ये एक जना बच्चालाई उपचार गर्न सकिने मानसिक समस्या छ। सन् २००४ यता एन्जाइटी, डिप्रेसनजस्ता मानसिक समस्यामा ४८ प्रतिशतले वृद्धि भएको छ। ‘स्कुलको दबाब, बुलिइङ, जागिरको दबाबदेखि लिएर शारीरिक रूपरङसम्मका तनाव केटाकेटीले झेल्नुपर्छ,’ योङ माइन्ड्स नामक च्यारिटी संस्थाकी एम्मा स्याडलटन भन्छिन्।
केटाकेटीले भोग्नुपर्ने यी सबै चुनौती हामी हटाउन सक्दैनौँ। तर, त्यस्ता तनाव र प्रतिकूलता झेल्न चाहिने सीप केटाकेटीलाई दिन सक्छौँ। ‘यसलाई लचकता भन्ने गरिन्छ,’ स्याडलटन भन्छिन्, ‘यो कठिन अवस्थामाथि नियन्त्रण प्राप्त गर्ने र त्यस्तो अनुभवबाट सकारात्मक नतिजा ग्रहण गर्ने क्षमता हो।’ यो क्षमता जुनसुकै उमेरका मानिसलाई सिकाउन सकिन्छ। ‘बलियो समर्थन र हिम्मत जगाउने कुराकानीबाट हामी युवालाई समस्या बुझ्न सघाउन सक्छौँ। यसबाट उनीहरू दुःखी भएको बेला आफूलाई कसरी सजिलो पार्ने भन्ने जान्दछन्,’ उनी थप्छिन्।
म आफैँ पनि बुबा हुँ। मेरो आठ वर्षको छोरा र छ वर्षकी छोरी छन्। उनीहरूलाई तनाव झेल्न सिकाउनु मेरो प्राथमिकतामा पर्छ। यसका लागि मैले केही प्रभावकारी उपाय खोजेको छु। यो तरिका लागू गर्न तपाईंले आफ्नो अभिभाकत्वको शैली पूरै परिवर्तन गर्नु पर्दैन। केही सामान्य परिवर्तनले नै तपाईंका केटाकेटीलाई हुर्किन सहयोग पुग्छ।
बच्चासँग कुराकानी गर्नुहोस्
म जागिरे हुँ। स्कुल जाने दुई केटाकेटी र घरमा हेरचाह गर्नुपर्ने बूढी आमा हुनुहुन्छ। त्यसैले हामी अत्यन्त व्यस्त हुन्छौँ। म बहाना बनाइरहेको छैन। तर, छोरी चार वर्षकी हुँदा उसले भनेको कुरा म कहिल्यै बिर्सिन्नँ। हामी एउटा खेल खेलिरहेका थियौँ। तर, म बारम्बार फोन हेर्न भान्सामा छिरिरहेको थिएँ। चार चोटि त्यसरी गएपछि छोरीले भनी, ‘बुबा तपाईं यहाँ हुनुहुन्न
हगि !’
सम्बन्धले लचकता हुर्काउँछ। केटाकेटीलाई सुसार गर्नुपर्छ। कठिन समयमा तिनलाई कुनै जादुमय ‘आन्तरिक शक्ति’ ले सहयोग गर्दैन। बरु एउटै मात्र भए पनि भरपर्दो सम्बन्धले सघाउँछ। यो आमाबुबा, शिक्षक, नातेदार, साथी वा चिकित्सक जोसुकै हुन सक्छ। मेरो भनाइ के हो भने सम्बन्धको मात्रा होइन, गुणस्तरको हिसाब हुन्छ। दिमागमा अनेकौँ कुरा खेलिरहेको एक घण्टाभन्दा पूरै ध्यानकेन्द्रित भएको १० मिनेट प्रभावकारी हुन्छ। खाना खाइरहँदा तपाईं आफ्नो ट्याबलेटमा घोरिइरहनुहुन्छ भने केटाकेटीले के सिक्छन् ? त्यसैले उनीहरूलाई पूरा ध्यान दिन जरुरी छ।
एक्लाएक्लै दिइने समय व्यस्त तालिकाबाट निकाल्नुपर्छ भन्ने छैन। नुहाउँदाको समय, कारमा यात्रा गर्दा, खाना खाँदा, पालो कुर्दा यो समय निकाल्न सकिन्छ। कुराकानी गर्नुहोस्, सुन्नुहोस्, आफ्नो भावनाबारे बोल्नुहोस् र तिनलाई आफूबारे बोल्न उत्प्रेरित गर्नुहोस्। नियमित यसो गर्नाले तपाईंका केटाकेटीले थाहा पाउनेछन्, आफ्नो मनको कुरा सधँै भन्न सकिने एउटा सुरक्षित स्थान छ।
पर्याप्त सुत्न दिनुहोस्
सुत्न नसकेका धेरै केटाकेटी देख्छु म। ब्युँझिदा उनीहरू थकित हुन्छन्, आँखाको तलपट्टि कालो घेरा बसेको हुन्छ। पर्याप्त नसुत्दा चिन्ता बढ्ने गर्छ। स्मृति, ध्यान, संज्ञान र निर्णय क्षमतामा यसले नकारात्मक असर पार्छ।
निद्रा सुुधार्ने सबैभन्दा छिटो तरिका भनेको स्क्रिन हेर्ने समय छोट्याउनु हो। डिजिटल डिभाइसबाट निस्किने नीलो प्रकाशले मेलाटोनिन नामक हर्मोन उत्पन्न हुन दिँदैन। त्यो हर्मोनले हाम्रो शरीरलाई निदाउने बेला भयो भनेर संकेत दिने गर्छ। त्यसबाहेक सुत्नुअघि स्क्रिन हेर्दा हामी त्यसका विषयवस्तुमा अल्झिरहेका हुन्छौँ। जसका कारण तत्काल निदाउन मुस्किल हुन्छ।
कडा स्वभावका अभिभावकले प्रविधिमा पूरै प्रतिबन्ध लगाउँछन्। मलाई लाग्छ, त्यसो गरिरहनुपर्दैन। तर, सुत्नुभन्दा एक घण्टाअघिदेखि घरभित्र यस्ता डिभाइसमा प्रतिबन्ध लगाउनैपर्ने मेरो मत छ। आवश्यक परे वाइफाई बन्द गर्नुहोस्। सम्झौता नै गर्नुपरे टीभी चाहिँ छोडिदिनुहोस्। हामी स्क्रिनको नजिकै नबस्ने हुनाले टीभी त्यति हानिकारक हुँदैन।
साँझदेखि नै सबै डिभाइसमा नाइट मोड प्रयोग गर्न लगाउनुहोस्। यसो गर्दा नीलो प्रकाश आउँदैन। त्यसका लागि एप डाउनलोड गर्न सकिन्छ। अथवा, नीलो प्रकाश रोक्ने चस्मा लगाउन सकिन्छ। रातिको बत्ती रातो बनाउँदा पनि फाइदै हुन्छ। मेलाटोनिन उत्पादनमा रातो रङले सबैभन्दा कम असर पार्छ। मेरो बच्चाको कोठामा रातो बत्ती बालेपछि उनीहरू भोलिपल्ट बिहान एक घण्टा बढी निदाए।
कसरत र बाहिरी घुमघाम
हामी सबैलाई थाहा छ, नियमित शारीरिक क्रियाकलाप महŒवपूर्ण छ। केटाकेटीले पनि कसरत गर्न आवश्यक छ। कसरतले शारीरिक रूपमा तन्दुरुस्त राख्न मात्र होइन, केटाकेटीको लचिलोपन बढाउन पनि सहयोग गर्छ। वास्तवमा यसले दिमागलाई बलियो बनाउँछ।
सामान्य डिप्रेसन र एन्जाइटीको उपचारमा औषधिजत्तिकै प्रभावकारी छ, कसरत। यो पुष्टि भइसकेको तथ्य हो। हामी चिन्तित हुँदा उत्पन्न हुने हर्मोन कर्टिसोल र एड्रेनालाइन नै कसरत गर्दा अस्थायी रूपमा उत्पादन हुन्छन्। नियमित कसरत गर्नाले तनावलाई कसरी झेल्ने भन्ने हाम्रो शारीरिक प्रणालीलाई थाहा हुन्छ। त्यसैले तनावबाट हामी सजिलै मुक्त हुन सक्छौँ।
साथै, कसरत गर्नु निकै रमाइलो हुन्छ। मैले के थाहा पाएको छु भने हामीले भनेको होइन, गरेको हेरेर केटाकेटीले सिक्छन्। एक दिनमा अनेक पटक छोटो–छोटो अवधिको कसरत गर्न सकिन्छ। खानाअघि रेडियो बजाएर हामी सबै जना भान्छामा नाच्छौँ। अथवा, मेरो पछि–पछि केटाकेटी पनि कसरत गर्छन्। म बुरुकबुरुक उफ्रिन्छु, गोडा चाल्छु। म जति हास्यास्पद देखिन्छु, केटाकेटी उति नै बढी मज्जा लिन्छन्।
पर्खन सिकाउनुहोस्
लचकता के हो ? जति बेला भन्यो त्यति बेला आफूले चाहेको कुरा पाइँदैन। यो थाहा पाउनु लचकता हो। अमेजन प्राइम, स्पटिफाई, नेटफ्लिक्स र युबरको यो जमानामा आगामी पुस्तालाई यो कुरा सिकाउनु निकै महत्त्वपूर्ण छ। तीव्र इच्छालाई रोक्न सक्ने व्यक्तिको जीवन बढी खुशी र स्वस्थ हुन्छ भन्ने मनोविज्ञानले हामीलाई सिकाउँछ। आनन्द र पुरस्कारका लागि पर्खन नसकेर हाम्रा केटाकेटी जीवनको एउटा मत्त्वपूर्ण सीप गुमाइरहेका छन्।
यो सिकाउने सबैभन्दा उत्तम तरिका भनेको बोर्ड गेम हो। यसका लागि आवेगमा नियन्त्रण चाहिन्छ, पालो पर्खिन जान्नुपर्छ। दिमागी लचकता चाहिन्छ। यसबाट निर्णय गर्ने, भावना नियन्त्रण गर्ने र लचक बनाउने दिमागको प्रिफ्रन्टर कर्टेक्स क्षेत्रको अभ्यास हुन्छ। बोर्ड गेममार्फत तपाईं आफू हारेर असल उदाहरणसमेत प्रस्तुत गर्न सक्नुहुन्छ।
यसका अरू उपाय पनि छन्। वाद्यवादन सिक्ने, अनलाइनमा अनेकथरी गीत सुन्नेभन्दा एउटा पूरै एल्बम सुन्ने, नयाँ खेलमा पारंगत बन्ने, एकै पटक पूरै हेर्नेभन्दा हरेक साता कुनै टीभी सिरिज सबै मिलेर हेर्ने आदि–आदि।
पौष्टिक खाना
मानसिक स्वास्थ्यमा पोषणको ठूलो प्रभाव हुन्छ। गुणस्तरीय खानाले हाम्रो शरीरको माइक्रोब्याक्टेरियाको बनोट परिवर्तन गरिदिन्छ। यसले दिमागमा शान्त सन्देश पठाउने गर्छ। गुणस्तरहीन र प्रशोधित खानाले तनावको संकेत दिमागमा पठाउँछ। फाइबारयुक्त विविधतापूर्ण खानाले माइक्रोब्याक्टेरियामा पनि विविधता ल्याउँछ। यसले हामीलाई लचिलो बनाउन सहयोग गर्छ।
जसका कारण एन्जाइटी र डिप्रेसनको सम्भावना कम हुन्छ। केटाकेटीलाई स्वास्थ्यवद्र्धक खाना खुवाउनु युद्ध जित्नुजत्तिकै कठिन हुन्छ। खास गरी, उनीहरू धेरै नखरा पार्छन् भने त कठिनाइ अझ बढ्छ। तर, केही उपाय लगाउन सकिन्छ।
म पूरै परिवारलाई ३० दिनभित्र प्रत्येक अक्षरबाट सुरु हुने खाना खाने चुनौती दिने गर्छु। एक महिनामा २६ खालको खाना खानु राम्रै लक्ष्य हो। ए फर अस्पारागस, बी फर बनाना, सी फर चिकपिज...। यसले केटाकेटीमा स्वस्थ खाने बानीको विकास गर्छ। यसलाई प्रतिस्पर्धाको रूप दिन पनि सकिन्छ।
कृतज्ञता सिकाउनुहोस्
‘स्कुलमा के पढ्यौ ?’, ‘आज के गर्यौ ?’ जस्ता प्रश्न सोध्नुभन्दा केटाकेटीलाई आफ्नो दिनबारे नयाँ दृष्टिकोणले हेर्ने मौका दिनुहोस्।
यसका लागि निम्नानुसारको खेल खेल्न सकिन्छ। यो मैले एक जना साथीबाट सिकेको हुँ। खाना खान बस्दा परिवारका सबैले तीनटा प्रश्नको उत्तर दिनुपर्ने नियम बनाउनुहोस्।
१. तिमीलाई खुशी बनाउन आज कसले के गर्यो ?
२. तिमीले कसैलाई खुशी पार्न आज के गर्यौ ?
३. आज तिमीले के सिक्यौ ?
यो तरिका मलाई खूब मन पर्यो। यसले हरेक दिन आफ्नो दैनिकीभित्र सकारात्मक कुरा खोज्न हामीलाई प्रेरित गर्छ। यसले कृतज्ञता, पर्वाह र आशा सिकाउँछ। स्कुल अथवा काममा जेसुकै हुन सक्छ, त्यसको अर्थ रहँदैन। जति नै तनाव भए पनि खाना खाँदा यो खेल खेलेपछि मुड पूरै परिवर्तन हुन्छ। मेरा छोराछोरीबारे मैले थुप्रै कुरा जान्न पाएँ। त्यसो नहुँदो हो त तिनले मलाई मनको कुरा बताउने थिएनन्। तपाईं पनि प्रयास गरेर हेर्नुहोस्।
(चटर्जी ‘द स्ट्रेस सोलुसनः द फोर स्टेप्स टू रिसेट योर बडी, माइन्ड, रिलेसनसिप्स एन्ड पर्पाेस’ किताबका लेखक हुन्। यो लेख ‘द गार्जियन’बाट के. गिरीले अनुवाद गरेका हुन्।)