उदयपुरका किसानले मूल्य नपाएपछि चैते धान खेती घट्दै

<span class='c1'>उदयपुरका किसानले मूल्य नपाएपछि</span> <span class='c2'>चैते धान खेती घट्दै</span>

गाईघाट, चैत ९ गते ।

सिँचाइ सुविधाको पहुँच नहुँदा र मिहिनेत अनुसार मूल्य नपाएपछि उदयपुरका किसानले चैते धान खेती गर्न छोडेका छन् । चैतको पहिलो सातासम्म धान रोपिसक्ने गरी किसानहरूले काममा लाग्नुपर्ने हो तर अहिलेसम्म फाटफुट रूपमा मात्रै चैते धानको रोपाइँ भएको छ । उदयपुरमा एक हजार २५८ हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने गरेको कृषि अध्ययन केन्द्रको तथ्याङ्कले देखाउँछ ।
तर यो क्षेत्रफल बर्सेनि घट्दै गएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सरोजकान्त अधिकारीले भन्नुभयो, चैते धानको उत्पादन राम्रो भए पनि किसानले खासै चासो देखाएका छैनन् । चैते धानलाई समेत सिँचाइ हुने गरी क्षेत्र थपिएको छ तर खेती गर्ने क्षेत्र घट्दै गएको उहाँले बताउनुभयो ।

विषेश गरी किसानले सिम खेतमा चैते धान खेती गर्ने गरेका छन् । पछिल्लो समय सिम खेत मासिँदै गएको र सिँचाइका लागि थप अन्य सुविधासमेत उपलब्ध नहुँदा किसानले रोपाइँ नै गर्न छोडेको त्रियुगा नगरपालिका–४ बगाहाका स्थानीय किसान नित्यानन्द चौधरीले बताउनुभयो ।
चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरका किसान रामकुमार चौधरीले भन्नुभयो, चार वर्ष अघिसम्म तल्लो त्रियुगा नदी तटीय क्षेत्रमा चैते धान रोपाइँ हुन्थ्यो तर अहिले आएर चैते धान फल्ने खेत त्रियुगा नदीले कटान गरी बालुवामा परिणत भएकोले यस क्षेत्रमा रोपाइँ हुन छोडेको हो ।
चैते धान फागुन अन्तिम सातादेखि चैत दोेस्रो सातासम्म रोपाइँ गर्नुपर्ने हो तर गत वर्षहरूमा पर्याप्त पानी नपरेकाले ब्याडमै बेर्ना मरेपछि किसानले यो वर्ष खासै चासो नलिएको र पानीका स्रोत सुक्दै गएपछि चैते धानको ब्याड नै नराखिएको उहाँले बताउनुभयो ।

पानीको स्रोत संरक्षण नहुँदा र समय–समयमा पानी नपर्दा चैते मात्र होइन हिउँदेसमेत धान रोप्न समस्या हुने गरेको किसान बताउँछन् । अहिले सिँचाइ सुविधा थपिएको छ तर चैते धानका लागि पर्याप्त छैन ।
हिउँदे धानको तुलनामा चैतेलाई पानी कम भए पनि हुन्छ तर सिँचाइ भएको क्षेत्रमा मात्रै यो धानको खेती गर्ने गरिन्छ । विशेष गरी कटारी, त्रियुगा, चौदण्डी र बेलका नगरपालिका क्षेत्रको केही भागमा चैते धान हुने गरेकोे चौदण्डीगढी नगरपालिका–५ का वडाध्यक्ष देवनारायण चौधरीले बताउनुभयो ।

पछिल्लो समय जलवायु परिवर्तनसँगै खोलानालामा समेत पानीको सतह जमिनभन्दा धेरै तल गएको छ । जमिनको सतहमाथि पानीको सतह तल हुँदा सिँचाइ सुविधा अभाव हँुदै गएपछि चैते धानमा समस्या भएको हो । समयमै पानी परे पनि किसानले ब्याड नै नराखेका कारण यो वर्ष चैते धानको रोपाइँ हुन सकेको छैन ।
उदयपुरमा चैते, भदैया र वर्षे धानको खेती १४ हजार ९४ हेक्टर बढी क्षेत्रफलमा हुँदै आएको छ । आव ०७४÷७५ मा सबै प्रकारका धान ५२ हजार चार सय ६२ मेट्रिकटनभन्दा बढी उत्पादन भएको थियो । जसमा चैते धान तीन हजार ४१५ मेट्रिकटन उत्पादन भएको ज्ञान केन्द्रको तथ्याङ्कमा देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्