झापा, १५ चैत । कमल गाउँपालिका ६ का मुक्तिनाथ पोखरेलले गाउँमा हुने विवाह, व्रतबन्ध तथा अन्य उत्सवहरूमा नौमती बाजा नबजेको धेरै भएकाे सुनाए। पहाडमा छँदा बिभिन्न शुभ कार्यमा बज्ने सहनाई, नरसिंगा, ढोलक लगायतका आवाजले गाउँपखेरा नै घन्किने गरेको सम्झना उनमा ताजै छ।
तर अचेल त्यस स्थानमा बिभिन्न विद्युतीय उपकरणमार्फत बजाइने गीतले लिन थालेको छ। ‘अहिले त नौमतीनै नौलो भइसक्यो’ ७६ वर्षीय पोखरेलले भने,‘यस्तै हो भने नौमती बाजा कस्तो हुन्थ्यो। के के हुन्थे भनेर सुनाउने मान्छे पनि भेट्न गाह्रो पर्छ।’ विवाह, ब्रतबन्धहरूमा मात्र होइन असारमा रोपाई गर्दा बेठी लगाउन पनि नौमती बाजा बजाइन्थ्यो। तर मानिसले रोपाई गर्ने चलन घट्दै जाँदा बेठी लगाउने चलन समेत कथा जस्तो भएको सोही ठाउँकी बृद्धा देवीमायाँ आचार्य बताउँछिन्। ‘उहिले बेठी गाउँदै नाच्दै गर्दा घन्किने नौमती बाजा त अचेल देख्नै मुस्किल छ’ उनले भनिन्,‘के को बेठी, केको नौमती अहिलेका भुरालाई कस्ले चिनाई दिने।’
पुस्तान्तरणको प्रभाव : बिदेशी गीत संगीतको प्रभाव र नयाँ पुस्तामा यो संस्कृति हस्तान्तरण गर्न नसक्दा मौलिक संस्कृतीनै संकटमा परेको सामाजिक अगुवाहरू बताउँछन्। गाउँ पालिकाको संयुक्त दलित उपभोक्ता समितिका अध्यक्ष समेत रहेका देवबहादुर दर्जी भन्छन्,‘यी बाजाहरू बजाउने चलनलाई विगतमा कुनै जाति विशेषको मात्र भनियो। त्यसले गर्दा अरु जातिको आकर्षण नै रहेन।
फेरि दर्जी जातिले बजाउने भनिए पनि नयाँ पुस्ताले यसप्रति चासो घटाउँदै लगे। त्यसैले गर्दा अहिले यो नयाँ पुस्तालाई नौलो बन्न पुग्यो।’ एक पुस्तादेखि अर्को पुस्ताको रुची, व्यापार र रोजगारीको क्षेत्रमा आएको परिवर्तनको प्रभाव पनि मौलिक लोक संस्कृतिको क्षेत्रमा परेको उनी सुनाउँछन्।
जात भन्दामाथि संस्कृति :
बिगतमा नौमती बाजा र यसको सीपलाई जातीय दृष्टिकोणको घेरामा राखिएकाले पनि यो संकटमा परेको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले भनिन्। तर कुनै पनि संस्कार, संस्कृति तथा संगीतलाई कुनै जाति वा समुदायको घेरामा सीमित राख्न नहुने उनको भनाई छ।
नेपालको मौलिक संस्कृति नौमति बाजा संकटमा पर्न लागेकै कारण यसको प्रशिक्षणका लागि गाउँपालिकाले सहयोग गरेको उनले बताइन्। वडा ३ को बजेटमार्फत नौमती बाजा प्रशिक्षण नै चलाइएको वडाध्यक्ष नरप्रसाद दंगालले बताए। बाजा प्रशिक्षणले युवामा आम्दानीको स्राेत पहिचान हुनका साथै नेपाली संस्कृतिको संरक्षणमा पनि टेवा पुगेको उनको भनाई छ। अन्य समुदायका संस्कृति र सभ्यता संरक्षणका लागि पनि गाउँपालिकाले कार्यक्रमहरू ल्याउने र मागका आधारमा यस्ता योजनालाई प्राथमिकता समेत दिइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज ढकालले बताएका छन्।