विराटनगरका ललित बने उत्कृष्ट खेलाडी , प्रधानमन्त्री कप क्रिकेट नेपाल पुलिसलाई

<span class='c1'>विराटनगरका ललित बने उत्कृष्ट खेलाडी ,</span> <span class='c2'>प्रधानमन्त्री कप क्रिकेट नेपाल पुलिसलाई</span>

मुना कार्की (रासस)

काठमाडौं, जेठ २५ । विभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा मञ्जित श्रेष्ठको नेतृत्वमा रहेको पुलिसले विनोद भण्डारीले कप्तानी गरेको आर्मीलाई ४ विकेटले पराजित गर्दै प्रधानमन्त्री कपमा पहिलोपटक उपाधि हासिल गर्न सफल भयो ।

उपाधिसहित पुलिसले रु २० लाख प्राप्त गरेको छ ।

यसअघि, दुई विभागीय टोली पुलिस र आर्मी उक्त प्रतियोगिताको पहिलो संस्करणमा संयुक्त विजेता बनेको थिए । वर्षाका कारण फाइनल खेल रद्द भएपछि दुवैले ट्रफी बाँडेका थिए ।

त्यस्तै, दोस्रो संस्करणको उक्त प्रतियोगितामा पुलिस सेमिफाइनलमा पराजित भएको थियो भने आर्मी फाइनलमा अर्कोे विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग पराजित भएको थियो ।

प्रतियोगिताको तीनै संस्करणसम्मको खेलमा फाइनल पुगेको आर्मी उपाधिविहीन बन्यो । हारसँगै उपविजेतामा चित्त बुझाएको आर्मीले रु १० लाख पायो ।

टस जितेर पहिले ब्याटिङ थालेको आर्मीले पुलिसलाई १२६ रनको सामान्य लक्ष्य दिएको थियो ।

सो विजय लक्ष्य बोकेर मैदानमा उत्रेको पुलिसले ४०.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

पुलिसको जितमा अमित श्रेष्ठले ४० बल खेल्दै दुई छक्का र ६ चौकाको  मद्दतले सर्वाधिक ४४ रन बनाए । त्यसैगरी, सुनिल धमलाले अविजित ४२ रन जोड्दा कप्तान मञ्जितले अविजित ११ रन जोडे ।

बलिङतर्फ आर्मीका करण केसीले व्यक्तिगत ३ विकेट लिए । त्यस्तै, शाहव आलमले २ विकेट लिँदा सुशन भारीले एक विकेट हात पारे ।

त्यसअघि, पहिले ब्याटिङ गरेको आर्मीको सुरुआत उत्कृष्ट भएपनि त्यसलाई निरन्तरता दिन नसकेपछि हार व्यहार्न बाध्य बन्यो । आर्मी ३३.३ ओभरमा सबै विकेट गुमाउँदै १२५ रनमा समेटियो ।

सुरुआती ब्याट्सम्यान सोमपाल कामी र राजु रिजालले पहिलो विकेटका लागि १५.५ ओभरमा ७२ रनको साझेदारी गर्दै ठूलो योगफलको सम्भावना देखाएका थिए ।

तर, ललितनारायण राजवंशीले सोमपाललाई पवन सरार्फबाट ‘क्याच आउट’ गर्दै ३५ रनमा ‘पेभिलिएन’ फर्काएपछि आर्मीको खेलको स्तर खस्किएको थियो ।

सोमपालले ४० बल खेल्दै दुई छक्का र तीन चौकाको मद्दतमा ३५ रन बनाएका थिए । त्यस्तै, राजु रिजालले ३२, भीम सार्कीले २० तथा रोहित पौडेलले १८ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

मध्यक्रमका कुनैपनि ब्याट्सम्यानले जिम्मेवार भएर नखेल्दा आर्मी सस्तैमा समेटिन पुगेको थियो ।

आर्मीलाई सस्तैमा समेट्नेक्रममा पुलिसका ललित राजवंशी र पवन शर्राफले समान ४/४ विकेट लिए भने सागर ढकालले एक विकेट हात पारे ।

समूह चरणको खेलमा पनि पुलिसले आर्मीलाई ५० रनले पराजित गरेको थियो ।

त्यस्तै, यस संस्करणको प्रतियोगितामा पुलिस र आर्मी एउटै समूहबाट फाइनलमा पुगेका थिए ।

समूह ‘बी’मा रहेको पुलिस समूह चरणमा अपराजित रहँदै सेमिफाइनल पुगेको थियो ।

पुलिसले सेमिफाइनलमा साविक विजेता एपीएफलाई ५ विकेटले पराजित गर्दै फाइनलको यात्र तय गरेको थियो ।

उता, समूह चरणमा पुलिससँगमात्र हार व्यहोरेको आर्मीले सेमिफाइनलमा प्रदेश नम्बर–३ लाई ११७ रनले पराजित गरेको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा नेपालय इन्टरनेसनल प्रालिको सहकार्यमा भएको उक्त प्रतियोगिता यही जेठ १० गतेदेखि सुरु भएको थियो ।

प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेश गरी १० टोलीको सहभागिता थियो ।

समूह ‘ए’मा एपीएफ, प्रदेश नम्बर–५, प्रदेश–३, सुदूरपश्चिम प्रदेश र गन्डकी प्रदेश थिए भने समूह ‘बी’मा त्रिभुवन आर्मी, नेपाल पुलिस, प्रदेश नम्बर–२, प्रदेश नम्बर–१ र कर्णाली प्रदेश सहभागी थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्