लहानस्थित पशुपति मावि अगाडिको सडकमा स्कुटीको ठक्करबाट चारजना महिला रेडियोकर्मी घाइते भएका छन् । घाइते मध्ये तीनजनाको अवस्था गम्भीर छ ।
घाइते हुनेहरुमा भोजपुरकी अशोदा ढकाल, धनगढी–५ की पार्वती पाण्डे, गाईघाटकी निशा दनुवार र धनगढीकी वर्षा राई छिन् ।
गएराती पैदल हिँडेर रौनियार सेवा सदनबाट विशाल होटलतर्फ जाँदै गर्दा स४प १८७० नम्बरको स्कुटीले पछाडिबाट ठक्कर दिएर उहाँहरुलाई घाइते बनाएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो ।
घाईतेमध्ये अशोदा, पार्वती र निशाको टाउको र ढाडमा गम्भीर चोट लागेको छ । गम्भिर घाइते ३ जनाको लहानस्थित रामकुमार शारदा उमाप्रसाद स्मारक अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि राति नै विराटनगरस्थित न्युरो हस्पिटल ल्याइएको छ ।
ठक्कर दिने स्कुटी इलाका प्रहरी कार्यालय लहानले नियन्त्रणमा लिएको छ भने स्कुटी चलाउने युवा फरार भएका छन् । युवाले मदिरा सेवन गरी युवतीलाई जानेर ठोकेको प्रत्यक्षदर्शी वैजनाथ यादवले बताउनुभयो ।
सबै घाइते लहानबाट प्रसारित रेडियो समग्र १०७ मेगाहर्जमा कार्यरत हुनुहुन्छ ।