बिपी प्रतिष्ठानको फार्मेसीले औषधि नै बेच्दैन, एक्स–रे गर्न पनि बाहिरै धाउनुपर्ने बाध्यता

<span class='c1'>बिपी प्रतिष्ठानको फार्मेसीले औषधि नै बेच्दैन,</span> <span class='c2'>एक्स–रे गर्न पनि बाहिरै धाउनुपर्ने बाध्यता</span>

धरान । कात्तिक १७ गते आइतबार बिपी प्रतिष्ठानको इमर्जेन्सी कक्षमा भीडभाड थियो। भुईंमा राखेर बिरामीको उपचार भइरहेको थियो। डाक्टर र नर्सहरु आवतजावत गर्न समेत समस्या परिरहेको थियो। त्यति धेरै भीडभाड रहेको इमर्जेन्सी कक्षसँगै रहेको औषधि पसल भने सुनसान देखिन्थ्यो। आवश्यक औषधि नै नपाइने भएपछि बिरामीका आफन्त बाहिरैबाट औषधि ल्याइरहेका थिए।

मोरङको कानेपोखरीबाट आमाको उपचारमा आएका रमेश सापकोटा इमर्जेन्सीबाट एउटा चिट बोकेर बाहिरिँदै थिए। सोही दिन उनी आमा सिर्जनालाई लिएर प्रतिष्ठान पुगेको थिए। औषधि र उपचारमा केही सहज र सस्तो हुन्छ भनेर आएका उनले निजी क्लिनिकबाट औषधि किन्नुपरेको गुनासो सुनाए। ‘डाक्टरले औषधि लिएर आउनु भनेर अह्राए। फार्मेसीमा जाँदा बाहिर गएर ल्याउनु भन्यो। पानी चाहिँ फार्मेसीमै किनेँ,’ उनले भने।

उनी गेटबाट निस्किँन नपाउँदै सेतो प्लास्टिकको झोलामा बाहिरबाट औषधि बोकेर एक युवा त्यहीँ आइपुगे। उनी पनि आमाको उपचारको लागि आएका रहेछन्।

धरान– १७ का सन्देश राईले केही दिनदेखि आमालाई अत्यधिक ज्वरो आएपछि उपचारमा आएको बताए। सुरुमा औषधि किन्न फार्मेसीमा गएको तर बाहिरबाट ल्याउनु भन्ने जवाफ आएपछि बाहिर गएर औषधि किन्नुपरेको उनी सुनाउँछन्। ‘यो फार्मेसीमा पानीमात्र पाउँदो रहेछ,’ उनले भने, ‘जीवनजल किन्न पनि बाहिरै जानुपर्ने रहेछ।’

धरान– १६ की सीता खड्का भाइ कुर्न बसेको ३ दिन भयो। डाक्टरले औषधि ल्याउन भनेपछि रातको १ बजे पनि एक्लै बाहिर जानुपरेको उनी बताउँछिन्। रातको समयमा निस्कनुपर्दा धेरै डर लागे पनि भित्र औषधि नपाएपछि बाहिर जानुपरेको उनको भनाइ छ।

सोही दिन संखुवासभाको दिदिङबाट दाजुको उपचारमा आएका मिरबहादुर राईले पनि बाहिरबाटै औषधि किनेर ल्याइरहेका थिए। आमाको दाँतको उपचारमा प्रतिष्ठान पुगेका इटहरीका रोशन सुनारले सामान्य एक्स–रे गर्न पनि बाहिर जानुपरेको बताए। प्रतिष्ठानको एक्स–रे बिग्रिएपछि गेटबाहिरको टाटा डायग्नोस्टिकमा गएर एक्स–रे गर्नुपरेको उनको भनाइ छ।

करिब ५ मिनेटको समयमा भेटिएका केही प्रतिनिधि पात्र मात्र हुन् यी। बिरामीको अत्यधिक चाप हुने प्रतिष्ठानको फार्मेसीले औषधि उपलब्ध गराउन नसक्दा महँगो मूल्यमा निजी क्लिनकबाट औषधि किन्नुपर्ने बाध्यता छ। भएका उपकरणको समयमै मर्मत नहँुदा त्यसको प्रत्यक्ष मारमा बिरामी परेका छन्। निजी क्लिनिक र प्रतिष्ठानका पदाधिकारीको मिलेमतोमा यस्तो भएको हुनसक्ने सुनारको बुझाइ छ।

उता प्रतिष्ठानका कार्यबाहक उपकुलपति गुरु खानाल यो समस्या धेरै समय अगाडिदेखिको भएको स्वीकार्छन्। लामो समयदेखि प्रतिष्ठान अस्तव्यस्त भएकोले यस्तो भएको उनको भनाइ छ।

केही दिनमा सिनेटको बैठक बस्ने र त्यस विषयमा आवश्यक प्रबन्ध मिलाउने उनले बताए। औषधि खरिदको लागि लामो प्रक्रिया पु¥याउनुपर्ने भएकोले समय लाग्ने र अबको केही महिना भित्रमै समस्या समाधान गरिने उनी बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्