‘राजनितिक हस्तक्षेपमा अपराधी छाडिन्न’: एस.पि. कार्की

‘राजनितिक हस्तक्षेपमा अपराधी छाडिन्न’: एस.पि. कार्की

विराटनगर/ असार १४ । मोरङ्गका नव एस.पि.प्रद्युम्न कार्की तथा डि.एस.पि. दिपक थापाले आज पत्रकारहरुसँग परिचयात्मक कार्यक्रम गरेका छन् । कार्यक्रममा उनीहरुले सरुवा भई मोरङ आए देखि भएका सुधारका गतिविधिहरु माथि प्रकाश पार्नुका साथै भविष्यका कार्य योजना समेत पत्रकारहरु माझ प्रस्तुत गरेका थिए । पत्रकारहरुसँग अन्तरक्रिया गर्दै एस.पि. कार्कीले ‘जनभावना अनुरुप काम गर्न प्रहरी आफै सुरुमा चोखो हुनु पर्ने’ धारणा व्यक्त गरे । उनले ‘राजनितिक हस्तक्षेपका कारण अपराधीको अपराध क्षमा नहुने’ बताए । तस्कर र ठेक्का पट्टामा हुने अनियमितताले अपराधीहरुको आर्थिक अवस्था सुदृढ बनाएको भन्दै उनले यस्ता क्रियाकलाप नियन्त्रण गर्नु आफ्नो उद्देश्य रहेको बताए । होटल, रेष्टुराँ छापा मारेको सन्दर्भ कोट्याउदै कार्कीले ‘विराटनगर हाल अघोषित कोठि हो’ भन्दै यौन धन्दामा लागेकाहरुलाई समेत कानुनको दायरामा ल्याइने जानकारी दिए । कार्यक्रममा डि.एस.पि. दिपक थापाले जिल्ला प्रहरी कार्यालय मोरङ्गमा मिति असार महिनामा भएका कारबाहीहरुको विवरण प्रस्तुत गरेका थिए ।

कार्कीले जनगुनासो सुन्नका लागि डि.एस.पि. थापाको कमाण्डमा प्रहरी परिचालन गरेकाले कुनै पनि किसिमको अनियमितता र कानुन विपरितको काम कारबाहि भएको जानकारीमा आए त्यसको खबर प्रहरीलाई गर्नका लागि समेत अनुरोध गरे । डि.एस.पि. थापाको मोबाइल नम्बर ९८४२४३४३९० सार्वजनिक गर्दै कसैलाई कुनै प्रकारको समस्या परे तत्काल खबर गर्न आग्रह गरे । कार्यक्रममा एस.पि. कार्कीले पत्रकारहरुको विभिन्न जिज्ञासाहरुको समाधान समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्