पैसा र गुण्डाको आडमा राजनीति नगरः खतिवडा

पैसा र गुण्डाको आडमा राजनीति नगरः खतिवडा

विराटनगर, २५ साउन | पत्रकार खिलानाथ ढकाल र मोरङ जिल्ला अदालतमा आक्रमण गर्नेहरुलाई बचाउन एमाले मोरङका अध्यक्ष विनोद ढकालको एकल सकृयातामा आन्दोलन सुरु भएको पुष्टि भएको छ ।
पत्रकारमाथि अक्रमण गर्नेहरु विरुद्ध अदालतमा मुद्दा विचाराधिन रहेको बेला त्यसलाई प्रभावित पार्न दुई दिनदेखि विराटनगरमा गरिएको बन्द पैसा र गुण्डाको आडमा राजनीति गर्ने समुहले गरिरहेको दावी एमाले नेताहरुले नै गरेका छन् ।

बुधबार विराटनगरमा प्रेश चौतारी मोरङले संयोजन गरेको पत्रकार सम्मेलनमा एमाले मोरङका पुराना नेता एवं संगठन विभाग प्रमुख घनश्याम खतिवडाले अहिलेको आन्दोलन एमालेको नभएको भन्दै पार्टी अपारधीहरुलाई बचाउने पक्षमा नरहेको जानकारी दिनुभयो । एमाले मोरङको गत जेढ २९ गते बसेको सचिबालय बैठकले दोषीहरुमाथि कार्वाही गर्ने निर्णय गरिसकेकोले उनीहरुको बचाउको पक्षमा पार्टी नरहेको उहाँले बताउनु भयो ।
संगठन विभाग प्रमुख खतिवडाले लहडको भरमा बिना कुनै मुद्दा सडकमा जाने काम भएको भन्दै यो सर्वथा अनुचित र अराजक कार्य हो भन्नुभयो । अध्यक्षले आन्दोलनमा सशरिर सहभागिता जनाएर झन् गम्भीर गल्ती गरेको उहाँको भनाई छ । केही व्यक्तिको पछाडि लागेर पुरै पार्टीलाई ध्वस्त पार्ने अधिकार कसैलाई नभएको भन्दै नेता खतिवडाले सडकमा उर्फदैमा कुनैपनि अभियुक्तहरुलाई माफी दिन नमिल्ने बताउनु भयो । पार्टीभित्र गम्भीर समस्या आउँदा पनि अध्यक्षले बैठक नबोलाएकोमा आक्रोषित खतिवडाले बैठक बस्नासाथ अध्यक्षमाथि कारवाही गर्न प्रस्ताव टेवुल गर्ने जानकारी दिनुभयो ।
पत्रकारमाथि आक्रमण गर्ने अभियुक्त पर्शुराम बस्नेत विरुद्धको मुद्दा फिर्ता लिन र अदालतमाथि आक्रमण गरेको अभियोगमा उनीहरुमाथि मुद्दा नचलाउन माग गर्दै दुई दिनदेखि विराटनगरमा बन्द गरिएको छ । पत्रकारमाथिको आक्रमणको घटनामा युवा संघका कार्यकर्ताहरु रोहित कोइराला र मनोज राई जिल्ला अदालत मोरङको आदेशमा थुनामा छन् भने मुख्य अभियुक्त पर्शुराम बस्नेत फरार छन् । बस्नेत बिरुद्ध अदालतले ७० दिने पुर्जी जारी गरेको छ ।
सम्मानित अदालत र पत्रकारमाथि भएको आक्रमण क्षम्य नरहेको भन्दै नेता खतिवडाले त्यसमा संलग्न दोषीहरुलाई संरक्षण गरेर एमाले केही गुण्डाहरुसँगै सति नजाने स्पष्ट पार्नुभयो । अपराधीहरुलाई कार्वाहीको दायरामा ल्याउन प्रहरीलाई सहयोग गर्नुको साटो धम्की दिने र आन्दोलनको नाममा दबाब दिने कार्य एमालेको नीति र सिद्धान्त विपरित रहेको भन्दै अध्यक्ष ढकालले पार्टी निर्णय उल्लंघन गरेकोले कार्वाही हुने बताउनु भयो ।
एमालेका ओली निकट केन्द्रीय सदस्य गुरु बराल र जिल्ला अध्यक्ष विनोद ढकालको योजना र प्रत्यक्ष निर्देशनमा युवा संघ पर्शुरामलाई बचाउन आन्दोलनमा उत्रिएको छ । आफ्नो दबाबलाई अदालत र प्रहरीले अस्वीकार गरी पत्रकारमाथि आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याएको भन्दै उनीहरु आक्रोशित छन् । प्रहरीले गत जेठ १८ गते जिल्ला अदालतमा अभिशेक गिरीमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गर्नेहरुमाथि मुद्दा दर्ता गर्ने तयारी गरेपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
अदालत आक्रमणको घटनामा पर्शुराम बस्नेतसहित युवा संघका अध्यक्ष रविना थापा, कार्यकर्ताहरु मनोज खड्का, मनोज राईलगायत विरुद्ध किटानी जाहेरी छ । आन्दोलनको बलमा अदालत घटनालाई सामसुम पार्ने र मुद्दा दर्ता गर्न नदिने एमालेको ओली पक्षको योजना रहेको बुझिएको छ । आन्दोलनकै बिचमा अदालतलाईसमेत दबाबमा राखेर पत्रकार आक्रमणको घटनाका मुख्य अभियुक्त बस्नेतलाई अदालतमा उपस्थित गराई धरौटी वा सादा तारेखमा छुटाउने उनीहरुको योजना छ ।
विराटनगरमा युवासंघको नाममा गुण्डगर्दी गर्दै ठेक्कापट्टा, जग्गा कारोबार, हप्ता असुली र तस्करीबाट मोटो रकम कमाउनेहरु पछिल्लो समयमा प्रहरीको सकृयताले अत्तालिएका छन् । अदालत र पत्रकारमाथि भएको आक्रमणको घटनामा त्यो समुहका नाईके पर्शुराम बस्नेत विराटनगर छाडेर भाग्नुपरेपछि कमाउन धन्दा बन्द हुँदा अत्तालिएको समुह आन्दोलनमा उत्रिएको हो । सोही समुहलाई प्रयोग गरेर विराटनगरमा राजनीति गर्दै आएका एमाले अध्यक्ष ढकालले पर्शुरामलाई नबचाए आफ्नो राजनीति समाप्त हुने बताउँने गरेका छन् ।

मोरङ प्रहरी प्रमुख प्रद्युम्न कार्कीले अपारधीलाई छुटाउन पार्टी नै आन्दोलनमा उत्रनु आश्चार्यजनक रहेको प्रतिकृया दिनुभयो । जस्तोसुकै आन्दोलन गरेपछि अपराधीहरुलाई नछाड्ने दृढता व्यक्त गर्दै उहाँले प्रहरीको अनुसन्धान प्रकृयामा सबैले सहयोग गर्नुपर्ने बताउनु भयो ।
यसैबीच बन्दको अवज्ञा गरेको भन्दै एमाले कार्यकर्ताहरुले बुधबार विराटनगर ८ स्थित बच्चु भेटनरी पसलमा तोडफोड गरेका छन् । मोटरसाइकलमा आएका ७/८ जनाको समुहले भेटनरी पसलको कम्प्युटरको मोनिटर र पसलमा लगाइएको शिसा फुटाएको हो ।
तोडफोडवाट पशुलाई गरिने औषधिहरुसमेत नष्ट भएको पसलेले जनाएका छन् । जुनसुकै बन्दको समयमा पनि औषधी पसलहरु खुल्ला रहने गरेकोमा युवा संघका कार्यकर्ताहरुले भने तोडफोड गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्