बिराटनगरमा रक्षा बन्धन धुमधामसंग मनाईयो

बिराटनगरमा रक्षा बन्धन धुमधामसंग मनाईयो

बिराटनगर, २८ साउन । हिन्दू धर्माबलम्बी तागाधारीहरू आज पवित्र यज्ञोपवीत् र रक्षाबन्धन ग्रहण गर्दै जनैपूर्णिमा मनाएका छन् । हिन्दू दर्शनअनुसार जनैलाई ‘ब्रह्मासूत्र’ अर्थात् ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ । आजका दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने तथा जौ, तिल र कुशद्वारा ऋषितर्पणी गरी वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै फेर्ने चलन रहेकाले यस पर्वलाई ‘जनैपूर्णिमा’ पनि भन्ने गरिन्छ । यसैगरी आजको दिन देह शुद्ध गरी देवता, सप्तर्षि तथा पितृको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ‘ऋषितर्पणी’का नामले पनि चिनिन्छ । आज सप्तर्षि कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्रलाई तर्पण दिइन्छ । आजको दिन ११ थरीका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन छ । यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षाका कारण चिसो भएको शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ । तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदी–बहिनी र दाजु–भाइको आपसी मायाको चाडका रूपमा पनि लिइन्छ । दिदी–बहिनीले आफ्ना दाजु–भाइको दीर्घायु र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको वचन लिने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्