विराटनगरमा पहिलोपटक डिपार्टमेन्टल स्टोर सञ्चालनमा

विराटनगरमा पहिलोपटक डिपार्टमेन्टल स्टोर सञ्चालनमा

विराटनगर, ७ भदौ । पूर्वाञ्चलका ग्राहकलाई सस्तो र गुणस्तरीय सामान उपलब्ध गराउने उद्देश्यका साथ बुधबारदेखि विराटनगरमा ‘नेपाल बजार’ डिपार्टमेन्टल स्टोर सञ्चालनमा ल्याइएको छ ।
नेपाल बजारको विराटनगर–२ रिक्साचालक राजु मण्डलले रिबन काटेर शुभारम्भ गरेका थिए । उनलाई नेपाल बजार प्रालिका तर्फबाट एउटा रिक्सा निःशुल्क प्रदान गरिएको थियो । विराटनगरमा डिपार्टमेन्टल स्टोर सञ्चालनमा आएको यो नै पहिलो हो । बजारमूल्यभन्दा कम र गुणस्तरीय सामान उपलब्ध गराउन हरदम प्रयास गरिने सञ्चालक सुभाष आचार्यले जानकारी दिए । ११ करोड लगानी गर्ने लक्ष्यका साथ सुरू गरिएको उक्त नेपाल बजार डिपार्टमेन्टल स्टोरमा हालसम्म ६ करोड लगानी भइसकेको छ । ६५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने हाल विभिन्न किसिमका १२ हजार सामान राखिएको छ ।
उनका अनुसार केही महिनाभित्र ५० हजार किसिमका सामान राखिनेछ । “विराटनगर सीमावर्ती बजार भएका कारण हालसम्म कसैले आँट नगरेको हामीले गरेका छौं,” सञ्चालक समितिका अर्का सदस्य कविन श्रेष्ठले भने, “यसले भारतीय बजार जोगबनीबाट हुने अवैध आयातलाई कम गर्नेछ ।” डिपार्टमेन्टल स्टोर सबै सञ्चालक विराटनगरका युवा उद्यमी तथा व्यवसायीहरू हुन् । साढे २२ हजार स्क्वायरफिटमा फैलिएको नेपाल बजारमा ३ महिनाभित्र नाङ्लो रेष्टुरेन्ट र सिनेमा हलसमेत सञ्चालनमा ल्याउने गरी पूर्वाधारहरू तयारी भइरहेको श्रेष्ठले बताए ।
शुभारम्भको अवसर पारेर केही महिनाका लागि ३ हजार मूल्यबराबरका सामान खरिद गर्ने ग्राहकले १ केजी चिनी उपहार पाउनेछन् । त्यस्तै २ हजार मूल्यबराबरको सामान खरिद गर्ने ग्राहकले सहुलियत कार्ड प्राप्त गर्नेछन् भने सो कार्डका माध्यमबाट जहिलेसुकै आएर सामान किने पनि २ प्रतिशत छुटको व्यवस्था मिलाइएको उनले बताए । डिपार्टमेन्टल स्टोरमा राखिने सामान अधिकांश विराटनगरकै उद्योगले उत्पादन गर्ने तयारी वस्तु रहनेछन् । त्यस्तै बैंकक, चीन, भारतलगायतका देशमा उत्पादित वस्तुहरू पनि राखिएको श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्