शिक्षा सुधारका लागि २४ घण्टे भोक हड्ताल, जायज माग पुरा गर्ने सहमतिमा १२ घण्टामै अनसन तोडियो

शिक्षा सुधारका लागि २४ घण्टे भोक हड्ताल, जायज माग पुरा गर्ने सहमतिमा १२ घण्टामै अनसन तोडियो

विराटनगर/८ भदौ । शिक्षा क्षेत्रमा भईरहेको विकृतिहरुको अन्त्य गर्नु पर्ने माग सहित एक शिक्षकले जिल्ला शिक्षा कार्यालय मोरङ परिसरमा २४ घण्टे भोक हड्ताल सुरु गरेका छन् । उर्लाबारी स्थित श्री राधिका माविका सहायक प्रधानाध्यापक दिनेश्वर झा यसरी भोक हड्तालमा बसेका हुन् ।
शिक्षा प्रशासनलाई विकेन्द्रित गरिनु पर्ने , विद्यालय निशिक्षकहरु आफ्नो क्षेत्रमा रहनु पर्ने, स्रोत व्यक्तिको व्यवस्था खारेज गर्नु पर्ने, हेलमेट शिक्षकको व्यवस्था खारेज गरिनु पर्ने लगायतका ३९ बुँदे मागहरु सहित उनी विहिबार देखि भोक हड्तालमा बसेका हुन् । ‘आफ्नो अनसन प्रति सबैको समर्थन छ, मैले जिल्लाभर घुमेर राय संकलन गरे पछि मात्र अनसनको निर्णय लिएको हो’ उनले भने ‘तर पनि सबै शिक्षकहरु विभिन्न राजनैतिक संगठनमा आवद्ध भएकाले ति संगठनले निर्णय नगरेसम्म अनसनमा बस्न नसक्ने भएकाले अहिले म एक्लै बसेको हुँ ।’
‘ झाले एकल प्रयासमा राखेका मागहरु जायजै हुन्’ मोरङका जिल्ला शिक्षा अधिकारी योगेन्द्र प्रसाद बरालले भने ‘तर पनि उनका मागहरु जिल्ला शिक्षा कार्यालयको अधिकार क्षेत्र भित्रमात्र सिमित छैनन् । राज्य पक्ष, राज्यले बनाएको निति नियमसँग आवद्ध मागहरु हामी पुरा गर्न सक्दैनौ ।’ उनले बताए । ‘उहाँ यसरी शिक्षा सुधार गर्नु पर्छ भनेर जिल्ला शिक्षा कार्यालयको गेटमा बस्नु भएको छ तर उहाँ आफु स्वयम् सहायक प्रधानाध्यपक भई काम गरेको राधिका माविमा उहाँको शिक्षण प्रति विद्यार्थी सन्तुष्ट नभएको हामीले जानकारी पाएका छौ । पहिले उँहा आफु सुधारीएर मात्र अरुलाई सुध्रीने ज्ञान दिनु सहि होला ।’ बरालले आरोप लगाए ।
अर्का तिर भदौ ८ गते विहानै देखि आफु अनसन बस्ने भनेर झा ले भदौ ५ गते नै जिल्ला शिक्षा कार्यालयमा पठाएको दर्ता नम्बर ३५२ को जानकारी पत्र विहिबार ३ बजे सम्म पनि जिशिअको टेबलमा पुगेको थिएन । कर्मचारीहरुको ढिलासुस्तीको कारण सो पत्र दर्ता फाँटमै अल्झिएर बसेको थियो । विहिबार पत्रकारहरुले सो पत्रको खोजी गरेपछिमात्र कर्मचारीहरुले जिल्ला शिक्षा अधिकारीलाई पत्र बुझाएका थिए ।

वार्ता पछि अनसन समाप्त
‘मौखिक रुपमा लौ आउनुहोस टेबलमा बसेर कुरा गरौ भन्छन् तर लिखित माग्दा अनकनाउछन्’ झाले विहिबार दिउसो गुनासो पोखेका थिए । अनसनमा बसेका झालाई विहिबार कार्यालय समय सकिन लाग्दा वार्तामा बोलाईएको थियो । आह्वान पछि विहिबार अपराह्न ५ बजे जिल्ला शिक्षा अधिकारी र झा बिच भएको वार्तामा सहमति भए पछि उनले अनसन तोडेका छन्् । ‘उनका नितिगत बाहेकका व्यवहारिक सुझावहरु यथासिघ्र कार्यान्वयनमा गरिने आश्वासन पछि उनी सहमतिमा आएका हुन् ।’ जिशिअ बरालले जानकारी दिए ।
विगत ३ दशक देखि झा शिक्षण पेशामा संलग्न रहदै आएका छन् । उनले ‘४६ सालमा पनि शिक्षामा शुद्धिकरण गर्नु पर्ने लगायतका मागहरु राखि अनसन बसेको र त्यतिबेला शिक्षामा सुधार गरिने आश्वासन दिई आफुले सहमतिमा ल्याईएको’ जानकारी दिए । उनले भने ‘तर मागहरु अझै पुरा भएनन्, हेरौ यस पटक के गर्छन ?’
भदौ ८ गते विहान ६ बजे देखि भोक हड्तालमा बसेका झा आज विहान ६ बजे सम्म हड्तालमा बस्ने छन् । आफुले राखेको मागहरु प्रति जिल्ला शिक्षा कार्यालय सहमति अनुरुप सकारात्मक नभए आफ्नो अनसन पुनः दोहोरिने उनले बताए । मागहरु यथासिघ्र संबोधन नभए यस पछिका कार्यक्रममा आफु क्रमशः ४८ घण्टा र त्यस पछि आमरण अनसन बस्ने जानकारी उनले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्