अस्पतालको लापरबाहि, घुँडाको अप्रेसन गर्दा फोक्सो इन्फेक्सन भई बालकको मृत्यु

अस्पतालको लापरबाहि, घुँडाको अप्रेसन गर्दा फोक्सो इन्फेक्सन भई बालकको मृत्यु

विराटनगर/१२ भदौ । तिघ्राको अप्रेशन गर्न नोबेल अस्पतालमा भर्ना भएका १३ वर्षिय बालकको सोमबार फोक्सोको इन्फेक्सन भई मृत्यु भएको छ । मोरङ सिजुवा निवासी कृष्ण प्रसाद तिम्सिनाका छोरा मुकुन्द तिम्सिनाको आइतबार तिघ्राको हाडमा जमेको पिप (अस्टमाइराइटीस)को अप्रेसन भएको थियो ।
आइतवार विहान ११ बजे सामान्यरुपमा अस्पताल भर्ना भएका बालकको डा.प्रकाश सिटौलाको कमाण्डमा आइतबार नै तिघ्राको अप्रेशन भएको थियो । अप्रेसन पश्चात बालकको अवस्था झन् नाजुक भएका कारण उनलाई आईसियुको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनको सोमबार साँझ करिब ५ बजे मृत्यु भएको हो । बालकको मृत्यु भएपछि मृतकका आमाबुबा दुबै अचेत छन् । बालकका बुबा कृष्णलाई भने ईमरजेन्सीमा राखेर उपचार गराईदैछ ।
अस्पतालको चरम लापरबाहिका कारण बालकको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले भने सोमबार अबेरसम्म पनि बालकको शव बुझ्न मानेनन् । उनीहरुले घटनाको न्यायीक छानविन हुनु पर्ने माग राख्दै शव बुझ्न नमानेका हुन् । ‘घुँडाको अप्रेसन गर्दा कसरी फोक्सोको इन्फेक्सन भई बालकको मृत्यु हुन्छ ?’ मृतकका काका सोमनाथ तिम्सिनाले प्रश्न गरे । उनले अप्रेसन पछिको बालकको अवस्था प्रति डाक्टरहरुले आफुहरुलाई अनभिज्ञ राखेको आरोप लगाए ।
अप्रेशनमा संलग्न डा.प्रकाश सिटौलाले भने आफुहरुबाट कुनै प्रकारको गल्ति नभएको बताएका छन् । उनले बालकलाई अप्रेसन गर्दा रगतको माध्यमबाट फोक्सोसम्म अस्टमाइराइटिस फैलिएको बताए । ‘मेडिकल क्षेत्रमा सय जना बिरामी मध्ये एक जनामा यस्तो हुनु सामान्य हो’ उनले भने ‘हामीले विश्वव्यापी मान्यता अन्तर्गतनै उपचार गरेका हौ ।’
फोक्सोमा इन्फेक्सन भईसकेपछि शरिरमा भएको अक्सिजनको कमि पुरा गर्न बालकलाई भेन्टिलेटरमा राखिएको डा.सिटौलाले बताए । बालकको शरिरले सामान्यरुपमा काम गर्न छाडेपछि मेडिकलरुपमा प्यारालाइसिस गरेर आईसियुमा राखिएको उनको कथन छ ।
यता मृतकका आफन्तहरु भने अस्पतालले बेवास्ता गरेकै कारण बालकको मृत्यु भएको बताएका छन् । ‘नोबलमा बिरामीहरुको जिवनसँग खेल्ने काम भइरहेको छ’ उनीहरुले भने ‘यो उपचार गर्ने अस्पताल हुदै होइन, यहाँ सिक्ने काम मात्र हुन्छ’ । उनीहरुको अनुसार आइतबार अस्पताल भर्ना हुदा बालक सामान्यरुपमा हिडेरै आएका थिए । ‘हिजोसम्म सामान्य रहेका बालकको मृत्यु भएकोमा हामी सबै शोकमा परेका छौ’ एक आफन्तले भने ।
बालक मृत्युको विषयमा बुझ्दा अस्पतालका चेयरमेन केपि शर्मा टेक्निकल कुरो भएको भन्दै पन्छिन खोजे । मृतक बालकका आफन्तहरुले कुरा गर्न खोज्दा उनी लगायत नोबेलका प्रमुख व्यक्तिहरु सोमबार रातिसम्म सम्पर्क बाहिर रहेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्