मतदाता नामावलीः देश भरका ८ जिल्ला सहित मोरङमा पनि रोकियो [REPORT]

मतदाता नामावलीः देश भरका ८ जिल्ला सहित मोरङमा पनि रोकियो [REPORT]

विराटनगर/ १३ भदौ । निर्वाचन आयोगले सुरु गरेको फोटो सहितको मतदाता नामावली संकलन बजेट अपुग भए पछि हाललाई रोकिएको छ ।  मोरङ जिल्लामा हालसम्म ४६ वटा गाविसमा संकलन कार्य सम्पन्न भइसकेको छ । यस जिल्लामा अब १९ वटा गाविस र नगरपालिकाको संकलन कार्य बाकि रहेको छ । देशभरका ६७ बटा जिल्लाको संकलन कार्य सम्पन्न भईसकेको छ भने मोरङ सहित अन्य ८ जिल्लाको संकलन कार्य बजेट समस्याको कारण रोकिएको छ ।

मोरङमा विराटनगर उपमहानगरपालिका सहित दादर बैरिया, भातिगछ, झुर्किया, बुधनगर, महादेवालगायतका गाविसको नामावली संकलन रोकिएको हो । ‘विराटनगरमा गाविस अघिनै नामावली संकलन गर्न सुरु गरिएको भएपनि मधशवादी दलहरुको विरोधका कारण ४५ प्रतिशत मतदाताको विवरणमात्र संकलन गर्न सकिएको मोरङ जिल्ला निर्वाचन अधिकारी विनोद कुमार दहालले बताए । उनको अनुसार केहि सय अघि विराटनगरमा बसेको बहुदलिय बैठकमा सदभावना बाहेकको दलहरुले संकलनमा बाधा नपुर्याउने प्रतिवद्धता जाहेर गरेकोले बजेट आउने वित्तिकै बाँकी संकलन कार्य थालिने छ । ‘यस अघिको संकलनमा खर्च भएको १ करोड ५० लाखको आधारमा बाँकि कार्य सम्पन्न गर्नका लागि करिब ३० लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको’ उनले जानकारी दिए । उनको अनुसार छुट्टयाइने बजेटमा सबै भन्दा बढि ९० प्रतिशत रकम जनशक्ति परिचालनमै खर्च हन्छ ।
हालसम्म संकलन गरिएको तथ्याङ्क अन्तरगत मोरङ जिल्लामा जम्मा २ लाख ४८ हजार ६ सय ९७ जनाको मतदाता नामावली संकलन गरिएको छ । यो संख्या २०६३को मतदाता नामावलीको ६१ प्रतिशत हो । बाँकी ४९ प्रतिशत मतदाता मध्येबाट ५२ हजार १६ जना नागरिकता प्राप्त नगरेको, २६ हजार ९सय१० जना बाहिरी जिल्लामा भएको, ४४ हजार ५ सय ९३ जना देश बाहिर भएको र २लाख ६९ हजार ७ सय १९ जना अनुपस्थित रहेकोले छुटेका हुन् । आफ्नो दर्ता केन्द्रमा छुटेका मतदाताहरुको नामावली जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय मोरङ र इलाका प्रशासन कार्यालय उर्लाबारीबाट नामावली संकलन कार्य भने हाल पनि जारी रहेको छ ।
मोरङ जिल्लामा मतदाता नामावली संकलन गर्नका लागि ७६ जना अपरेटर र सहायक, ९सय३७ जना संकलक र २० जना प्रशिक्षकलगायतका कर्मचारीहरु सहित जम्मा ३ सय ७५ जना जनशक्ति परिचालन गरिएको जिल्ला निर्वाचन आयोग मोरङले जानकारी दिएको छ ।  मोरङमा हाल २सय२९ दर्ता केन्द्र मध्ये १ सय ६९ वटा दर्ता केन्द्रको नामावली संकलन सम्पन्न भएको हो ।  मतदाता तथ्याङ्क तयार गर्ने र सोहिको आधारमा विद्युतिय राष्ट्रिय परिचय पत्र निर्माण गर्ने उद्देश्य साथ थालिएको मतदाता नामावली संकलन अन्तर्गत हालसम्म निर्वाचन आयोगले देशभरबाट करिब ९४ लाख मतदाताको नामावली संकलन गरि सकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्