एकल गायनको सम्पूर्ण तयारी पूरा

एकल गायनको सम्पूर्ण तयारी पूरा

विराटनगर, २८ भदौ । आरोहण गुरुकुल विराटनगरले गर्न लागेको चर्चित गायिका ज्ञानु राणाको एकल गायन कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
बुधबार गुरुकुलले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा शुक्रबार ३ बजेदेखि विराटनगर–११ हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुन लागेको एकल गायनको सम्पूर्ण तयारी पूरा भएको कार्यक्रम संयोजक खेम नेपालीले जानकारी दिए । नेपाली लोक तथा पुराना शैलीका गीतसंगीत मन पराउने श्रोताहरूलाई लक्षित गरी गर्न लागिएको कार्यक्रमका लागि गायिका ज्ञानु राणा विराटनगर बुधबार नै आइसकेकी छिन् । पत्रकार सम्मेलनमा गायिका राणाले आफू यसभन्दा अघि पनि एकपटक सांगीतिक कार्यक्रमको क्रममा विराटनगर आएको सम्झना गरिन् । उनले यस प्रकारको कार्यक्रमले पुराना तथा आधुनिक शैलीका कलाकारहरूलाई हौसला मिल्ने भन्दै गुरुकुलको कार्यप्रति खुसीसमेत व्यक्त गरिन् । राणाले पत्रकार सम्मेलनमा आफ्नो चर्चित गीत ‘सिरीमा सिरी......’ समेत प्रस्तुत गरेकी थिइन् ।
प्रत्येक दुई महिनामा एउटा एकल सांगीतिक कार्यक्रम गरिने उद्देश्य साथ गुरुकुल विराटनगरले गर्न लागेको आरोहण गीतसंगीतअन्तर्गतको यो पहिलो कार्यक्रम हो । यसअघि गुरुकुलले वरिष्ठ कवि कृष्णभूषण बलको एकल कविता वाचन कार्यक्रम सम्पन्न गरिसकेको छ । कार्यक्रम संयोजक नेपालीका अनुसार गुरुकुलले प्रत्येक महिनाको अन्तिम शुक्रबार एउटा कार्यक्रम गर्नेछ । उनले भने, “यसअन्तर्गत एक महिनाको अन्तिम शुक्रबार एकल कविता वाचन र अर्को महिना एकल गायन गर्नेछौं ।”
२००४ सालमा काठमाडौंमा जन्मिएकी  राणाले नेपाली, नेवारी, हिन्दी, उर्दुलगायतका भाषाका ३ हजारभन्दा बढी गीतहरू गाएकी छिन् । उनले लोक, आधुनिक, शास्त्रीय, भजनलगायतका संगीतमा अमूल्य योगदान पु¥याएबापत इन्द्रराज्य लक्ष्मी पुरस्कार, छिन्नलता पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कारलगायतका पुरस्कारहरूसमेत प्राप्त गरेकी छिन् ।
राणाका ‘सल्लाई हो जोवन कल्लाई हो....’, ‘चौतारीमा मै बसे होला.....’ ‘सागर हो स्वास्नी मान्छे......’, भीमेश्वरको मेला.....’ लगायतका सदाबहार गीतहरू अझै उत्तिकै चर्चित छन् ।
यससँगै गुरुकुल विराटनगरको सुशीला कोइराला नाट्य घरमा आज बिहीबारदेखि कलाकार पल्लव राजनको एकल चित्रकला प्रदर्शनी आयोजना हँुदैछ । प्रदर्शनीको उद्घाटन कवि कृष्णभूषण बल तथा वरिष्ठ कलाकार गोपाल कलाप्रेमीले संयुक्त रूपमा उद्घाटन गर्दैछन् । प्रदर्शनीको आयोजना स्पाइनी ब्याबलर, मुन्चा डटकम र गुरुकुलले संयुक्त रूपमा गरेको हो । उक्त चित्रकला प्रदर्शनीमा मुख्य आकर्षणको रूपमा कलाकार राजनको ५८ फिट लामो र ८ फिट चौडा चित्रसमेत प्रदर्शन गरिने कला प्रदर्शनीका राष्ट्रिय संयोजक शिखर आरोहणले जानकारी दिए । उनका अनुसार उक्त चित्र सम्भवतः नेपालकै सबैभन्दा ठूलो चित्र हो । प्रदर्शनीमा नेपाली समाजले इन्टरनेटको आवश्यकता र त्यसबाट लिन सक्ने फाइदाहरूबारे कोरिएका चित्रहरू प्रदर्शित गरिने आयोजकले जनाएको छ ।
यस चित्रकला प्रदर्शनी देशभरका २० स्थानहरूमा आयोजना गरिने आरोहणले बताए । आज बिहीबार १० बजे सुरु हुने प्रदर्शनी विराटनगरमा शुक्रबारसम्म चल्नेछ ।
पत्रकार सम्मेलनमा आरोहण गुरुकुलका अध्यक्ष सुनिल पोखरेल, विराटनगर गुरुकुलका अध्यक्ष भैरव क्षेत्री, महासचिव विवश पोखरेललगायतले बोलेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्