सिटिभिटिको शुल्क बढ्यो

सिटिभिटिको शुल्क बढ्यो

विराटनगर, ३१ भदौ । आफुहरुसँग भएको सहमति विपरित नर्सिङ्ग कलेजहरुले सिटिभिटिको शुल्क बढाएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिटिभिटि समन्वय समितिले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । यस अघि आफुहरुले गरेको आन्दोलनपछि नेपाल सरकारको उच्च स्तरीय शुल्क निर्धारण तथा अनुगमन समितिले निर्धारण गरेअनुरुपको शुल्क लागु गर्ने र समितिले शुल्क निर्धारण गर्नु अघि पुरानै शुल्क लागु गर्नु पर्ने सहमति कार्यान्वयन नगरेकोमा युनियनको सिटिभिटि समिति अध्यक्ष प्रमोद पौडेलले आक्रोश व्यक्त गरे । पौडेलले संस्थागत कलेजहरुले प्रवेश परिक्षा लिनु अघि एक कुरामा सहमति गरेर पछि भर्ना लिदा मनोमानी ढंगले शुल्क बढाएको आरोप लगाए ।
सिटिभिटी अन्तर्गत नर्सिङ संकायको शुल्क यस अघि ४लाख रहेको भएपनि हाल शुल्क वृद्धि गरी ६ देखि ७ लाख पुर्याएको बताउदै युनियनका जिल्ला राज्य समिति संयोजक जिवन भट्टराईले कलेजहरुले गैरजिम्मेवारपुर्ण कार्य गरेको बताए । भट्टराईले विराट हेल्थ कलेज, बंगलामुखी नर्सिङ्ग क्याम्पस, आम्दा हेल्थ कलेजलगायतका सिटिभिटि कलेजले मनोमर्जी तवरले शुल्क बढाएको आरोप लगाए । युनियनले कलेजहरुले बढाएको शुल्क घटाएर विद्यार्थीहरुलाई राहत नदिए आफुहरु जस्तो सुकै आन्दोलनमा उत्रीने चेतावनी समेत दिएको छ ।

 

कलेजहरुले मनोमानी ढंगले सिटिभिटिको शुल्क निर्धारण गर्नुलाई के भन्नु हुन्छ ?

प्रमोद पौडेल,(अध्यक्ष) अखिल क्रान्तिकारी सिटिभिटि
संस्थागत कलेजहरुको गैरजिम्मेवार कदम हो । हामीलगायत संगठनसँग एक प्रकारको सहमतिमा आएर प्रवेश परिक्षा गर्ने अनि भर्ना गर्दा शुल्क बढाएर लिनु गलत कार्य हो । सहमति गरेको बुँदाहरु कार्यान्वयन हुनै पर्छ । एकातिर सर्वसुलभ शिक्षा प्रदान गर्छौ भन्ने अनि विद्यार्थीलाई प्रत्यक्ष ठग्ने परिपाटिको अन्त्य हुनै पर्छ । बढाएको शुल्क हामीलाई मान्य हुनेछैन ।

सिता निरौला, पत्रकार (बिबिसी)
सुरुमा एक प्रकारको सम्झौता गर्ने अनि त्यसलाई कार्यान्वयन गर्ने क्रममा अर्को तरिकाले काम गर्दा मध्यम वर्गीय विद्यार्थीहरुलाई पढ्न अप्ठ्यारो भएको छ । सबै भन्दा मुख्य कुरो भनेको सहमती भए पछि कार्यान्वयन गर्नु पर्छ । मनमानी ढंगले शुल्क बढाउने परिपाटीको अन्त्य गर्न दोषीको खोजी गरी कारबाहि गरि शुल्क निर्धारण गर्नु आवश्यक छ ।

तिर्थराज आचार्य, (शिक्षक) कोशी हेल्थ इन्स्टिच्युट
यो प्राइभेट कलेजहरुले आफु अनुकुल बनाएको निति हो । कलेजलाई व्यवसायिकता दिन खोजेको जस्तो पनि लाग्छ । सिटिभिटि जस्तो प्राविधिक शिक्षाप्रति विद्यार्थीहरुको क्रेज बढेकोले पनि यसतो गर्ने अवसर उनीहरुले पाएका छन्. । सरकारले उचित नीति ल्याएर कार्यान्वयन गरेमात्र यस्ता कामलाई रोक्न सकिन्छ । शैक्षिक अवस्था नसुध्रिएकैले यस्तो भएको हो जस्तो लाग्छ ।

अनिल देव, पुर्व विद्यार्थी
कलेजहरुको माफिया प्रवृति हावी भएकोले सिटिभिटि अध्ययन शुल्कमा वृद्धि भएको हो । अहिले बढाएको रकमले मात्र पनि अन्य विषयको ब्याच्लरलेबल पुरै पढ्न सकिन्छ । एक अर्को कलेजसँग शुल्कमा एकरुपता नियन्त्रण गर्ने मापदण्ड नभएकाले पनि मनमर्जी शुल्क तोक्ने परिपाटि बढेको हो भन्ने मलाई लागेको छ । यसलाई नियन्त्रण गर्ने संयन्त्र बनाउन आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्