गूरुकुल विराटनगरमा ‘चतुरेको दाउपेच’ देखाइने

गूरुकुल विराटनगरमा ‘चतुरेको दाउपेच’ देखाइने

विराटनगर, ३ असोज । केही समयदेखि नाटक मञ्चन रोकेको विराटनगर गुरुकुलले आउँदो असोज ६ गते शुक्रबार ‘चतुरेको दाउपेच’ नामक नाटक देखाइने भएको छ । फ्रेन्च लेखक मोलिएरको नाटक‘लेस फर्वेरिज डे स्पाटिन’लाई नेपालीमा कल्पना घिमिरेले अनुवाद गरेकी हुन् । यहि हास्य नाटकलाई ४० को दशकमा नेपाल टेलिभिजनबाट समेत टेलिसिरियलको रुपमा देखाइएको थियो ।  साथै २०४४ सालमा गुरुकुलले नै पनि यो नाटक मञ्चन गरेको थियो ।
‘अहिले पुरानो भन्दा भिन्न कन्सेप्टमा चतुरेको दाउपेच मञ्चन गर्ने तयारी गरेका छौ ।’ गुरुकुलका अध्यक्ष तथा नाटकका निर्देशक सुनिल पोखरेलले सुनाए । उनले भने ‘छट्टु नोकर र कञ्जुस मालिकको कथालाई रमाइलो पाराले प्रस्तुत गर्ने प्रयास गुरुकुलको हो ।’ ‘१५ औ शताब्दीमा लेखिएको यस नाटकमा चतुरे नामको नोकरले मालिकहरुलाई ठगेको हास्य कथा छ । तर चतुरेले आफ्नो लागि नभई पीडित तथा दबाइएका मालिकका छोराहरुको लागि ठगी गर्छ ।’ पोखरेलले प्रष्ट पारे ।
करिब एक घण्टा चालिस मिनेट लामो नाटकमा विराटनगर गुरुकुलका कलाकारहरुले अभिनय गरेका छन् । नाटकमा कृष्ण धितालले चतुरेको मुख्य भुमिका निर्वाह गरेका छन् । अन्य कलाकारहरुमा खेम नेपाली, मिलन नेपाली, सीता न्यौपाने, दीपा पोखरेल, रामकुमार प्याकुरेल, सम्झना आचार्य, उद्वव सापकोटा, प्रदिप गुप्ता, लक्ष्मणपुण्य लामिछानेलगायत छन् ।
उक्त नाकट असोज ८ देखि १३ गतेसम्म र पुनः असोज २७ देखि कात्तिक ६ गतेसम्म गरी दुइ चरणमा देखाइने गुरुकुलले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्