गोग्राहामा व्यवस्थापन चुनाव स्थगित [UPDATE]

गोग्राहामा व्यवस्थापन चुनाव स्थगित [UPDATE]

बिराटनगर १२ असोज । विराटनगरस्थित गोग्राहा उच्च माविको बिहिबार हुने भनिएको व्यवस्थापन समितिको निर्वाचन स्थगित भएको छ । सुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालयले समितिको चुनाव स्थगन गराएको हो । निर्वाचनमा अध्यक्षका उम्मेदवारहरु रमेश पौडेल र गोबिन्दप्रसाद खतिवडा समूहबिच झडपका घटना हुनसक्ने जानकारीका आधारमा जिल्ला प्रशासनले निर्वाचनका कार्यक्रम रोक्न उच्च मावि प्रशासनलाई निर्देशन दिएको बताइएको छ । यसअघि १० गते हुने भनिएको चुनाव सर्वसम्मत हुन नसकेपछि बिहिवारलाई सारिएको थियो ।
निर्वाचनकै लागि वुधबार सम्पूर्ण २२ उम्मेदवारहरूलाई चुनाव चिह्नसमेत वितरण गरिएको थियो । चुनाव हुने पक्का भइसकेपछि अधिकांश अभिभावक तथा शिक्षकहरू मतदानका लागि बिहिवार विद्यालयमा उपस्थित भए पनि विद्यालय प्रशासनले जिल्ला प्रशासनको निर्देशनअनुसार निर्वाचन स्थगित गरिएको सूचना टाँस गरेको थियो । अध्यक्षका उम्मेदवार खतिवडाले गृहमन्त्री विजयकुमार गच्छादारले प्रमुख जिल्ला अधिकारीलाई फोन गरी चुनाव सार्न दिएको दबाब अनुसार चुनाव सारिएको आरोप लगाए । उनले भने ‘सार्वजनिक विदाको दिन पत्र काटेर चुनाव स्थगित गरिएको छ’ ।
‘गोविन्दप्रसाद खतिवडाले नियम विपरित उम्मेदवारी दर्ता गरेका हुन्’ एजुकेसन हेल्पलाइनका अध्यक्ष राजेन्द्रप्रसाद ढकालले आरोप लगाए । ढकालका अनुसार प्रचलित नियमअनुसार विद्यार्थीको आमा–बुबा वा बुवा पट्टिका हजुरबुवा र हजुरआमाले मात्र उम्मेदवारी दिन पाउँछन् । ढकालले भने ‘तर खतिवडाले निजी विद्यालयमा पढ्ने आफ्नो छोरी पट्टिकि नातिनीलाई भर्नामात्र गराएर उम्मेदवारी दिएका छन् ।’
 जिल्ला अदालतले यसै विषयमा खतिवडाले चुनावमा सहभागी हुन पाउनु पर्ने फैसला गरेको छ । अध्यक्ष पदका अर्का उम्मेदवार पौडेलले अदालतमा खतिवडाले पुरानो नियमावली देखाई फैसला गराएको आरोप लगाए । उनले भने ‘शिक्षा मन्त्रालयको नयाँ परिभाषा अन्तर्गत खतिवडा अभिभावक नभएकाले उनको उम्मेदवारी मान्य छैन ।’
खतिवडाले गोग्राहा माविको व्यवस्थापन समितिमा ३ कार्यकाल अध्यक्ष र २ कार्यकाल सदस्य भई कार्य गरिसकेका हुन् । उनी हाल बिएड तर्फको समितिमा समेत अध्यक्ष छन् । अध्यक्षका दुबै उम्मेदवार कांग्रेस निकट  हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्