कवितासङ्ग्रह ‘मोनालिसा र मार्च ८’माथि परिचर्चा

कवितासङ्ग्रह ‘मोनालिसा र मार्च ८’माथि परिचर्चा

विराटनगर, २४ असोज । युवाकवि उमेश राई ‘अकिञ्चन’द्वारा लिखित ‘मोनालिसा र मार्च ८’ कवितासङ्ग्रहबारेमा मंगलबार परिचर्चा गरिएको छ ।
विराटनगरस्थित आरोहण गुरुकुलमा पूर्वाञ्चल साहित्य प्रतिष्ठान, विराटनगरले आयोजना गरेको कार्यक्रममा वरिष्ठ समालोचक दधिराज सुवेदीले उमेशका कविताले थोरै शब्द खर्चिएर धेरै अर्थ लगाउने प्रवृत्ति बोकेको चर्चा गरे । समालोचक सुवेदीले उमेशलाई ‘मोनालिसा र मार्च ८’ कवितासङ्ग्रहले नेपाली कविता साहित्यमा स्थापित गराउने दाबीसमेत गरे ।
त्यस्तै कृतिमाथि टिप्पणी गर्दै अर्का समालोचक भूषण ढुङ्गेलले अकिञ्चनले ‘मोनालिसा र मार्च ८’ कृतिमा सफलतापूर्वक काव्यिक भाषाको प्रयोग गरेको बताए । उनले नेपाली साहित्यमा कविताको स्तर खस्किँदै गइरहेको अवस्थामा अकिञ्चनको पछिल्लो कृति ‘मोनालिसा र मार्च ८’ले आशा जगाएको उल्लेख गरे । त्यस्तै कवयित्री ज्योति जङ्गलले कृतिको टिप्पणी गर्दै सङ्ग्रहमा सङ्ग्रहित कविताहरु निराशा र चिन्तावादबाट मुक्त रहेको बताइन् । उनले भनिन्, “अकिञ्चनको कवितामा नारी संवेदनालाई विशेष ध्यान दिइएको छ ।” सङ्ग्रहमा विषयवस्तुको विविधतासमेत भएको उनको कथन थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ कृष्णभूषण बलले सङ्ग्रहमा समावेश गरिएको कविता वाचन गरेर परिचर्चा समारोहको उद्घाटन गरेका थिए । सो अवसरमा कवि सुमन पोखरेल, रीता खत्री, उमेश लुईंटेललगायतले शुभकामनासहित अकिञ्चनका कविताहरु वाचन गरेका थिए ।
समारोहमा प्राज्ञ कृष्णभूषण बल, पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, अग्रज कवि एवं गीतकार नवराज सुब्बा, आरोहण गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्री, कवि गोकुल अधिकारी, मीनकुमार नवोदितलगायतले अकिञ्चनको कवितासङ्ग्रह मोनालिसा र मार्च ८ ले पाठकको मन जित्न सफल हुने बताए ।
कवि अकिञ्चनको मोनालिसा र मार्च ८ कवितासङ्ग्रह नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाले प्रकाशित गरेको हो । सङ्ग्रहमा ३८ वटा कविता समावेश छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्