सूर्य नेपाल तीन महिनापछि पुनः सञ्चालनमा आउने

सूर्य नेपाल तीन महिनापछि पुनः सञ्चालनमा आउने

विराटनगर, २३ असोज| चार महिनादेखि बन्द रहेको बहुराष्ट्रिय सूर्य नेपाल ग्रार्मेन्ट नयाँ प्लान्टका साथ सञ्चालनमा आउने भएको छ ।
मजदुर बिवादका कारण बन्द रहेको सूर्य नेपाल अगामी तीन महिनाभित्रमा नयाँ स्वरुपमा सञ्चालनमा आउन लागेको हो । कम्पनीका कार्पेरेट उपाध्यक्ष रवि केसीले ग्रार्मेन्ट उद्योग बन्द भएपनि सूर्य नेपाल नयाँ योजनाका साथ विराटनगरमा पुनः आउन लागेको बताए ।
उनका अनुसार साविक उद्योगकै परिसरमा शेम्पु, कन्फेसनरी र चाउचाउ मध्ये एकको उत्पादन सुरु गरिनेछ । यस क्षेत्रको आवश्यकता र मागलाई मध्यनजर गर्दै हामी चाँडै बजारमा आउँदैछौ–केसीले भने । सूर्य नेपालको धेरै उत्पादनहरु भएकोले ग्रार्मेन्ट उद्योग बन्द भएपनि शेम्पु, कन्फेसनरी र चाउचाउ मध्ये कुनै एउटा उद्योग स्थापना गर्न लागेको हो ।
उद्योगलाई पुनः सञ्चालनमा ल्याउन बजारको अध्ययन भइरहेको र व्यवस्थापन पक्षले कुन नयाँ प्लान्ट लगाउने भन्ने विषयमा चाँडै तय  गर्दैछ–केसीले भने ।
सुनसरी–मोरङ करिडोरमा सञ्चालनमा रहेको वहुराष्र्टिय कम्पनी मजदुर बिवादका कारण बन्द भएपछि उद्योग सञ्चालनका लागि मोरङ व्यापार संघ, उद्योग संगठन लगायतका बिभिन्न संघ/संगठनहरुले बिज्ञप्ति निकालेर सञ्चालनको माग गरेका थिए । सरकारले पनि उद्योग बन्द भएकोमा ध्यानाकर्षण गर्दै सञ्चालनको वातावरण बनाउने आश्वासन दिएको थियो ।
सूर्य नेपालले बन्द भएको तीन महिनापछि ६ सय मजदुरहरुलाई दशै अघि नै स्वेच्छिक अवकाश दिइसकेको छ । मजदुर र व्यवस्थापन बिवादका कारण सूर्य नेपाल ग्रार्मेन्ट असार १ गतेदेखि बन्द भएको हो । जनही २५ हजार रुपैयाँ क्षतिपूर्ति र बढेको तलव ४८ सय गरी एकमुष्ठ २९ हजार ८ सय रुपैयाँ दिएर मजदुरलाई बिधिवतरुपमा अवकाश दिइसकिएको छ ।
विधिवत अवकाश दिने क्रममा उद्योग र मजदुरविच भएको सहमतीअनुसार सूर्य नेपालले गार्मेन्ट उद्योग पुनः सञ्चालनमा ल्याए अवकाश दिएका कर्मचारीलाई यथावत राख्ने, अन्य उद्योग स्थापना गरे उनीहरुको क्षमता र दक्षताको आधारमा मात्र रोजगारी दिइनेछ ।
विभिन्न मधेसवादी संगठनहरूले नो वर्क नो पेको विरोधमा गत वैशाखमा आठ दिनसम्म सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगहरू बन्द गराउँदाको अवधिको पारिश्रमिक माग गर्दै मजदुरहरूले कर्मचारीलाई उद्योगभित्र बन्धक बनाएपछि विवाद सुरु भएको थियो । सन् २००४ देखि सञ्चालनमा आएको सूर्य नेपालमा ६ सय मजदुर कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्